युक्रेनलाई फाइटर जेट दिने पक्षमा खुले फ्रान्सका राष्ट्रपति
काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले युक्रेनलाई फाइटर जेट दिने बताएका छन् । रुसी विश्व च्यानलका अनुसार बिहिबार फ्रान्सेली प्रशारक टीएफ १ सँग कुराकानी गर्दै म्याक्रोनले यस्तो खुलासा गरेका हुन् ।
फ्रान्सको मिराज २००० मोडेलका फाइटर जेट दिने म्याक्रोनले बताएका हुन् । यस्तै फाइटर जेट चलाउन आवश्यक तालिम पनि युक्रेनीलाई दिने म्याक्रोनले बताएका छन् ।
शुक्रबारै यस खालको निर्णय हुने म्याक्रोनले बताए । अमेरिकी फाइटर जेट एफ १६ भन्दा कम गुणस्तरको भएपनि फ्रान्सको मिरेज २००० ले युक्रेनी हवाई दस्ता बलियो हुने भन्दै युक्रेनी सैन्य प्रमुखले गत जनवरीमा सामाजिक सञ्जालमा पोस्ट गरेर फ्रान्ससँग फाइटर जेटको माग गरेका थिए ।
फ्रान्ससँग नयाँ २६ र पुराना ६५ मिराज २००० डी मोडलका फाइटर जेट भएको वल्र्ड एयर फोर्स मापकले बताएको छ । फ्रान्सले नयाँ दिने वा पुरानो त्यो चै म्याक्रोनले खुलाएका छैनन् ।
पछिल्लो समयमा फ्रान्स र रुसको मतभेद बढेको छ । त्यसैको फलस्वरुप म्याक्रोनले युक्रेनमा नेटो सैनिकहरु पठाउन पनि पछि पर्नुहुन्न भन्ने अभिव्यक्ति दिएका थिए । फ्रान्स प्रभावक्षेत्रको पश्चिम अफ्रिकी देशहरुमा रुस पक्षधर सत्ता आएको तथा फ्रान्सका सैन्य शिविर भएको क्षेत्रमा फ्रान्सेली सैनिक फिर्ताको माग बढेको छ ।
त्यहाँ रुसको समर्थक बढेका छन् । फ्रान्स प्रभाव क्षेत्रमा रुसको दबदबा बढेपछि युक्रेन मुद्धामा अरु शक्तिशाली युरोपेली देशहरु भन्दा फ्रान्स आक्रोशित देखिँदै आएको छ ।