एमाले अर्घाखाँचीको नवौं अधिवेशन आजदेखि, अध्यक्षमा पिताम्बर भुसाल दोहोरिने तयारीमा – Nepal Press

एमाले अर्घाखाँचीको नवौं अधिवेशन आजदेखि, अध्यक्षमा पिताम्बर भुसाल दोहोरिने तयारीमा

रूपन्देही । नेकपा एमाले अर्घाखाँचीको नवौं जिल्ला अधिवेशन आजदेखि सुरू हुँदैछ।

अधिवेशनको निम्ति भूगोल तथा विशेष इलाकाको ६५ शाखा,२१ वटा जनसंगठन र आयोजक कमिटीबाट गरी जम्मा ५ सय ६२ जना प्रतिनिधि चयन भएका छन्।

अधिवेशनको लागि नेकपा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश कमिटीका ईन्चार्ज पद्मा अर्याल लगायतका नेताहरु शुक्रबार नै सन्धिखर्क पुगेको एमाले जिल्ला सचिव तोजबहादुर रायमाझी विधानले बताए।

अधिवेशन नजिकिएसँगै अवको जिल्ला नेतृत्वको बारेमा पनि बहस सुरु भएको छ। नवौं अधिवेशनमा पनि आठौं अधिवेशनबाट अध्यक्ष बनेका पिताम्बर भुसाल दोहोरिने तयारीमा छन् ।

सबै दलहरु एक ठाउँमा भएर गठबन्धन गर्दा पनि प्रदेश र संघको निर्वाचनमा जिल्लाका सबै उम्मेदवारलाई विजयी गराएर विपक्षीलाई क्लिनस्वीप गरी देशभरको उत्कृष्ट जिल्ला बनेर सम्मान पाएका भुसालले आफूले पूरा कार्यकाल काम गर्न नपाएकाले दोहोरिने जनाएका छन् । उनले एमालेविरूद्व स्थानीय तहमा समेत भएको गठबन्धनविरूद्व राम्रो नतिजा निकालेको र जिल्ला समन्वय बनाउन सकेको जस पनि पाएका छन् ।

अध्यक्षका लागि युवा नेता प्रेम गैरेले पनि चाहना राखेका छन् तर धेरै नेताहरू भुसाललाई अगाडि सार्ने तयारीमा छन् । भुसाल २०७८मा सम्पन्न जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका थिए। यो अवधिमा अन्य पार्टी छोडेर धेरै नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका थिए।

एमाले अध्यक्ष भुसाल राजनीतिक नेताहरुले सिको गर्न योग्य उच्च आदर्श भएको नेता भएको एमाले प्रचार बिभाग प्रमुख शोभाखर पन्थीले बताए। भुसालमा इमान्दारिता,कामप्रतिको लगाव,विचारमा रहेको स्पष्टता ,सालिनता र क्रान्तिकारी छविले पुनः नेतृत्वमा जान सहज बनाएको उनको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर