टिपटप हेल्प नेपाल र पुलिस बने प्रधानमन्त्री कप भलिबल लिगका च्याम्पियन
काठमाडौं । आठौं प्रधानमन्त्री कप भलिबल लिगको उपाधि टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ । शनिबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै टिपटप हेल्प पुरुषतर्फको च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भएको फाइनलमा टिपटपले गण्डकीलाई २५-२२, २०-२५, २५-२० र २५-२० सेटले जितेको हो ।
प्रतियोगिताको महिलातर्फ एभरेस्ट भलिबल क्लब बुटवललाई ३-२ सेटमा पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले उपाधि कब्जा गर्यो । पुलिसले २५-२१, २५-२३, २०-२५, २०-२५ र १५-१२ अंकले एभरेस्टलाई पन्छाएको हो ।
उपाधिसँगै बिजेताले ८ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने टीमले चार लाख रुपैयाँ नगद पुरस्कारमा चित्त बुझायो ।