वातावरणलाई सन्तुलनमा राख्न हामी सबैको दायित्व: मुख्यमन्त्री कार्की – Nepal Press

वातावरणलाई सन्तुलनमा राख्न हामी सबैको दायित्व: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वातावरणलाई सन्तुलनमा राख्न हामी सबैको दायित्व भएको बताएका छन् । वातावरण जीवन चक्रको विषय भएको र यसले हाम्रो स्वास्थ्य र जीवनको गति निर्धारण गर्ने उनले बताए ।

विश्व वातावरण दिवसको अवसरमा मुख्यमन्त्री कार्कीले आज जारी गरेको शुभकामना सन्देशमा वातावरण संरक्षणमा कोशी प्रदेश सचेत रहेको उल्लेख गरेका छन्। पर्यटन, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षणका कामलाई प्रभावकारी रुपमा अघि बढाइरहेको भन्दै उनले वन ऐन, वातावरण ऐन तथा नियमावालीहरु निमार्ण भइ कार्यान्वयनमा आइ सकेको समेत जानकारी दिए।

उनले आगामी आर्थिक वर्षमा वातावरण संरक्षण कार्यक्रम, अनुसन्धान र जलवायु अनुकुलनमा आधारित विकासजस्ता योजना तथा कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिए । मुख्यमन्त्री कार्कीको सन्देशमा नेपालले पछिल्लो समय मरुभूमिकरणको समेत सामना गर्नु परिरहेको छ भन्दै चिन्ता व्यक्त गरेका छन् ।

विश्व वातावरण दिवसले वातावरण संरक्षण र संवधनमा थप जिम्मेवार बनाउने बिश्वास उनले व्यक्त गरेका छन्। वातावरण संरक्षण, वनजंगल व्यवस्थापन र जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रदेश सरकारले योजना र कार्यक्रमहरू बनाएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘ वातावरण संरक्षणको महत्व र यसको लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’

हरेक नागरिकलाई वातावरणीय समस्याप्रति चासो विकसित गर्न र समाधान खोज्न उनले आह्वान गरे। उनले भने,‘ एक जना व्यक्तिको वातावरण संरक्षणमा गरेको सानो कार्यले विश्व समुदायमा ठूलो योगदान पुर्याउन सक्छ ।’

कोशी प्रदेश सरकारको वातावरणप्रतिको चिन्ता र प्रतिबद्धता प्रतिबिम्बित गर्ने उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । वातावरण दिवसले नागरिकहरूलाई पनि यस विषयमा सक्रिय हुन प्रेरित गर्ने मुख्यमन्त्री कार्कीले बताए । यो वर्ष हाम्रो भूमि हाम्रो भबिश्य भन्ने नाराका साथ दिवस मनाइदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *