११ वर्षपछि राष्ट्रिय फुटबल टोलीमा फर्किएका चेतन, समकालीन भरत र किरणलाई गर्दैछन् प्रशिक्षण – Nepal Press

११ वर्षपछि राष्ट्रिय फुटबल टोलीमा फर्किएका चेतन, समकालीन भरत र किरणलाई गर्दैछन् प्रशिक्षण

दम्माम । सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको झन्डै एक वर्षमात्र भएको थियो, उनीमाथि नेपाली फुटबलको अपेक्षा पनि बढ्यो । एन्फाको ग्रासरुट कार्यक्रमअन्तर्गत सञ्चालन भएको एन्फा एकेडेमीमा झण्डै ५ वर्ष बसेर राष्ट्रिय टोलीको जर्सी लगाएका चेतन घिमिरे अग्रपंक्तिमा खह्रो उत्रन सक्ने खेलाडी थिए । भरत खवास, विराज महर्जन, रविन श्रेष्ठ, किरणकुमार चेम्जोङ उनका ब्याजी थिए । चेतनको नाम सधैं अगाडि आउँथ्यो।

‘मैले यू-१४ देखि यू-२३ राष्ट्रिय टोलीसम्म स्ट्राइकरका रुपमा खेलें । सिनियर राष्ट्रिय टोलीमा आएपछि भने विंगरको जिम्मेवारी दिइएको थियो’, चेतन भन्छन् । सन् २०१० मा बंगलादेशमा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग)का क्रममा उनी घाइते भए । पछि पुलिस क्लबबाट खेल्दा प्रशिक्षण गर्ने क्रममा खेल्नै नसक्ने गरी घुँडामा चोट लाग्यो । कतारमा उनको अप्रेसन भयो । पछि घरेलु लिगमार्फत उनले पुनरागमनको प्रयास गरे ।

राम्रो प्रदर्शन गरेपछि सन् २०१३ को एएफसी च्यालेन्ज कप छनोटका लागि राष्ट्रिय टोलीमा समावेश भए चेतन । लगत्तै लिग खेल्ने क्रममा आर्मीविरुद्ध खेल्दा अर्को घुँडामा पनि चोट लाग्यो । यस पटक उपचारका लागि कसैबाट सहयोग पाएनन् । कसैले वास्ता गरेन ।

‘आफ्नै खर्चमा अप्रेसन गर्न असम्भव जस्तै थियो । त्यतिबेला अप्रेसन हुन पाएको भए म अहिलेसम्म खेलिरहेको हुन्थें होला । २३-२४ वर्षको उमेरमा त्यो परिस्थिति सम्हाल्न त्यति सजिलो थिएन’, चेतन भन्छन्, ‘घाइते नहुँदासम्म म पहिलो खेलदेखि नै सुरुवाती टोलीबाट खेलिरहेको थिएँ । एउटा खेलाडीले खेल्न नसक्नुको पीडा उसलाई मात्र थाहा हुन्छ ।‘

जनकपुरमा जन्मिएका चेतन परिवारका ६ सन्तानमध्ये छोरातर्फ जेठा थिए । जनकपुरमा परिवारको चिया पसल थियो । त्यही आसपासमा खेल्दाखेल्दै कुनै समय राष्ट्रिय टोलीको जर्सी लगाउने सपना उनले बनाइसकेका थिए ।

‘हरि खड्का, वसन्त गौचनलाई टेलिभिजनमा खेलेको देखेर म पनि यस्तै बन्छु भनेर सोच्थें’, उनी भन्छन् । जिल्लामै पनि जनक सिंह, सञ्जीव सिंहको खुबै नाम थियो । फुटबलले उनलाई दिनदिनै लोभ्याइरहेको थियो । नभन्दै उनी एन्फा एकेडेमीका लागि भएको जिल्ला छनोटमा परे ।

क्रमशः उनको पाइला एकेडेमीसम्म पुग्यो । यू-१४ राष्ट्रिय टोलीमा भरत खवास, रविन श्रेष्ठ, विराज महर्जनसँगै थिए । यू-१६ राष्ट्रिय टोलीबाट किरण चेम्जोङ, विक्रम लामा पनि उनीहरुसँग एकेडेमीमा मिसिन पुगे । २०६३ सालको घरेलु लिगमा एन्फाले एकेडेमीको त्यो पुस्तालाई विभिन्न क्लबहरुमा बाँड्यो ।

भरत, विराज, रविन र चेतन संकटा क्लबमा पुगे । त्यसको एक वर्षपछि एएफसी प्रेसिडेन्ट्स कप खेल्ने गरी भरत, चेतन र रविन पुलिस क्लबमा पुगेका थिए, तर भरत त्यहाँ रमाउन सकेनन् । चेतन र रविनले मात्र पुलिसबाट खेल्ने तय भयो । उनीहरुलाई जवान दर्जामा भर्ना गरियो । सन् २००९ मा प्यालेस्टाइनविरुद्ध खेल्दै उनले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे, तर उच्च लयमा रहेकै बेला घाइते भएपछि उनको करियर नै संकटमा पर्‍यो ।

‘पुलिसको जागिर खटाएको ठाउँमा जानुपर्ने, अब खेल्न नसक्ने भएपछि ड्युटीमा जानुपर्थ्यो । फुटबलमा रहिरहन अब मैले प्रशिक्षक बन्नुको विकल्प थिएन’, उनी भन्छन् । उनले ‘सी कोचिङ’ लाइसेन्स लिए । पुलिसले उनलाई महिला फुटबल क्लब टीमको सहायक प्रशिक्षक अफर गर्‍यो । उनी तयार भए ।

सन् २०१७ मा ‘बी’ र त्यसको एक वर्षपछि ‘ए कोचिङ लाइसेन्स’ कोर्ष गरे । दुवैमा उत्तीर्ण भए । उनले ६ वर्ष पुलिसको महिला फुटबल टीम हेरे, जसमा पछिल्ला दुई वर्ष प्रमुख प्रशिक्षक रहे । पछिल्ला वर्षहरुमा उनले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी पनि सम्हाले । पुलिसको पुरुष फुटबल टीमको पनि प्रमुख प्रशिक्षक भएर काम गरेका छन् ।

‘क्लबमा मैले दिलाएको सफलताले हुनसक्छ, मलाई पुरुषको यू-१६ राष्ट्रिय टोलीको जिम्मेवारीका लागि अफर गरिएको थियो, तर मैले महिला राष्ट्रिय टोली हेरिसकेको भएर आफैंलाई ठीक लागेन । अहिले आएर सिनियर राष्ट्रिय टोलीमा मौका पाएँ’, चेतन भन्छन् ।

विश्वकप २०२६ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम दुई खेलअघि चेतनले नेपालको सहायक प्रशिक्षकको जिम्मेवारी पाएका छन् । उनीसँगै एकेडेमीमा बसेका र राष्ट्रिय टोलीबाट खेलेका भरत र किरणलाई प्रशिक्षण गराउनुपर्ने जिम्मेवारी यतिबेला उनीसामु छ । सन् २००९ मै सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका र एन्फा एकेडेमीमा हुर्किएका रोहित चन्द पनि अहिले नेपाली टोलीमा छन् ।

‘उनीहरु साथी भए पनि प्रोफेसनल लाइफ फरक हुन्छ । प्रशिक्षकको नजरले सबैलाई समान खेलाडीका रुपमा हेर्नुपर्छ’, चेतन भन्छन् । खेलाडी हुँदा पूरा गर्न नसकेको सपना अब प्रशिक्षणबाट पुरा गर्न चाहन्छन् उनी ।

‘खेलाडीभन्दा व्यापक चुनौती र दबाबको जिम्मेवारी हो प्रशिक्षक । अहिले नेपालका धेरै आशलाग्दा खेलाडी विदेशिएका छन् । यहाँ भएका खेलाडीमा पनि सम्भावना देखिन्छ । गर्नुपर्ने धेरै छ । केही सकारात्मक कुरा पनि छन् । मुख्य कुरा हामीले घरेलु लिग र अन्य प्रतियोगिताहरुलाई नियमित गर्नुपर्छ’, उनी भन्छन् ।

यतिबेला चेतन अल्बर्टो भिन्सेन्जो एनेसको सहायक बनेर विश्वकप छनोटका खेलहरुका लागि साउदी अरब आइपुगेका छन् । नेपालले दुई बलिया टोली यूएईसँग शुक्रबार र यमनसँग जुन ११ तारिखमा खेल्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *