डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण हुने – Nepal Press

डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण हुने

काठमाडौं । डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ काठमाडौंको म्यारियट होटलमा हुने भएको छ । आईसीटी फाउण्डेसन नेपालले यही शुक्रबार डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण गर्न लागेको हो ।

यस वर्षको डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ । कन्क्लेभमा ७ सेसनमा ५० बढी विशिष्ट र विज्ञ वक्ताहरु रहेको फाउण्डेसनका अध्यक्ष राजन लम्सालले बताए ।

लम्सालका अनुसार कन्क्लेभको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने र समापनको पावर संवादमा केपी शर्मा ओली प्रमुख अतिथि हुनेछ । त्यस्तै अर्थमन्त्री वर्षमान पुन र सञ्चारमन्त्री रेखा शर्माको सेसन पनि रहेको फाउण्डेसनले जनाएको छ ।

कन्क्लेभमा डिजिटल सार्वजनिक पूर्वाधार, दिगो दूरसञ्चार र नीति, डिजिटल इम्पावरमेन्ट एण्ड इन्क्लुजन, डिजिटल गभर्नेसन्स र डेटा फर डेमलपमेन्ट, डिजिटल इकोनोमी र इन्भेष्टमेन्ट, डिजिटल लिडरसीप र डिजिटल रुपान्तरणमा अबको दिशालगायतका विषयमा सेसन र प्रस्तुति हुने बताइएको छ ।

आईटी क्षेत्रका प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, स्टार्टअपसहित ८०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर