मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहको प्राथमिकता- संघीयतामाथिको प्रहार रोक्ने, सुशासन कायम राख्ने (भिडिओ) – Nepal Press

मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहको प्राथमिकता- संघीयतामाथिको प्रहार रोक्ने, सुशासन कायम राख्ने (भिडिओ)

पत्रकारको दुर्घटना बिमा गराउने र खेलाडीलाई प्रोत्साहन भत्ता दिने पनि निर्णय

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले संघीयतामाथि हुने प्रहार रोक्ने र सुशासन कायम राख्ने विषय मुख्य प्राथमिकता रहेको बताएका छन् ।

पद तथा गोपनीयताको शपथग्रहण लगत्तै उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गर्दै आफ्नो प्राथमिकताबारे जानकारी गराए । उनले विगत ६ वर्षदेखि ट्रेण्ड बदल्ने बताए ।

उनले भने, ‘अहिले कोलाब्रेशनको सरकार छ । विगतमा पनि कुनै एक दलसँग बहुमत थिएन । अहिले पनि छैन । त्यसैले सबैसँग सहकार्य गरी अगाडी बढ्नुपर्छ ।’

जनमत पार्टीका सिंह ६ दलको समर्थनमा मुख्यमन्त्री बनेका छन् । विभागीय एउटै मन्त्रालय नराखेको जिज्ञासामा उनले भने, ‘११ को ११ विभागीय आफैँसँग राख्न सकिँदैन ।

मुख्यमन्त्री कार्यालयमा बजेट थन्काएर हुँदैन । सबै मन्त्रालयमा मन्त्रीहरूलाई अनरशिप दिएर र आफू पनि सबै मन्त्रालयको अनरशिप लिएर काम गर्नु छ ।’

उनले प्रदेशमा दर्ता मिडियामा कार्यरत पत्रकारहरूको दुर्घटना बिमा गर्नेदेखि खेलाडीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउनेसम्मको निर्णय गरेका छन् ।

हेर्नुहोस् उनले गरेका ८ निर्णय:

१. मधेश प्रदेशको १३६ वटै पालिकाका बाँझो जग्गालाई उपयोग गरी नमूना कृषि विकास मोडल लागु गर्न कृषि समूह सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने ।

२. मधेश प्रदेशका प्रत्येक जिल्लामा नमुनाको रूपमा एउटा ठूला शैक्षिक पार्क तयार पार्ने ।

३. मधेश प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वसनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने ।

४. वैदेशिक रोजगारबाट सिप सिकेर फर्केका जनशक्तिका लागि श्रम बैंकको रूपमा परिचालन गर्ने । सिपलाई श्रमसँग जोड्ने कार्यक्रम ल्याउने ।

५. दिगो विकासको योजना तयार गरी देश वा विदेशका लगानी आकर्षण गर्न मधेश प्रदेश लगानी सम्मेलन गर्ने ।

६. मधेशमा सुशासनको जग स्थापित गर्न खोजमूलक पत्रकारिता प्रवर्द्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदारी कार्यक्रम सञ्चालन गर्ने ।

७. मधेशमा दर्ता भएका मिडियामा कार्यरत पत्रकारहरूको दुर्घटना बिमा गर्ने ।

८. मधेशका खेल क्षेत्रलाई गतिशील बनाउनका लागि प्रदेश गौरवका आयोजनाको रूपमा रंगशाला निर्माण गर्ने र खेलाडीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर