सहकारी छानबिन समितिको दोस्रो बैठक आज, कार्यविधिबारे छलफल
काठमाडौं । सहकारीको रकम अपचलन भएको बिषयमा छानबिन गर्नको लागि गठित संसदीय छानबिन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजेका लागि बोलाइएको हो ।
आज बस्ने बैठकमा छानबिन समितिको कार्यविधिबारे छलफल हुने संयोजक सूर्य थापाले बताए । समिति गठन भएपछि आज दोस्रो बैठक बस्न लागेको हो । यसअघि बुधबार सभामुख देवराज घिमिरेको उपस्थितिमा बैठक बसेको थियो ।
एमाले सांसद थापा संयोजक रहेको समितिमा ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बद्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुसाल रहेका छन् ।
समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको रकम फिर्ताकोको उपायसहितको सुझाव दिनेछ । समितिलाई छानबिन गरेर प्रतिवेदन बुझाउनको लागि तीन महिना समय दिइएको छ ।