माओवादीमा मन्त्री फिर्ता बोलाउनेबारे छलफल- अर्थमन्त्री ‘सेफ जोन’ मा, ‘रेड जोन’ मा को-को ? – Nepal Press

माओवादीमा मन्त्री फिर्ता बोलाउनेबारे छलफल- अर्थमन्त्री ‘सेफ जोन’ मा, ‘रेड जोन’ मा को-को ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउनेबारे आन्तरिक छलफल थालेका छन् ।

जनमत र नागरिक उन्मुक्तिलाई सरकारमा सामेल गराउन मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अघि बढाएका प्रचण्डले पार्टीका केही मन्त्रीलाई फिर्ता बोलाउन छलफल चलाएका हुन् । सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गरेर एक साताभित्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी प्रधानमन्त्री अघि बढेको बताइन्छ ।

माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले मन्त्रीहरू हेरफेर हुनु स्वाभाविक भएको बताए ।

‘छलफल भएपनि अहिलेसम्म कुनै निर्णय भइसकेको छैन । मन्त्रीहरू हेरफेर हुनु त स्वाभाविक हो नि !’, उनले भने ।

पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनेबारे छलफल चलिरहेको एक पदाधिकारीले बताए ।

ती नेताले नेपाल प्रेससाग भने, ‘पहिला पनि दोहोरिएका मन्त्रीहरूको विषयमा पार्टीभित्र दोहोर्‍याउन जरुरी थिएन भन्ने विषयमा प्रश्न उठेको थियो । अहिले क्याविनेट पुनर्गठनको तयारी हुँदै गर्दा पुराना सबैलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्छ भन्ने कुरा आइरहेको छ ।’

यद्यपि, यो विषयले पार्टी बैठकमा औपचारिक रूपमा प्रवेश नपाएको उनले बताए ।

ती नेता थप्छन्, ‘पार्टीको औपचारिक बैठक राखेर यो विषयमा छलफल भएको छैन । मन्त्रिपरिषद् पुनर्गठन हुने निश्चित भएपछि पदाधिकारीको बैठक राख्नुहुन्छ होला ।’

अहिले माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री हितबहादुर तामाङ छन् । अर्थमन्त्री पुन र पर्यटनमन्त्री तामाङबाहेक सबै पुराना हुन् ।

पर्यटन मन्त्रालय नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दिने प्रधानमन्त्री प्रचण्डले बचन दिइसकेकाले तामाङ हटाउने सम्भावना धेरै छ । त्यसैले अहिले अर्थमन्त्रीबाहेक पार्टीबाट सरकारमा गएका सबै मन्त्रीलाई फिर्ता बोलाउनेगरी प्रचण्डले आन्तरिक तयारी गरेको निकट स्रोत बताउँछ ।

यसअघि पनि उपप्रधानमन्त्री श्रेष्ठ र ऊर्जामन्त्री बस्नेतलाई निरन्तरता दिएको विषयलाई लिएर प्रचण्डले आन्तरिक आलोचना खेपेका थिए ।

माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकाल मन्त्रिपरिषद् पुनर्गठन गर्ने कुरा प्रधानमन्त्रीको विशेषाधिकारको कुरा भएको बताउँछन् ।

उनले भने, ‘यो विषय प्रधानमन्त्रीको अधिकारको कुरा हो । पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको हेरफेर गर्ने विषयमा पार्टीभित्र छलफल भएको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर