सरकार बाहिर रहँदा अहिले कांग्रेसमा छटपटी भएको छ: उपाध्यक्ष पौडेल
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाली कांग्रेसलाई अहिलेको गठबन्धन भत्काउने सपना नदेख्न सुझाव दिएका छन् ।
एमाले रुपन्देहीको १०औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा नेता पौडेलले सत्ता गठबन्धन २०८४ सालसम्म जाने दाबी गरे ।
‘गठबन्धन भत्काउन अनेकौं षड्यन्त्र भएका छन्, ती सफल हुँदैनन्’, उनले भने, ‘कांग्रेसलाई प्रतिपक्षमा बसेर चुनाव लडाएको अनुभव दिलाउने हो । कांग्रेसले पुरपुरोमा हात राखेको छ ।’
चुनावपूर्वको गठबन्धनले निकास दिन नसकेपछि एमालेले साथ दिएको उनको भनाइ थियो । ‘बीचमा दुर्घटना भएर एकछिन कांग्रेसले सरकारमा साथ पायो, तर त्यो टिक्न सकेन, कांग्रेसले एमाले नदेख्ने भयो’, उपाध्यक्ष पौडेलले भने ।
‘अहिले सरकार बाहिर रहँदा कांग्रेसमा छटपटी भएको बताउँदै उनले भने, ‘कांग्रेसमा बैचेनी छ अहिले, कांग्रेसले झर्ला र खाउला भनेर सपना नदेखे हुन्छ ।’
एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न पार्टीले मिसन ८४ को नारा अघि सारेको उनले बताए ।
पौडेलले मुलुकको विद्यमान संकट समाधान गर्न र जनआकांक्षा सम्बोधन गर्न एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुको विकल्प नरहेको औंल्याए ।
‘एमालेले नेतृत्व गर्न नपाएका कारणले मुलुक पछि परेको र नागरिकहरुमा तमाम समस्या उत्पन्न भएको हो’, उनले भने, ‘संविधानले प्रदान गरेको अधिकारलाई व्यवहारिक बनाउन राष्ट्रिय शक्तिको मियोका रुपमा र निर्णायक राष्ट्रिय शक्तिका रुपमा एमालेलाई स्थापित गर्न जरुरी छ, समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको छ, अब त्यसलाई संस्थागत रुपमा प्रयोग गर्न तीनै तहका सरकारमा एमालेको एकल बहुमत आवश्यक छ ।’
कार्यक्रममा एमाले सचिव छविलाल विश्वकर्माले कार्यकर्ताले एमालेको जिल्ला अधिवेशनलाई उत्सवको रुपमा लिनुपर्ने भन्दै नेतृत्व चयनमा खिचातानी नगर्न आग्रह गरे ।
उनले स्वार्थभन्दा माथि उठेर पार्टी संगठन निर्माण र मुलुक रुपान्तरणको अभियानमा लाग्न पनि कार्यकर्तालाई आग्रह गरे ।
त्यस्तै एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमाले नै देशको भरपर्दो पार्टी रहेको बताइन् ।
एमाले पोलिटब्युरो सदस्य लीला गिरी, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेललगायतले पार्टी संगठनलाई बलियो बनाएरमात्र देश निर्माणमा जुट्न सकिने बताएका थिए ।
जिल्लाका १६ पालिकाका १५५ वडा, २३ जनसंगठन र आयोजक कमिटीबाट चयन भएका ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् । बिहीबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ ।