हिन्दू बाहुल्य राज्यबाटै बीजेपीले पायाे कम मत: सरकार अलोकप्रिय भएर कि आरएसएस बिच्किएर ? – Nepal Press
टिप्पणी

हिन्दू बाहुल्य राज्यबाटै बीजेपीले पायाे कम मत: सरकार अलोकप्रिय भएर कि आरएसएस बिच्किएर ?

काठमाडौं । भारत हिन्दू बाहुल्य देश हो । त्यही भएर भारतीय जनता पार्टी (बीजेपी)ले ल्याएको हिन्दूत्व मुद्दामा भारतमा बहुमतको समर्थन छ । भारत देशमा मात्रै होइन, भारत डायस्पोरामा पनि यो मुद्दा बलियो छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेशमा हुने रकस्टार शैलीका सार्वजनिक कार्यक्रमले यस्तो देखाउँछ, तर सात चरणमा ६ हप्ता भएको चुनावपछि यो साता अन्तिम नतिजा आएको छ ।

भारतीय चुनावी गणितले हिन्दूत्वको मुद्दामा बीजेपीको यो संस्करणको चुनावमा कम मत आएको देखिएको छ । सन् २०१४ र २०१९ मा लगातार दुई पटक बलियो बहुमत ल्याएको बीजेपीले यस पालि एकल बलले बहुमत पुर्‍याउन सकेन । २४० क्षेत्र जितेको उसलाई बहुमत पुर्‍याउन ३२ सीट पुगेन ।

तीन दर्जन राजनीतिक दल मिलेर बनेको विपक्षी ‘इण्डिया’ गठबन्धनले जितेको २३४ क्षेत्रभन्दा बीजेपी एक्लैले जितेको क्षेत्र ६ संख्या बढी छ, तर मोदीको राजनीतिक जीवन र बीजेपीको सन् २०१४ पछिको उपस्थितिको कोणमा यति आउँदा पनि विपक्षीमा व्यापक खुशीयाली देखिएको छ ।

भारतको संसद अब मोदीको एकल प्रस्तुतिको मैदान हुनेछैन । भारतको सरकार अब मोदीको एकल निर्णयले मात्रै चल्नेछैन । भारतको सत्ताको चाबी अब बीजेपीसँग मात्रै हुनेछैन ।

हिन्दू र हिन्दी बाहुल्य राज्यमै बीजेपीको कमजोर चुनावी नतिजा

भारतको टीभी च्यानल आजतकले बुधबार हिन्दू बाहुल्य क्षेत्रमै बीजेपी कमजोर भएको तथ्यांक देखायो । जस्तैः झण्डै ७९.७ प्रतिशत हिन्दू जनसंख्या भएको उत्तर प्रदेशमा बीजेपीले ३० सीट गुमायाे । ८० क्षेत्र भएको उत्तर प्रदेश दिल्ली दरबार पुग्ने ट्रान्जिट हो, तर यसमै बीजेपी चुक्यो । ८२.७ प्रतिशत हिन्दू भएको विहारमा ४० निर्वाचन क्षेत्र छ ।

विहारबाट यो चुनावमा बीजेपीले ५ क्षेत्र गुमायाे । उसले ४८ सीट भएको महाराष्ट्रमा पनि १४ क्षेत्र गुमायाे । जबकि यो राज्यमा हिन्दू ७९.८ प्रतिशत छ । राजस्थानको कथा उस्तै छ, जहाँका २५ क्षेत्रमा बीजेपीले १० सीट गुमाउन पर्‍याे । राजस्थानमा ८८.५ प्रतिशत हिन्दू छन् ।

यी त केही उदाहरणमात्रै भए । पश्चिम बंगालदेखि अरु धेरै हिन्दू बाहुल्य राज्यमा पनि बीजेपीले सोचे जस्तो मत पाएन । आजतकका कार्यक्रम प्रस्तोता सुधीर चौधरीले हिन्दू बाहुल्य क्षेत्रमा हिन्दू पक्षधरको दल भए पनि बीजेपीले भोट नल्याउनुका मुख्यगरी तीन कारण चित्रित गरे ।

  • एक- हिन्दू पक्षधर दल भएकोले १५ प्रतिशत मुस्लिमले स्वतः त्यो दल नछान्ने ।
  • दुई- हिन्दूभित्र पनि १७ प्रतिशत दलित छन् । उनीहरुले हिन्दू पक्षधर दललाई मत हाल्ने सम्भावना कम हुन्छ ।
  • तीन- हिन्दू मान्नेहरुको पनि एकल दल छैन । त्यो मत बाँडिन्छ ।

यी र यस्ता तथ्यको व्याख्या आजतकले गरेर बीजेपीको मत कम आएको तर्क चौधरीको देखियो । कतिपय जानकारहरु तथा आलोचकहरुले कुरा योभन्दा पर भएको तर्क गरेका छन् ।

बीजेपीको संसदीय गणीत बिगार्ने मोदी सरकार कि आरएसएस बीजेपी विग्रह ?

मोदी नेतृत्वको बीजेपी सत्तामा आउँदा सन् २०१४ लाई मोदी १.० तथा सन् २०१९ लाई मोदी २.० भनेर व्याख्या गरियो । अहिले चुनावी व्याख्या बदलिएको छ । अहिले एनडीए अर्थात मोदीको गठबन्धन नेशनल डेमोक्रेटिक अलायन्स ३.० भन्न थालिएको छ । केही दलको अदलबदल भए पनि एनडीएनकै नाममा मोदीले तीन पटक चुनाव लडेका थिए ।

उनले यो चुनावी जीतमा पनि बीजेपी नभए गठबन्धनको नाम लिएर पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै एकै गठबन्धनले लगातार तीन चुनाव जित्नु ‘भारतको इतिहासमा अभूतपूर्व पल’ भएको भने । यसो भन्नुमा उनको बीजेपी बहुमतमा नपुगेको घुमाउरो स्वीकारोक्तिमात्रै थिएन, गठबन्धनलाई जस दिएर एकताको सन्देश दिँदै आइतबार हुने सपथको तयारी गर्नु थियो । भारतको ५४३ संख्याको सदनमा २९३ सीट ल्याएर सुविधाजनक बहुमत बोकेको गठबन्धनमा भावनात्मक एकता सञ्चार गर्नु थियो ।

अहिले भारत तथा विश्व मिडियाहरुले मोदी सरकारको एकल बहुमत नआउनुमा मोदी सरकारका कामसँग जनताले विमति जनाएको अर्थयाएका छन् । भारतलाई भित्री रुपमा बुझेकाहरुले चैँ अर्को एक कारण पनि थपेका छन् । त्यो हो- बीजेपी र उसको वैचारिक आडभरोसा भएको संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ।

सन् १९२५ मा स्थापना भएर झण्डै शताब्दी उमेर पुग्न लागेको आरएसएसकै आडभरोसमा बीजेपीको सत्तारोहण सहज बन्दै आएको हो । दुई अनुहारमात्रै प्रधानमन्त्री पाएको बीजेपीको त्यो इतिहास बन्नुमा आरएसएसकै योगदान छ । यो अनुमानित होइन, प्रमाणित कुरा हो, तर यो चुनावमा भने बीजेपी र आरएसएसको देखिने मित्रता जमिनमा नदेखिएको जानकारहरुले बताएका छन् ।

मतदाताको घरघरमा पुगेर आरएसएसका कार्यकर्ताहरुले मत माग्नेदेखि हरेक बुथमा पुगेर मत जोगाउने कुरामा आरएसएसले नेतृत्व गर्ने गरेका थिए । यो चुनावमा त्यस्तो नभएको देखियो । बीजेपीको नेतृत्वबाटै बीजेपी र आरएसएसको दुरी बढेको संकेत आएको थियो ।

उदाहरणका लागि सात चरणको चुनावको अन्तिम दिन जुन १ भन्दा ठीक पाँच दिन अगाडि इण्डियन इक्सप्रेसमा प्रकाशन भएको अन्तर्वार्तामा बीजेपी अध्यक्ष जेपी नड्डाले बीजेपी हुर्केको दल भएकोले अटल बिहारी बाजपेयीको समयमा जस्तो आरएसएसको साथ आवश्यक नभएको बताए । यो खबर भारतमा मात्रै नभएर विश्वभर चर्चाको विषय भयो ।

अमेरिकी कूटनीतिक समाचार पोर्टल डिप्लोम्याटले एक आलेख नै लेख्यो, जसको शीर्षक थियो, ‘किन आरएसएस बीजेपीबाट परपर हुँदैछ ?’

भारतमा लगालग दुई पटक बलियो बहुमत ल्याएको बीजेपीको आत्मविश्वास बलियो देखियो । सन् २०२२ मा १७ करोड बढी सदस्य पुर्‍याएर विश्वकै सबैभन्दा ठूलो राजनीतिक दल बनेपछि त बीजेपीमा आत्मबल झनै चुलियो । यसका साइड इफेक्ट दुईतिर देखियो । एकातिर आरएसएसले पाउनुपर्ने मानमनितो पाउन छाड्यो । अर्कोतर्फ पार्टीमा दिलोज्यान दिएर बसेका अर्गानिक नेता कार्यकर्ताहरुभन्दा आगन्तुक म्यादी नेता कार्यकर्ताहरुले लाभको पदमा पुग्ने अवसर भटाभट पाए । हिन्दू धर्म मान्ने तथा हिन्दी भाषा बोल्ने बाहुल्य क्षेत्रमा भएको बीजेपीको अपेक्षाभन्दा कम मत आउनुमा यी कारण पनि निर्णायक भएका छन् ।

एक बहुमत सत्ताबाट हुर्किएका मोदीलाई गठबन्धन सत्ता कति हलुका कति भारी ?

सन् १९८० अप्रिल ६ मा स्थापना भएको बीजेपीको राजनीतिक जीवनमा सत्ता गठबन्धन कुनै नौलो कुरा होइन । बीजेपीबाट प्रथम पटक प्रधानमन्त्री भएका अटल बिहारी बाजपेयीले पनि गठबन्धनकै बलमा सत्ताको नेतृत्व गरेका थिए । बीजेपी नेतृत्वको एनडीए गठबन्धनबाट बहुमत पुर्‍याएर आगामी शनिबार तेस्रो कार्यकालको लागि शपथग्रहण गर्ने मोदीलाई भने यो नयाँ अनुभव हो । उनी सत्तामा हुँदा अरुको टेको लाएर पुगेको यो पहिलो अभ्यास हो ।

सन् २००१ को अक्टोबारमा गुजरातको मुख्यमन्त्री भएबाट उनी पछिल्लो दशक भारतको प्रधानमन्त्री हुँदासम्मको उनको राजनीतिक सीभी हेर्दा उनी अरुको टेकोमा चलेका नेता होइनन् । सन २००१ बाट लगातार साढे १२ वर्ष मुख्यमन्त्री बनेका थिए मोदी । सन् २०१४ मा उनी भारतको १४औं प्रधानमन्त्रीको रुपमा सत्तामा आए । सत्तामा एकल बलमा दशक जमेका मोदी अहिले गठबन्धनको गठजोडमा तेस्रो कार्यकालमा प्रधानमन्त्री बन्दैछन् । यो नयाँ सेटमा उनी कति जम्छन्, त्यो प्रतीक्षाको विषय छ ।

यो प्रतीक्षा भारतको आन्तरिक राजनीतिमा मात्रै छैन । विश्व मिडियामा पनि छ । जस्तै बुधबार अलजजिराले बनाएको समाचारको हेडलाइन थियो, ‘मोदीको गठबन्धनको नौलो परीक्षा’ । यस्तै अमेरिकी अखबार न्यू योर्क टाइम्सले पनि बुधबारै यस्तै संकेतको खबर छाप्यो । जसको हेडलाइन थियो, ‘नयाँ किङ्ग मेकरहरु जसले मोदी सरकार बनाउन वा भत्काउन सक्छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *