मधेशका पर्यटनमन्त्री भट्टराई पदभार ग्रहण गर्दै भने- रोजगारी सृजना मुख्य प्राथमिकता
जनकपुरधाम । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराईले जनताको लागि थप रोजगारी सृजना गर्ने काम मुख्य प्राथमिकतामा रहेको बताएका छन् ।
मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता तथा रोजगारी प्रवर्द्धन गर्नेमा जोड दिए । उनले भने, ‘वैदेशिक रोजगारीमा जानेमध्ये बढी मधेश प्रदेशकै छन् । यहाँ बेरोजगारी समस्या बढ्दो छ। अब रोजगारी सृजना गर्नमा लाग्नुपर्छ ।’
मन्त्री भट्टराईले सरकारी, नीजि तथा गैर सरकारी क्षेत्रहरुको सहकार्यमा स्थानीय जनशक्तिलाई विभिन्न किसिमका रोजगार मूलक शिप विकास तालिम दिने योजना रहेको सुनाए ।
प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता तथा रोजगारी प्रवर्द्धनका लागि विभिन्न निकायको सहयोगमा थप रोजगारी सृजना गर्न आवश्यक कदम चाल्ने उनको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका दलका उपनेता समेत रहेका भट्टराई दोस्रो पटक उद्योग, बाणिज्य तथा पर्यटन मन्त्री बनेका छन् ।