सहुलियतपूर्ण कर्जा र पुनर्कर्जालाई निरन्तरता दिन घरेलु तथा साना उद्योग महासंघ माग – Nepal Press

सहुलियतपूर्ण कर्जा र पुनर्कर्जालाई निरन्तरता दिन घरेलु तथा साना उद्योग महासंघ माग

काठमाडौं । सहुलियतपूर्ण कर्जा र पुनर्कर्जालाई निरन्तरता दिन घरेलु तथा साना उद्योग महासंघ माग गरेको छ । लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३४ वर्ष पुरा गरी ३५औँ वर्षमा प्रवेश गरेको अवसरमा भएको कार्यक्रममा सो कुरा माग भएको हो ।

महासंघ ३५औँ वर्षमा प्रवेश गरेको अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका लागि उपभोक्तालाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन गर्नका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उनले लघु, घरेलु तथा साना उद्योग नीति, स्वदेशी उत्पादन निर्देशिका पनि परिमार्जन गरेर ल्याउने तयारीमा रहेको बताए ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले ३५ वर्षमा महासंघ सात वटै प्रदेश, सबै जिल्ला, ३४१ वटा पालिकाहरूमा क्रियाशील रहेको भन्दै ३५ हजारभन्दा बढी उद्योगहरू महासंघका सदस्य रहेको बताए ।

सरकारले विगतमा दिँदै आएको सहुलियतपूर्ण कर्जा, पुनर्कर्जाका बारेमा बजेट मौन देखिएकोले यसलाई निरन्तरता दिनका लागि आगामी मौद्रिक नीति मार्फत यसको व्यवस्था हुनुपर्ने बताए ।

देशभरका लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी वस्तुहरूको बजार प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरको निर्यात गृह स्थापनाका लागि महासंघले दिएको सुझावलाई बजेटमा नसमेटिएकोले यसलाई सुधार गरिनुपर्ने बताए ।

कार्यक्रममा महासंघका सल्लाहकार अञ्जना ताम्राकार, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरू शोभा गुरुङ, राजेन्द्रमान श्रेष्ठ, हरिहर थापा, शान्ता बास्कोटा, मोहन कटुवाल, महासचिव डम्बरप्रसाद रेग्मी, केन्द्रीय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाल लगायतले आफ्ना शुभकामना मन्तव्य राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *