बत्तीस सीटको महत्व मोदीलाई सोध – Nepal Press

बत्तीस सीटको महत्व मोदीलाई सोध

भारतको तक्षशिला विश्वविद्यालयका विद्यार्थी र पछि सोही विश्वविद्यालयका शिक्षक प्रसिद्ध अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले प्रतिपादन गरेको चाणक्य नीति भन्छ- ‘यदि जीवनमा सफल हुन चाहने हो भने अहंकारबाट टाढा रहनुहोस्, अहंकारले आफैलाई नष्ट गर्दछ ।’

यस नीतिको आभास अहंकारीलाई अहंकारको अग्नीले भष्म गरेपछि मात्र वास्तविक लाग्न सक्छ । किनकी अहंकार भ्रमको पराकाष्ठा हो । महाभारतका पात्र विदुरलाई जब धृतराष्ट्रले अहंकारपूर्ण उपेक्षा र अपमान गर्छन्, तब राज्यसत्ता सखाप हुन्छ । खासमा सत्तासिनहरूमा भ्रम र अहंकारको पर्दा असफलताले मात्र उघार्छ ।

हालै हाम्रो छिमेकमा घमण्डको पारो यति क्लाईमेक्समा पुगेको थियो कि मानिसले आफूलाई भगवान्‌हरूको पनि अग्रजका रूपमा चित्रण गरिरहेका थिए । भगवान् रामभन्दा अलि उच्च कोटीमा आफ्ना चमत्कारहरूको महिमा मण्डन गरिँदै थियो । राम मन्दिरमा नयाँ राम अवतारको ‘प्राण प्रतिष्ठा’ गर्दै आफ्नो जन्मलाई र मानव चोलालाई ‘जैविक जन्मको रूपमा हैन भगवान्‌बाट नयाँ रामको अवतारको रूपमा धर्तीमा अवतरण गराइएको’ नाटकीय भाष्यको विनिर्माण गर्दै र ९ वटा क्यामेराहरूको भिडिओ सुटिङसहितको ‘ध्यान अवतारमा’ आफैंलाई हिरोका रूपमा प्रस्तुत गर्दै लोकसभा चुनावका अभियानहरू चलाइयो । चेलाहरू, अन्धभक्त र दासहरू ‘नग्न हिँडेका राजाले आफ्नो पोशाक कस्तो छ भनेर सोध्दा अति सुन्दर, मनमोहक र आकर्षक छ भनेर उत्तर दिने गरेको’ कथाका पात्र झै प्रतीत भएका थिए ।

बहुमत र सुविधाजनक सत्तारोहणको अनुभव गुजरातको दुई कार्यकाल मुख्यमन्त्री र दुई कार्यकाल केन्द्रको प्रधानमन्त्री हुँदा मोदीले प्रशस्त हासिल गरेका छन् । यो सत्य हो । तर, अल्पमतको अवस्थामा र निम्छरिलो ३२ सीटमा खुम्चँदासमेत देशका सबै राजनीतिक शक्तिहरू र छिमेकीहरूसँग विश्वास आर्जन र सत्ता सँचालन कसरी गर्ने भन्ने अनुभव पुष्पकमल दाहालसँग बढी छ । जनताको ताजा जनमतको मनोविज्ञानमा कसरी समायोजन र एकाकार हुने भन्ने अनुभव पनि छ ।

यी परिघटनाहरूको पृष्ठभूमिमा भारतको अठारौं लोकसभा चुनाव सम्पन्न भएर अन्तिम नतिजा प्रकाशित भैसकेको छ । भारतका शक्तिशाली प्रधानमन्त्री मोदी ‘राममग्न’ भगवानरूपी कायाबाट शायद ध्यानभङ्ग भएर मानवरूपी कायामा पदार्पण भएको हुनुपर्छ । किनकी भारतको ५४३ सदस्यीय लोकसभामा बहुमत सिद्ध गर्न र सरकार बनाउन २७२ सीटमा जित आवश्यक पर्छ । गठबन्धन दलसहितको बहुमत प्राप्त भएपनि विगत १० वर्षदेखि एकल बहुमतमा वेलगाम सरकार सञ्चालन गरेको नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले २४० सीट प्राप्त गरेको छ । जहाँ उसलाई ३२ सीटको कमीले भ्रमपूर्ण अहंकारबाट वास्तविकतातर्फ फर्कन बाध्य पार्ने आँकलन गरिएको छ ।

चुनावअघि वा चुनावपछि बन्ने गठबन्धनहरू कति बलशाली हुन्छन् र छन् भन्ने कुराको छनक राजनीतिको कखरा जानेका सबैले सहज अनुभव र अनुमान गर्ने विषय हुन् । दल बदलुमा खप्पिस नितिश कुमारहरूको टेकोमा को कति समय टिक्न सक्ला कसैले अनुमान गर्न सक्दैन । विश्वको सबैभन्दा ठूलो लोकतन्त्र कहलाएको भारतका हिजोका शक्तिशाली प्रधानमन्त्री मोदीको हैसियत आजका कमजोर मोदीमा रुपान्तरण गरिदिने ३२ सीटको ताकत र महत्व के हो ? यस प्रश्नको उत्तर मोदीलाई अहिले सबैभन्दा राम्रो थाहा होला ।

शायद ३२ सीटको महत्व के हो भन्ने प्रश्नको उत्तर जनता दल युनाईटेडका नितिशकुमार र तेलङ्गु देशमका चन्द्रबाबु नायडुलाई पनि गहिरोसँग थाहा छ । प्रतिपक्षमा रहेका इन्डिया गठबन्धनका नेताहरू र राहुल गान्धीहरूलाई पनि थाहा छ । भारतमा चार दशकसम्म राम्रै पोजिसनमा रहेका र अहिले अस्तित्व रक्षाको सँघारमा रहेका भारतिय कम्युष्टिहरूलाई पनि थाहा छ । थाहा नभए निकट भविष्यमा सबैले घतलाग्ने गरी थाहा पाउँछन भन्ने अनुमान गर्न सकिन्छ ।

यी हरफहरू पढ्दै गर्दा पाठकहरूलाई लेखक निकै हौसिएको र उत्ताउलिएर अनाहक टिप्पणी गरेको भन्ने पनि लाग्न सक्छ । छिमेकको चुनावी परिणामलाई लिएर बहुमतबाट ३२ सीटपछि रहेका मोदी र उनको भाजपालाई खुच्चिङ्ग गर्ने वा इन्डिया गठबन्धन वा अरु कसैलाई बधाई दिने पनि पङ्तिकारको आशय हैन । यथार्थताको विश्लेषण गर्ने प्रयत्नमात्र हो । नेपालको राजनीतिक धरातलमा हासिल अनुभवले पनि कुरा कोट्याउन उद्येलित गरेको हो ।

२०५० सालतिरको समयमा करिब दर्जन सीट वरपर रहेका राप्रपाका हस्तीहरू लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाले पालैपालो ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेलाई कसरी घुमाएका थिए भन्ने अनुभवले पनि टिप्पणीका लागि खसखस बनाएको हो ।

विश्वको सबैभन्दा ठूलो लोकतन्त्र कहलाएको भारतका हिजोका शक्तिशाली प्रधानमन्त्री मोदीको हैसियत आजका कमजोर मोदीमा रुपान्तरण गरिदिने ३२ सीटको ताकत र महत्व के हो ? यस प्रश्नको उत्तर मोदीलाई अहिले सबैभन्दा राम्रो थाहा होला ।

क्रान्ति र जनयुद्धको रापतापमा प्रतक्ष्यतर्फ बहुमत र समानुपातिकतर्फ समेत गर्दा ६०१ मध्ये २४० सीटमा जित हाँसिल गरेर नेपालका पुराना र स्थापित दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले दुवैको योगभन्दा बढी सीट पाउँदा नेकपा माओवादीका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई कसरी फनफनी रिंगटा लाग्ने गरी घुमाइएको थियो भन्ने पनि हामीले भोगेको कटु सत्य हो । ६३ सीट कमी भई बहुमत गुमाएका प्रचण्डलाई बाँकी सबै दलहरू मिलेर बाहिरबाट जिल्याउने र ‘क्रान्तिको’ जडसूत्रीय रटान अलापेर मोहन वैद्य र विप्लवहरूको मुटुमै रोप्ने अवस्तुपरक हर्कत पनि भोगेर यी टिप्पणीहरू उम्रेका हुन् । यस्तोमा ३२ सीट पछि परेका नरेन्द्र मोदीजस्ता कपाल फुलेका र पाको भएका नेताले जस्तो भारतको भावी शासन सत्ताको तस्बिर अरु कसले देखेको होला र ? निश्चित छ उनलाई पनि भित्र र बाहिर दुवैतिबाट पेल्नेहरू उदाउने छन् । ओरालो लागेको मृगलाई खेद्ने जोकोही निस्कन्छ जस्तो लाग्छ । यदि सुविचारित चल्ने हो र आत्मसमीक्षासहित प्रतिपक्षहरूसँग सहकार्यको हात बढाउने हो भने मोदी निम्छरिलो अवस्थामा पुगेका भने पक्कै हैनन् ।

नेपालबाटै मोदीले अरु दृष्टान्तहरू पनि हेर्न र अनुभव गर्न सक्छन् । आफ्नो प्रधानमन्त्रीय तेस्रो कार्यकालको शपथको दिनसमेत तय गरी नेपालका प्रधानमन्त्रीसमेत सहभागी हुने कार्यक्रम सार्वजनिक भइसकेको सत्तारोहण समारोहमा बधाई दिन आउन लागेका र नेपालको राजनीतिक परिदृष्यमा सबैभन्दा ठूलो दलको हैसियत र ‘३२ सीटे’ को हैसियतको समेत अनुभव गरेका समकक्षी प्रचण्डबाट समेत उनले अनुभव सिक्न सक्छन् । भारतबाट मात्रै अनुभव निर्यातको भाष्यलाई नेपालबाट राजनीतिक अनुभव निर्यातको परिदृष्य उजागर गर्न प्रचण्डलाई सफलता मिलोस् । यो नेपालका लागि गौरवको विषय हुनेछ । ठूलो कुरा गर्‍यो लेखकले नभन्नु होला ।

बहुमत र सुविधाजनक सत्तारोहणको अनुभव गुजरातको दुई कार्यकाल मुख्यमन्त्री र दुई कार्यकाल केन्द्रको प्रधानमन्त्री हुँदा मोदीले प्रशस्त हासिल गरेका छन् । यो सत्य हो । तर, अल्पमतको अवस्थामा र निम्छरिलो ३२ सीटमा खुम्चँदासमेत देशका सबै राजनीतिक शक्तिहरू र छिमेकीहरूसँग विश्वास आर्जन र सत्ता सँचालन कसरी गर्ने भन्ने अनुभव पुष्पकमल दाहालसँग बढी छ । जनताको ताजा जनमतको मनोविज्ञानमा कसरी समायोजन र एकाकार हुने भन्ने अनुभव पनि छ । अन्तरपार्टी घेराबन्दी र प्रतिपक्षको प्रहारका बीचमा कसरी टिक्ने र गुमेको जनविश्वास कसरी आर्जन गर्ने भन्ने कलामा प्रचण्डबाट मोदीले मात्र हैन संसारका जो कोही राजनेताले सिक्न सक्छन् । सशस्त्र युद्ध र शान्ति प्रकृयाको समेत नेतृत्व गरेको अनुभवको समेत गणना गर्ने हो भने दक्षिण एशियामा प्रचण्डसँग जोकोहीले सिक्न सक्छन् । नेपालका राजनेतामध्ये भारतका प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सी जिनपिङ्गसँग एकसाथ वार्ता गर्न सक्ने कूटनीतिक सार्थ्य पनि विगतमा उनीबाट देखिएको हो । यसैले लोकतान्त्रिक अभ्यासमा नेपालले मनग्य अनुभव हाँसिल गरेको छ ।

यस्तोमा ३२ सीटको महत्व के छ भन्ने प्रश्नको उत्तर प्रचण्डबाट अरु सरल तरिकाले पाउन सकिन्छ, यो कुरा भारतीय कम्युनिष्ट र कांग्रेसलाई मात्र हैन मोदी समेतलाई हेक्का हुनुपर्छ । नेपालमा ३२ सीटको महत्व के हो भन्नेबारे प्राय सबै राजनीतिज्ञहरू परिचित छन् । यसमा परिचित नभएकाहरू विगतमा अहंकारको भ्रममा परेर स्वयं शक्तिविहीन हुन पुगेको यथार्थ पक्कै मनन गर्दै छन् । बहुमतप्राप्त भएका बेलमा कसरी मात चढ्छ भन्ने अवलोकन गर्न २०४७ तिरको नेपाली कांग्रेस र गिरिजाप्रसाद कोइरालालाई हेर्दा हुन्छ । २०६५ तिरको माओवादी र २०७४ को नेकपा र त्यसका प्रमुख केपी ओलीलाई सम्झदा पनि पुग्छ । सकारात्मक भएर हेर्ने हो भने कसैले पनि नजितेका बेलामा र शक्तिशाली छिमेकीले अवरोध र नाकाबन्दी समेत गर्दा एकजुट भै सामना गरेर नेपालको संविधान २०७२ जारी भएको समयलाई सम्झँदा पनि पुग्छ । यसैले भन्नै पर्छ अहिले भारतको लोकतन्त्र र राजनीतिक परिदृष्यले नेपालबाट मनग्य सिक्न सक्छ ।

यी हरफहरू पढ्दै गर्दा पाठकहरूलाई लेखक निकै हौसिएको र उत्ताउलिएर अनाहक टिप्पणी गरेको भन्ने पनि लाग्न सक्छ । छिमेकको चुनावी परिणामलाई लिएर बहुमतबाट ३२ सीटपछि रहेका मोदी र उनको भाजपालाई खुच्चिङ्ग गर्ने वा इन्डिया गठबन्धन वा अरु कसैलाई बधाई दिने पनि पङ्तिकारको आशय हैन ।

३२ सीटको पछाडि कसरी ९८ प्रतिशत मतलाई एकीकृत गर्न सकिन्छ भन्ने लचकता र गतिशिलता नेपाली लोकतन्त्रले दिएको अनुभव हो । यसलाइ खिसीट्युरी वा हेपाहा मानसिकताले हैन सकारात्मक दृष्टिकोणले हेर्नुपर्छ । यो ज्ञानचक्षु नेपालमा विस्तार विकसित भइरहेको छ । भारतका राजनीतिक दलहरू र मुख्यतः प्रधानमन्त्री मोदीमा अहंकार र भ्रमको घडा फुटेर राजनीतिक सहअस्तित्व, सद्भाव र मित्रताको मार्गमा अगाडि बढ्ने पाठ हालै घोषित चुनावको नतिजाले देओस् । मिथकका राममात्र हैन हरेक जन रामरूपी र पुजनीय छन् भन्ने मान्यता विकास होस् । सार्वजनीकरूपमा आफू जैविक प्राणी नै रहेको र रामको अवतार रहेको भन्ने भ्रम अहंकारबाट जन्मेका हो भन्ने स्वीकारोक्तिसहित भारतीय जनतासँग माफी माग्ने साहस मोदीले प्राप्त गर्न सकुन् ।

नेपालसँगको सम्बन्धका सवालमा पनि ईपीजीको रिपोर्ट सौहार्दरूपमा ग्रहण गर्दै कार्यान्वयन गर्ने प्रतिवद्धता गरुन् । यही मानेमा नयाँ कार्यकालका लागि विश्वकै ठूलो लोकतन्त्र भारतको प्रधानमन्त्रीको शपथ लिन लागेका नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना । भारतीय प्रतिपक्षलाई पनि हालै प्राप्त आंशिक सफलताका लागि र वेटिङ्ग गभर्मेन्टका रूपमा मोदीका कदमहरूमा चनाखो र रचनात्मक भएर पहरेदारी गर्ने शक्ति मिलोस् भन्ने शुभकामना । धन्यवाद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *