इन्डोनेसियामा पाइथनले निलेर एक महिलाको मृत्यु
काठमाडौं । इन्डोनेसियामा पाइथनले निलेर एक महिलाको मृत्यु भएको छ । पाइथनको जिउभित्र पुरा लुगा लगाएकै अवस्थामा महिला मृत फेला परेको बताइएको छ ।
जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार इन्डोनेसियाको साउथ सुलावेसी प्रान्तमा यस्तो घटना घटेको हो ।
पाँच मिटर लामो पाइथनले निलेर ४५ वर्षकी महिलाको मृत्यु भएको इण्डोनेसियाली मिडियाहरूले उल्लेख गरेका छन् । घरबाट बिहीबार खोर्सानी बेच्न भनेर हिँडेकी महिला शनिवार पाइथनको फुलेको जिउबाट फेला परेकी थिइन् ।
गाउँले तथा महिलाका श्रीमानले पाइथनलाई काटेर महिलाको शरीर निकालेका थिए ।
फुलेको पाइथन बसेको नजिकै महिलाका सरसामानहरू फेला परेपछि पाइथनले महिला निलेको गाउँलेहरूले निर्क्यौल गरेका थिए ।