ग्राहकले किन समयमै पाउँदैनन् अर्डर गरेको सामान ? – Nepal Press

ग्राहकले किन समयमै पाउँदैनन् अर्डर गरेको सामान ?

काठमाडौं । विशेषगरी कार्य व्यस्तताका कारण कुनै पनि मानिसले चाहे जति समय सपिङका लागि निकाल्न सक्तैन । यसैकारण उनको रोजाइमा अनलाइन सपिङ पर्छ । छिटो, सहज र सरल तरिकाले पाउने आशमा उनले कुनै पनि इकमर्श प्लेटफर्ममार्फत सामान अर्डर गर्छन्, तर उनले आफ्नो सही ठेगाना नदिँदा सामान डेलिभरी कम्पनीहरुले भने सास्ती भोग्नुपरेको छ ।

भन्ने ठाउँ र सामान लिने ठाउँ अर्को पर्दा डेलिभरी गर्न बढी खर्च लाग्ने गरेको छ । नेपालको भौगोलिक अवस्था र भौतिक पूर्वाधारका कारण समयमै सामान डेलिभरी नहुँदा बीचमै ग्राहकले सामान अर्डर क्यान्सिल गर्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय डेलिभरी कम्पनी आर्मेक्सका विजनेश डेभलपर म्यानेजर प्रवीण कार्की नेपालको भौगोलिक अवस्था र ग्राहकले सही लोकेसन नदिँदा सामान डेलिभरीमा समस्या भएको बताउँछन् ।

‘मानौं कुनै ग्राहकले सामान अर्डर गर्दा पोखरा ठेगाना राख्यो भने पोखराको पनि कुन वास्तविक ठाउँ होे भन्न सक्तैन । यसले डेलिभरी गर्नेहरु घुमेको घुमेयै हुन्छन्’, उनी भन्छन्, ‘यस्तै केहीले त मोबाइलमा स्क्रोल गर्दा आएको भरमा परीक्षण गर्न भए पनि अर्डरमा थिच्छन् । पछि मैले त यतिकै गरेको भनेर पन्छिन्छन् र त्यतिवेलासम्म डेलिभरी गर्नेको समय, पैसा सबै खर्च भइसकेको हुन्छ ।’

अनलाइन व्यापार धेरैजसो क्यास अन डेलिभरी ( डेलिभरीपश्चात भुक्तानी) भएकाले कतिपयले सामान पाएपछि पनि पैसा भोलि तिरौला भन्ने गरेको कार्की सुनाउँछन् ।

त्यस्तै एभरेस्ट वर्ल्डटप लजिस्टिकका महाप्रवन्धक प्रयोजन वाग्ले नेपालको भौतिक पूर्वाधारको कारण डेलिभरीमा समस्या भएको बताउँछन् । नेपालका अधिकांश सडक जतिवेला पायो उति बेला मर्मत गर्ने गर्दा सवारीसाधन आवगमनमा समस्या भइ समयमै डेलिभरी नहुने समस्या रहेको वाग्लेले बताए ।

‘नेपालमा जहाँतहीं एयरपोर्ट छैन । अधिकांश ठाउँमा पुग्न बाटो नै प्रयोग गर्नुपर्छ । बाटो पनि कतै बिग्रेको, कतै भत्केको हुन्छ’, उनले भने, ‘यसले ग्राहकले समयमै सामान नपाएपछि अर्डर क्यान्सिल गर्छन् ।’

पिक एण्ड ड्रपका सीईओ घनश्याम खनाल पनि ग्राहक शिक्षा कम हुँदा डेलिभरीमा समस्या हुने बताउँछन् । गलत ठेगाना दिने, फोन नउठाइदिनेलगायतको समस्या हुने गरेको खनालले बताए ।

दराज एक्सप्रेस विभागका प्रमुख सन्तोष विष्टले नेपालको घरदैलोसम्म डेलिभरी सेवा प्रदान गर्न दराज तथा अन्य इकमर्श सेवा प्रदायकलाई अझै पनि चुनौती रहेको बताए ।

‘अपर्याप्त ठेगाना, भौगोलिक जटिलता र पूर्वाधारसम्बन्धी कठिनाइ प्रमुख समस्या हो’, उनले भने, ‘डेलिभरी कम्पनीहरुले नेपालको बाटोघाटो र भौगोलिक अवस्थाले डेलिभरीमा निकै समस्या हुने बताएका छन् ।’

सरकारले भीसीटीएसको नाममा पनि सास्ती दिने गरेको डेलिभरी कम्पनीहरु बताउँछन् । भीसीटीएस नलाग्ने व्यक्तिको नाममा आउने सामानमा पनि नाकामा बसेकाहरुले बुझेर वा नबुझेर लिने गरेको उनीहरुको आरोप छ ।

एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेरमात्रै ओसारपसार गर्नुपर्ने प्रणाली भीसीटीएस हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *