कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि इटहरीमा त्रिदेशीय इस्टर्न ट्राभल मार्ट
विराटनगर । भारत र बङ्गलादेशका पर्यटक आकर्षित गर्न इटहरीमा इस्टर्न ट्राभल मार्ट सुरु भएको छ । कोशी प्रदेशको पर्यटन र उत्पादनहरूलाई सीमावर्ती भारतीय शहर र बङ्गलादेशमा समेत प्रचारप्रसार र प्रवर्द्धन गर्ने उदेश्वले मार्टको आयोजना गरिएको हो ।
पर्यटन बोर्ड र स्थानीय सरकारसँग समन्वय गरी नीजि क्षेत्रका सम्बद्ध सरोकार मार्फत सञ्चालन हुँदै आएको कार्यक्रमको यो चौथो संस्करण हो । आइतबारसम्म चल्ने कार्यक्रमको समापन झापाको पूर्वी नाका काकडभिटामा हुने आयोजकले जनाएको छ ।
ट्राभल मार्टमा नेपालका ५० जना तथा भारतको बिहार, पश्चिम बङ्गाल, भुटान र बङ्गलादेशका ३० जना पर्यटन व्यवसायीको सहभागिता रहेको छ । यस्तै, मार्टमा ८० भन्दाबढी ट्राभल व्यवसायी र पर्यटनसँग सम्बद्ध संघ संगठनका प्रतिनिधि गरी १३० बढी पर्यटनकर्मीको सहभागिता रहेको इस्टर्न टाभल मार्ट २०२४ का कार्यक्रम संयोजक भविस कुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा कोसी प्रदेशमा हालसम्म सञ्चालित तारे होटलहरु, प्रदेशका मुख्य गन्तव्यहरू, धार्मिक स्थलहरू, हस्पिटालीटी म्यानेजमेन्ट कलेजहरू गरी ३० भन्दा बढी स्टलहरू रहेको छ । कार्यक्रमको दौरानमा विदेशी पर्यटकलाई प्रदेशका विभिन्न पर्यटकीय स्थलको अवलोकन भ्रमण पनि गराइने छ ।
यस्तै स्वदेशी तथा विदेशी पर्यटन व्यवसायीहरूबीच सूचना व्यापार र समझदारी बनाउँदै देशीय तथा अन्तर देशीय व्यवसायी प्याकेजहरूमा सहमति सम्झौता समेत हुने आयोजकले जनाएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार एक्लैको लगानी र पहलले मात्रै पर्यटन क्षेत्रको विकास नहुने यसकालागि निजी क्षेत्रको भुमिकापनि उत्तिकै महत्त्वपूर्ण हुने बताए । तीन दिने इस्टर्न ट्राभल मार्ट २०२४ को उद्घाटन गर्दै पर्यटन क्षेत्रको विकासका निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताए ।
उनले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको जानकारी दिँदै उनले यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि नीजि क्षेत्रसँग सहकार्य गरेर सरकारले आफ्नो हैसियतभन्दा माथि नै उठेर लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।