बजेटमाथिका टिप्पणीहरू हचुवाका भरमा आए : अर्थमन्त्री पुन – Nepal Press

बजेटमाथिका टिप्पणीहरू हचुवाका भरमा आए : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि गरिएका टिप्पणीहरू हचुवाका भरमा गरिएको दाबी गरेका छन् । आज प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा आएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पुनले बजेटको आकार, बजेट महत्त्वाकांक्षी र आधार टेकेन भन्ने लगायताका टिप्पणी निराधार भएको बताए ।

‘बजेटको आकार ठूलो भयो, बजेट महत्त्वाकांक्षी भयो, बजेटले आधार टेकेन भन्ने टिप्पणीहरूमा तर्क छैन । हचुवा टिप्पणी भएको मलाई लाग्छ । गत वर्ष मध्यकालीन खर्च संरचनामा १९ खर्ब ५० अर्बको बजेटको प्रक्षेपण गरिएको थियो । भन्नाले १९ खर्ब ५० अर्बको बजेट आउँछ भन्ने अनुमान गरियो तर, हामीले १८ खर्ब ६० अर्ब प्रस्तुत गर्यौं’, पुनले भने, ‘धेरै विज्ञहरूले सन्तुलित भयो, यथार्थवादी भयो, तथ्यमूलक भयो, भन्नेकुराहरु यसैबाट भनिएको कुरा हो । त्यसैले यसको कुनै आकार ठुलो भयो, महत्त्वाकांक्षी भयो, यसले कुनै आधार टेकेन भन्ने कुराका कुनै तर्क छैन । यसमा अलिक हचुवा टिप्पणी भयो कि जस्तो लाग्छ मलाई ।’

उनले विभिन्न सूचक, विज्ञहरु तथा अन्तर्राष्ट्रिय संस्थाहरुको प्रक्षेपणकै आधारमा बजेट ल्याइएको बताए ।

‘गत वर्ष हाम्रो १.९ प्रतिशतले आर्थिक वृद्धि भएको छ । चालू वर्षमा ३.९ प्रतिशत आर्थिक वृद्धि रहने अनुमान गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संस्था, विज्ञहरूले अनुमान गरेका छन् । आगामी वर्षमा विश्व बैङ्कले करिब ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । हामीले जस्तो लगानी गरिरहेका छौँ, जस्तो लगानीमैत्री वातावरण बनिरहेको छ, यस वर्षको आर्थिक सुधारका सूचकहरू रहेका छन् । र बिस्तारै अर्थतन्त्र चलायमान भइरहेको छ । यो सबै घटानहरुबाट, सबै अनुमानहरुबाट ६ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य प्रस्तुत गरेका छौँ’, अर्थमन्त्री पुनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *