सम्भव सिरोहियाको दाबी : गृहमन्त्रीले ‘समाचार लुकाउन’ आग्रह गरेका थिए – Nepal Press

सम्भव सिरोहियाको दाबी : गृहमन्त्रीले ‘समाचार लुकाउन’ आग्रह गरेका थिए

‘कैलाश सिरोहियाको नागरिकता नम्बर मिलेको प्रमाण रास्वपा कार्यकर्ताको हातमा कसरी पुग्यो, यसमा गम्भीर षडयन्त्र लुकेको छ’

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव स्वाँर सिरोहियाले गृहमन्त्री रवि लामिछानेमाथि कान्तिपुर दैनिकमा आफू विरुद्धको समाचार रोक्ने असफल प्रयास गरेको आरोप लगाएका छन् ।

कान्तिपुरले समाचार रोक्न नमानेपछि मिडिया ग्रुपका सीईओ कैलाश सिरोहियालाई पक्राउ गरिएको उनको दाबी छ ।

कैलाश सिरोहियाले नागरिकतामा किर्ते गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई कान्तिपुर दैनिककै कार्यालयबाट गत जेठ ८ गते पक्राउ गरेको थियो । ९ दिन हिरासतमा बसेपछि उनी गत १६ जेठमा हाजिर जमानीमा छुटेका थिए । त्यसको ८ दिनपछि कैलाशका छोरासमेत रहेका सम्भवले मुख खोलेका हुन् ।

उनले एक भिडिओ जारी गर्दै गृहमन्त्रीमाथि समाचार लुकाउने प्रयास गरेको गम्भीर आरोप लगाएका छन् । यद्यपि, यसको कुनै प्रमाण भने प्रस्तुत गरेका छैनन् ।

सम्भवले दिएको अभिव्यक्तिको एक अंश यस्तो छः

‘कान्तिपुरले रास्वपाका रवि लामिछाने जो अहिले गृहमन्त्री छन्, उहाँको सहकारी काण्ड जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै रिक्वेस्ट गर्नुभयो यो समाचार लुकाई दिनका लागि, मिलाइदिनका लागि । उहाँले पहिले आफूले गरेको पत्रकारिता सोच्नुभयो जस्तो लाग्यो मलाई । सेटिङ गरेर समाचार बन्छ र लुक्छ भन्ने सोच्नुभयो । उहाँलाई कति बुझाउने प्रयास गरियो, म्यानेजमेन्टले न्यूज लेख्दैन । कान्तिपुरमा सम्पादकीय स्वतन्त्रता छ । उहाँले यो कुरा बुझ्न सक्दै सक्नुभएन । गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लो स्तरमा ओर्लिनुभयो र आफ्नो पद दुरुपयोग गरेर मेरो बुवालाई एरेस्ट गर्नुभयो ।’

सम्भवले बुवाको नागरिकताका विषयमा लागिरहेको किर्तेको आरोपबारे पनि प्रष्टीकरण दिएका छन् । कसैको नागरिकता नम्बर अर्को व्यक्तिसँग मिल्न गएमा सरकारी निकाय जिम्मेवार हुने, व्यक्ति जिम्मेवार नहुने उनको तर्क छ ।

‘डकुमेन्ट लिने बेलामा कसरी चेक गर्ने ? हाम्रो काम भनेको नागरिकता लिने र घर ल्याएर राख्ने हो । अर्कोको मिल्यो भने पक्रिन मिल्छ त ? दिनेको हो कि लिनेको जिम्मेवारी ?’ उनले भनेका छन् ।

आफ्ना बुवामाथि रास्वपा कार्यकर्ताले उजुरी हालेको सम्भवले बताएका छन् ।

उनी भन्छन्, ‘कैलाश सिरोहियाको नम्बर मिलेको प्रमाण रास्वपाको कार्यकर्ताको हातमा कसरी पुग्यो ? नम्बर मिलेको हो कि मिलाइएको हो ? पुलिसले झूटो उजुरी कसरी फाइल गर्‍यो ?’

यसै गरी, विभिन्न निकायमा फरक-फरक नागरिकता नम्बर रहेको देखिनुलाई उनले प्राविधिक त्रुटि संज्ञा दिएका छन् ।

उनले गृहमन्त्री लामिछानेले बुवाको नागरिकतामा दुईथरि नाम देखिएको भन्दै काउन्टर अट्याकसमेत गरेका छन् । तर, यस प्रमाण भएर पनि आफूहरूले प्रकाशित नगरेको उनको भनाइ छ ।

आगामी दिनमा पनि कान्तिपुरले गृहमन्त्रीविरुद्ध समाचार लेख्न जारी राख्ने सम्भवले संकेत गरेका छन् ।

‘समयले नै सत्य के हो देखाउला । त्यतिबेलासम्म कान्तिपुरले लेख्नुपर्ने समाचार लेखिराख्छ,’ उनले भनेका छन् ।


प्रतिक्रिया

2 thoughts on “सम्भव सिरोहियाको दाबी : गृहमन्त्रीले ‘समाचार लुकाउन’ आग्रह गरेका थिए

  1. यो सम्भव भन्ने केटो अलि सभ्य होला जस्तो लाग्थ्यो! बाउ भन्दा पनि टपरटुइँया र तल्लोस्तरको माफिया रहेछ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *