एमालेले अड्को थाप्दा सुदूरपश्चिममा माओवादी र स्वतन्त्रलाई मन्त्री बनाउने मुडमा मुख्यमन्त्री सोडारी – Nepal Press

एमालेले अड्को थाप्दा सुदूरपश्चिममा माओवादी र स्वतन्त्रलाई मन्त्री बनाउने मुडमा मुख्यमन्त्री सोडारी

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले मुख्यमन्त्री नियुक्त भएको ५२ दिनसम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएको सोडारीले सोही दिन नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा र एक सातापछि नाउपाकै टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्रालयमा नियुक्त गरेका थिए । त्यसपछि मुख्यमन्त्री सोडारीले अहिलेसम्म अन्य कुनै पनि मन्त्रालयमा कुनै पनि सांसदलाई जिम्मेवारी दिएका छैनन् ।

केन्द्रका मन्त्रालयको भागबन्डा नहुँदा र एमालेले सरकारमा सहभागी नहुने नीति लिँदा मुख्यमन्त्री सोडारीलाई सरकार विस्तारमा सकस भएको हो ।

एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीलाई ती सबैले विश्वासको मत दिएका थिए । तर, अहिले नाउपा रन्जिता पक्षका दुई सांसद बाहेक अन्य कोही पनि दलहरू सरकारमा सहभागी भएका छैनन् ।

अहिले पनि एमाले सरकारमा सहभागी नहुने बताइरहेको छ । एमाले सरकारमा सहभागी नहुने भएपछि मुख्यमन्त्री सोडारीले माओवादी र स्वतन्त्र सांसदलाई लिएर सरकार विस्तार गर्ने विषयमा तयारी थालेका छन् ।

शुक्रवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सत्ता गठबन्धनको बैठकमा पनि मुख्यमन्त्री सोडारीले सरकारलाई पूर्णता दिन आग्रह गरेका थिए । तर, एमालेले त्यहाँ पनि तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेको बताएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

‘माओवादीले सरकार विस्तारमा तीव्रता दिन ताकेता गरेको थियो एमालेले अझै सरकारमा सहभागी हुने नीति नरहेको जानकारी गराएको हो ’ बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

एमाले सांसद धर्म पाठकले पनि अहिलेसम्म पार्टी सरकारमा सहभागी हुने बारे कुनै निर्णय नगरेको बताउँछन् ।

‘हामीले पहिले नै सरकारलाई समर्थन गर्ने विश्वासको मत दिने तर, तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेका थियौँ । त्यसपछि सरकारमा जाने भनेर अर्को निर्णय भएको छैन’ उनले भने ‘हामी केन्द्रको छलफल र परामर्शमा छौँ । केन्द्रबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने बारे कुनै त्यो सुझाव आएको छैन ।’

एमालेले तत्काल सरकारमा सहभागी नहुने बताएपछि माओवादी र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी बनाउने विषयमा पछि छलफल भइरहेको छ ।

‘माओवादी सरकारमा सहभागी हुन तयार भएको देखिन्छ एमालेले केन्द्रमा छलफल र परामर्श गर्ने जनाएको छ’ नेकपा एकीकृत समाजवादी संसदीय दलका उप नेता प्रकाश रावलले भने, ‘केन्द्रमा मन्त्रालयको भागबन्डा मिल्दासाथ यता सरकार विस्तार हुन्छ। ’

मुख्यमन्त्री कार्यालयको बैठकमा सहभागी माओवादी सांसद शिवसिंह ओलीले आफ्नो पार्टीबाट मन्त्री हुनेहरुको नाम नआएको कारण पार्टी सरकारमा सहभागी नभएको बताए ।

‘अहिलेसम्म सरकार विस्तारले पूर्णता पाइसक्नुपर्ने हो । बजेट निर्माण गर्ने बेला सरकार निर्माणमा अल्झिने कुरा ठिक होइन अर्को कुरा एमाले सरकारमा सहभागी नहुँदा माओवादी पनि नहुने भन्ने हुँदैन ’ उनले भने ‘हाम्रो पार्टीबाट मन्त्रीको नाम नआएको हुँदा ढिलाइ भएको हो । ’

उनका अनुसार मन्त्री हुनेहरुको नाम केन्द्रले आज पठाउन सक्ने र त्यस लगत्तै मुख्यमन्त्रीले माओवादीलाई मात्रै पनि सरकारमा सहभागी गराउन सक्ने सम्भावना रहेको उनी बताउँछन् ।

मुख्यमन्त्री सोडारीले माओवादी र स्वतन्त्रलाई भएपनि सरकारमा ल्याउन प्रसार गरिरहेका बेला स्वतन्त्र सांसद तारा जोशीले भने अहिले नै आफूले मन्त्री भइहाल्ने विषयमा कुनै निर्णय नगरेको बताउँछन् ।

‘म सत्ता पक्षमा छु, विश्वासको मत दिएको छु सरकारलाई समर्थन गरेको छु तर, मन्त्री हुने कुरामा कुनै निर्णय गरेको छैन ’ उनले भने ।
केन्द्रमा सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुङ्गो नलाग्दा पनि प्रदेश सरकार विस्तारमा ढिलाइ भएको हो ।

‘कुन मन्त्रालय कुन पार्टीलाई पर्ने हो त्यो टुङ्गो लागेको छैन त्यो टुङ्गिएको भए सरकारमा सहभागी हुने दलहरूबाट मुख्यमन्त्रीले मन्त्री नियुक्त गर्नुहुने थियो ’ मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘हिजो पनि त्यहि विषयमा छलफल भएको हो । ’

मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा माओवादीले तत्काल आर्थिक मामिला मन्त्रालय आफ्नो पार्टीलाई दिन आग्रह गरेको थियो । पछि उक्त मन्त्रालय माओवादीकै भागमा परे मन्त्रीले निरन्तरता पाउने एमालेको भागमा परे उक्त मन्त्रीलाई कहाँ लैजाने उक्त निर्णय सोही पार्टीले गर्ने सम्मको छलफल भएको थियो ।

तर, मुख्यमन्त्री सोडारीले सत्ता गठबन्धनका नेताहरूलाई पार्टी केन्द्रसँग समन्वय गरेर सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर