सुन्दरीजलबाट सुरु भयो वाग्मती बचाउ अभियान – Nepal Press

सुन्दरीजलबाट सुरु भयो वाग्मती बचाउ अभियान

काठमाडौं । सुन्दरीजलस्थित वाग्मतीको मुहान क्षेत्रबाटै सफाइ सुरु गरिएको छ । गुह्येश्वरीमाथिको वाग्मतीमा सफाइ गर्दै आएका अभियानकर्मीको समूहले शनिबार मुहान क्षेत्रका फोहर टिपेर अभियान सुरु गरेका हुन् ।

वाग्मतीको मुहान सफा नभए तल्लो भागमा जति सफाइ गरे पनि फोहर बढिरहने भएकाले यस क्षेत्रको सफाइ गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताए । वाग्मती सफाइमात्र नभई वाग्मती बचाउ अभियान नै सुरु गर्नुपर्ने भन्दै उनले एक दशकअघिदेखि निरन्तर सफाइ भइरहेको बताए ।

एक दशकअघिदेखिको अभियानले चेतना जगाए पनि फोहर आफैँले व्यवस्थापन गर्न अघि नसर्दा नदी फोहर हुने क्रम भने यथावत् रहेको अभियानकर्मीको भनाइ छ ।

अभियानले शनिबारदेखि प्रत्येक हप्ताको शनिबार वाग्मती बचाउ अभियानका नाममा सफाइ जारी राख्न लागेको अभियानकर्मी भगवान् पुडासैनीले जानकारी दिए ।

यसैगरी ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको पाँच सय ७८औँ हप्ताको सफाइ तीनकुनेस्थित वाग्मतीमा गरिएको छ ।

सफाइबाट नकुहिने साढे एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । व्यवस्थापन गरिएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सक्रियता रहेको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । सफाइ महाअभियान सुरु भएको एक दशक पूरा हुँदा पनि वाग्मतीमा धेरै परिवर्तन आउन सकेको छैन ।

वाग्मतीमा काम गर्न स्थापित भएका संस्थालगायत सरोकार भएका निकायले काम नगरेसम्म स्वयंसेवी अभियानले मात्र केही हुन नसक्ने विश्लेषण हुन थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *