डोटीको सायल गापामा महिलालाई आत्मनिर्भर बनाउन ‘महिलासँग उपाध्यक्ष’ कार्यक्रम प्रभावकारी – Nepal Press

डोटीको सायल गापामा महिलालाई आत्मनिर्भर बनाउन ‘महिलासँग उपाध्यक्ष’ कार्यक्रम प्रभावकारी

डोटी । डोटीको सायल गाउँपालिकाले महिला आत्मनिर्भर अभियान सञ्चालन गरिुहेको छ । ‘महिलासँग उपाध्यक्ष’ कार्यक्रमअन्तर्गत सीपमूलक र आयमूलक तालिममार्फत महिलाहरुलाई आत्मनिर्भर बनाउन लागिएको गाउँपालिकाकी उपाध्यक्ष निर्मला बोहरा वली बताउँछिन् ।

‘न्यून आयस्रोत भएका महिलाको जीवनस्तर माथि उकास्ने उद्देश्यले गाउँपालिकाले कार्यक्रम सञ्चालन गरिरहेको छ’, उनले भनिन्, ‘गरिब परिवारको सूचीमा परेका साँझबिहान छाक टार्न धौ धौ भएका परिवारहरुलाई उत्पादनसँग जोड्ने गरी कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’

‘महिलासँग उपाध्यक्ष’ कार्यक्रमअन्तर्गत वडा नं २ का ३० जना महिलालाई सात दिने साबुन बनाउने तालिम दिइएको छ । तालिमपश्चात महिलाहरुको समूहले नुहाउने र लुगा धुने साबुन उत्पादन थालेको उपाध्यक्ष वली बताउँछिन् ।

‘कच्चापदार्थ बाहिरबाट ल्याएर साबुन उत्पादनलाई निरन्तरता दिन्छौं’, उनले भनिन्, ‘साबुन बनाउने कार्यलाई साना उद्योगको रुप दिन सके महिला दिदीबहिनीहरुलाई साँझ बिहान हातमुख जोड्न सजिलो हुने विश्वास छ ।’

यस्तै वडा नं ३ का महिलाहरुलाई अल्लोका कपडा बनाउने तालिम दिइएको छ । उपाध्यक्ष वलीले आफनो ५ वर्षे कार्यकालमा महिलाको जीवनस्तरमा सुधार आउने गरी काम गर्ने लक्ष्य लिएको बताइन् ।

‘महिला दिदीबहिनीहरुलाई स्थानीय तह आफ्नो अभिभावक हो भन्ने अनुभूति हुने गरी काम गर्छौं’, उनले भनिन्, ‘गाउँपालिकाले महिलाहरुलाई समय-समयमा सिलाइकटाइसम्बन्धी तालिम पनि दिँदै आएको छ ।’

समाजमा रहेका छाउपडी प्रथा, लैङ्गिक हिंसा, बालविवाह, बहुविवाह जस्ता कुरीतिहरुविरुद्ध सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनले जानकारी दिइन् ।

‘महिलासँग उपाध्यक्ष’ कार्यक्रम महिलाहरुलाई स्वरोजगार बनाउन प्रभावकारी रहेको उपाध्यक्ष वलीले जिकिर गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर