१८ वर्षमा पहिलो पटक महाधिवेशन सामना गर्दै उपेन्द्र, पार्टी फुटपछि अध्यक्षमा चुनौतीविहीन – Nepal Press

१८ वर्षमा पहिलो पटक महाधिवेशन सामना गर्दै उपेन्द्र, पार्टी फुटपछि अध्यक्षमा चुनौतीविहीन

पदाधिकारीमा यस्तो छ रसाकस्सी

काठमाडौं । पार्टी विभाजन भएको एक महिनापछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो पटक महाधिवेशको सामना गर्न लागेका छन् । महाधिवेशन सोमबारदेखि जनकपुरमा हुँदैछ ।

महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । उनका अनुसार प्रतिनिधि तथा पर्यवेक्षकहरुको रजिष्ट्रेशन कार्य भइरहेको छ ।

महाधिवेशनमा सहभागी हुने मधेश प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूले भोलि बेलुकी ५ बजेसम्म दर्ता गरिसक्नु पर्नेछ । अन्य प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूले जेठ २८ गते बेलुकी ५ बजेसम्म दर्ता गर्न पाउने उनले बताए ।

जसपा नेपालको केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि तथा पर्यवेक्षकका लागि दर्ता शुल्क पन्ध्र सय रुपैयाँ तोकेको छ ।

नेतृत्वमा उपेन्द्रलाई हाइसन्चो

२०६३ मा मधेशी जनअधिकार फोरम गठन भएदेखि नेतृत्वमा रहेका उपेन्द्रले यसपालि पहिलो पटक महाधिवेशनको सामना गर्न लागेका छन् । विभिन्न पार्टीसँग एकता र टुटफुट हुँदै उनी अहिले जसपा नेपालको नेतृत्वमा छन् । एकताको पहिलो महाधिवेशन भनिए पनि नेतृत्वमा उपेन्द्र आफैं दोहोरिने दाउमा छन् ।

अशोक राई, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राईलगायतले पार्टी फुटाएर जसपा गठन गरेपछि उपेन्द्रविरुद्ध नेतृत्वमा कसैले दाबी गर्ने अवस्था नरहेको बताइन्छ ।

यद्यपि उपेन्द्रलाई राजकिशोर यादवले नेतृत्वमा चुनौती दिनसक्ने चर्चा भइरहेको छ । तैपनि त्यो सम्भावना नरहेको नेताहरू दाबी गर्छन् ।

अध्यक्षमा उपेन्द्र यादव नै सर्वसम्मत चयन हुने प्रवक्ता मनिष सुमन बताउँछन । उनले भने, ‘अध्यक्षमा उपेन्द्रजी सर्वसम्मत हुनुहुन्छ । त्यसमा कुनै दुई मत छैन, तर अन्य पदाधिकारी, केन्द्रीय सदस्य र कार्यकारिणीको लागि निर्वाचन हुन्छ ।’

पार्टीको अन्य पदाधिकारीमा धेरै आकांक्षी भएकाले अहिले नै को को आउँछन् भन्न सकिने अवस्था नरहेको उनले बताए ।

पार्टीले पहिलो पटक एकताको महाधिवेशन गर्न लागेको जानकारी दिँदै सर्वसम्मत नेतृत्व चयनको प्रयास हुने अध्यक्ष यादवले संकेत गरे । पार्टीको महाधिवेशनको मुखमा अशोक राईसहितका नेताहरूले छाडेर गए पनि महाधिवेशनमा कुनै असर नगरेको उनको भनाइ छ ।

महाधिवेशनबारे जानकारी दिन जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने, ‘सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टीका केही नेताहरू चोइटिएर गएका छन् । उनीहरू जाँदैमा महाधिवेशनलाई कुनै असर गर्दैन ।’

उनले पार्टी कमिटीमा आफूहरूसँग दुई तिहाइ स्पष्ट बहुमत रहेकाले पार्टीलाई सुदृढ ढंगले महाधिवेशनबाट अघि बढाइने बताए । तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट १ हजार ३०० प्रतिनिधि सहभागी हुने उनको भनाइ छ ।

पदाधिकारीमा नेताहरूको रस्साकस्सी

महाधिवेशनले २० जना पदाधिकारीको निर्वाचन गर्ने प्रचार विभाग प्रमुख बस्नेतले बताए । उनका अनुसार महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ । सात सचिवमा भने प्रादेशिक क्लस्टरका आधारमा हुने उनले सुनाए ।

अध्यक्षबाहेक अन्य पदाधिकारीमा आकांक्षी धेरै रहेकाले निर्वाचनमै जाने देखिएको अर्का एक नेताले बताए । ती नेताले भने, ‘अहिले भएका केन्द्रीय सदस्य र कार्यकारिणीबाटै पदाधिकारी निर्वाचित भएर आउने हो । आकांक्षी धेरै छन् । त्यसमा अध्यक्षलाई मिलाउन अप्ठेरो पर्ने देखिएको छ । त्यसैले निर्वाचन हुने पक्का हो ।’

नेतृत्वमा उपेन्द्रलाई राजकिशोरले मात्रै होइन, अरूले पनि टक्कर दिनेगरी तयारी नगरेको जिकिर गरे । ती नेताका अनुसार अध्यक्षमा दाबी नरहे पनि दोस्रो वरियताको सहअध्यक्षमा राजकिशोरसहित रकम चेम्जोङ र लालबाबु राउतको कडा टक्कर पर्ने देखिएको छ ।

ती नेता थप्छन्, ‘राजकिशोरजीलाई सहअध्यक्षमा व्यवस्थापन गर्न पनि सहज छैन । राजनीतिक रूपमा रकमजी सिनियर हुनुहुन्छ, तर उहाँहरूले आआफ्नै ढंगबाट तयारी गर्नुभएको जस्तो देखिन्छ । लालबाबुजीले पनि उम्मेदवारी दिने तयारी गरिराख्नु भएको भन्ने छ । त्यसैले अहिले भन्न सक्ने अवस्था छैन ।’

सहअध्यक्षमा नअटेकालाई उपाध्यक्ष बनाउन नै ५ जना पुर्‍याइएको बताइन्छ । महासचिवमा भने मनिष सुमन, प्रकाश अधिकारी, रामकुमार शर्मालगायतको दाबी रहेको ती नेता बताउँछन् । दुईमध्ये एकमा पार्टी प्रवक्ता सुमनको सम्भावना छ।

महाधिवेशनमा गएपछि निर्वाचन हुनु स्वाभाविक रहेको नेता प्रकाश अधिकारी बताउँछन् ।

अध्यक्षमा उपेन्द्रलाई टक्कर दिने कोही छैन भन्ने जिज्ञासामा उनी भन्छन्, ‘हाम्रोमा साढे १ हजार २०० प्रतिनिधि छन् । त्यसमध्ये विधानले तोकेको मापदण्ड पुगेका सबै लड्न सक्नुहुन्छ । महाधिवेशनमा जे पनि हुनसक्छ ।’

उनले अशोक राईसहित महाधिवेशन नचाहनेहरूले पार्टी छाडेर गएको दाबी गरे । उनी भन्छन्, ‘अशोकजीहरू महाधिवेशन गराउने पक्षमा हुनुहुँदैनथ्यो । त्यसैले पार्टी छाडेर जानुभएको हो । पार्टी विभाजन भएको होइन । केहीले छाडेर गएका हुन् । जबरजस्ती पार्टी विभाजनको नाटक सरकारले गराएको हो । त्यसले हामीलाई कुनै असर गर्दैन ।’

यस्तो छ उम्मेदवार बन्ने मापदण्ड

जसपा नेपालले महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यको उम्मेदवार बन्न योग्यताको व्यवस्था गरेको छ । पदाधिकारी तथा सदस्य पदको उम्मेदवार हुन पार्टी विधानको धारा २५ मा न्यूनतम योग्यता निर्धारण गरिएको प्रचार विभाग प्रमुख बस्नेतले बताए ।

केन्द्रीय समितिको पदाधिकारीका लागि उम्मेदवार हुन केन्द्रीय समितिको सदस्य वा प्रदेश/राष्ट्रिय समितिको अध्यक्ष भई कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्नेछ । त्यसैगरी केन्द्रीय समितिको सदस्यको उम्मेदवार बन्न सङ्गठित पार्टी सदस्य भई कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय समिति वा केन्द्रीय निकाय वा प्रदेश/राष्ट्रिय समितिको सदस्य वा केन्द्रीय विभागको सदस्य वा जिल्ला समितिको पदाधिकारी वा जनवर्गीय सङ्गठनको केन्द्रीय पदाधिकारी भई एक कार्यकाल वा लगातार पाँच वर्षसम्म काम गरेको हुनुपर्नेछ ।

महिला, दलित, श्रमिक, मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम र अपाङ्गता भएका व्यक्तिको हकमा भने लगातार पाँच वर्ष वा एक कार्यकाल जिल्ला समिति वा प्रदेश÷राष्ट्रिय समिति वा जनवर्गीय सङ्गठनको केन्द्रीय समितिको पदाधिकारी भई काम गरेको भए पुग्नेछ ।

यस्तै महाधिवेशनमा उम्मेदवार हुनेहरूलाई दस्तुरसमेत निर्धारण गरिएको छ । पार्टीले तयार पारेको निर्वाचन निर्देशिकाअनुसार पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको दस्तुर निर्धारण गरिएको जनाइएको छ ।

अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई ७ हजार, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदका उम्मेदवारका लागि ५ हजार, केन्द्रीय सदस्यमा उम्मेदवार हुन २ हजार शुल्क निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर