‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमले आम छोरीहरूको अपमान भयोः सांसद बलायर (भिडिओ)
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमका लागि विनियोजित बजेटले आम छोरीहरूको अपमान गरेको टिप्पणी गरेका छन् ।
सरकारले सो कार्यक्रममा लागि १० करोड बजेट विनियोजन गरेको छ । सांसद बलायरले विनियोजित सो बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नै छोरीहरूको अपमान गरेको जिकिर गरे । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा यो रकम हटाउन सुझाव दिए ।
सांसद बलायरले द्वारिकादेवी ठकुरानी स्मृति भवनका लागि तत्काल बजेटको व्यवस्था गर्न पनि माग गरे ।
उनले भने, ‘प्रधानमन्त्री छोरी कार्यक्रम आयो । प्रधानमन्त्रीको छोरी, अर्थमन्त्रीको छोरी अथवा मेरै छोरी अथवा सांसदहरूका छोरीहरू हुन् भने त मलाई केही भन्नु छैन । तर, जनताको छोरीका लागि हो भने यो विनियोजित बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा छोरीहरूको अपमान भएको छ । बरु त्यति नै रकम विनियोजन गर्ने हो भने त्यसलाई हटाइदिँदा जाति हुन्छ ।’
सांसद बलायरले सरकारले भूकम्प पीडितहरूको राहतमा एकरुपता ल्याउन नसकेको बताए ।