पाण्डेलाई विश्वासको मत दिने फणिन्द्र देवकोटाको संकेत, माओवादीको ह्वीप आफूलाई नलाग्ने तर्क – Nepal Press
नेपाल टक

पाण्डेलाई विश्वासको मत दिने फणिन्द्र देवकोटाको संकेत, माओवादीको ह्वीप आफूलाई नलाग्ने तर्क

‘मेरो पार्टी माओवादी होइन नेसपा हो, पार्टीले जे निर्णय गर्छ त्यही मान्छु’

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा जेठ १६ गते मुख्यमन्त्री बनेका पाण्डेले सोमबार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत पाउन मुख्यमन्त्रीलाई कांग्रेसबाहेक थप ४ सांसदको समर्थन आवश्यक हुन्छ । मुख्यमन्त्रीले दुई सीट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राजीव गुरुङ (दीपक मनाङे) र माओवादीको चुनाव चिन्ह लिएका नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणीन्द्र देवकोटाको मत पाउने आशा राखेका छन् ।

राप्रपाले पाण्डेलाई समर्थन जनाउने ग्रीन सिग्नल दिइसकेको छ । उता दीपक मनाङेले पनि बहुमत पुग्ने स्थितिमा विश्वासको मत दिने वचन दिएको कांग्रेस नेताहरू दाबी गर्छन् । त्यस्तो अवस्थामा मुख्यमन्त्री पाण्डेको सरकार जोगाउन नेसपाका सांसद देवकोटा निर्णायक देखिएका छन् ।

माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेको देवकोटा अहिले प्रदेशसभामा माओवादी संसदीय दलमा छन् । औपचारिक रुपमा नबताए पनि उनी मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिन सकारात्मक रहेको बुझिएको छ । देवकोटाले मुख्यमन्त्रीलाई विश्वासको मत दिँदा ह्वीप उल्लंघन हुने माओवादीसहितका गठबन्धनका नेताहरु बताउँछन्, तर नेपाल प्रेससँग कुरा गर्दै देवकोटाले आफूलाई माओवादीको ह्वीप नलाग्ने दाबी गरे ।

गण्डकी सांसद फणीन्द्र देवकोटासँग नेपालप्रेसले गरेको संक्षिप्त कुराकानीः

– सोमबार गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै हुनुहुन्छ । यसमा तपाईंको भूमिका के रहन्छ ?

एउटा सांसदले खेल्नुपर्ने भूमिका खेल्ने त हो । ६० जना सांसदमध्ये म पनि एउटा हुँ । मैले जे भूमिका खेल्दा राम्रो हुन्छ, त्यही खेल्ने हो । पार्टी (नेपाल समाजवादी पार्टी) को भोलि बिहान बैठक बस्छ । प्रदेश र केन्द्रको सल्लाहमा भोलि पार्टीले जे निर्णय गर भन्छ त्यही गर्ने हो । सबै राजनीतिक दलसँग छलफल चलिराखेको छ । छलफलका आधारका गण्डकी प्रदेशको सन्दर्भमा निर्णय दिने त हो नि !

– तपाईं त माओवादी संसदीय दलमा हुनुहुन्छ । नेसपाको निर्णय मान्दा माओवादीको ह्वीप लाग्दैन ?

ह्वीप भनेको पछिको कुरा हो । पहिला निर्णय भएपछि न ह्वीपको कुरा होला । निर्णय नै आएको छैन त कसरी ह्वीपको कुरा गरौं ! म माओवादी संसदीय दलमा जाँदा पनि हुन्छ, नजाँदा पनि हुन्छ । जाँदा के हुन्छ भन्ने पनि छैन । नजाँदा के हुन्छ भन्ने पनि छैन । मेरो पार्टी त नेसपा हो । नेसपाले कारबाही गर्‍यो भने पो लाग्ने हो । माओवादीले कारबाही गरेर कसरी लाग्छ ?

ह्वीप लगाउन खोजे माओवादी आफैंलाई घाटा पर्छ । उदाहरणका लागि आज ह्वीप लगाउनु भो । भोलि राजनीति के हुन्छ थाहा छैन । पछि आफूलाई चाहिँदाखेरि के हुन्छ ? उहाँहरूले ह्वीप लगाए पनि अर्को पार्टीबाट मलाई कारबाही हुँदैन । केन्द्रमा अर्को पार्टीबाट भोलि आइहाल्छु । अनि उहाँलाई अप्ठेरो पर्दा त कहिले पनि नदिने भए नि त !

– तपाईं नेसपाको नेता हुनुहुन्छ । पार्टीले चाहिँ तपाईंलाई के निर्देशन दिएको छ ?

भोलि बिहान पार्टीको बैठक बस्दैछ । उक्त बैठकमा प्रदेशदेखि केन्द्रसम्मको नेतासँग छलफल हुन्छ । त्यो बैठक जे गर भन्छ, त्यही निर्णय लिन्छु । अरू कुरा पछि हुँदै जान्छन् ।

– तपाईंलाई विश्वासको मत दिन भनेर धेरै अफरहरू पनि आए रे ! तपाईंले किन स्वीकार नगर्नुभएको ?

पहिला सरकारका बेलामा असंसदीय र गैरकानूनी भएको कारण मन्त्री बन्न नमानेको हो । म पदका लागि आएको होइन । जिम्मेवारीमा आएको हो । सांसद बन्न आएको हो । म बार्गेनिङ गर्न आएको जस्तो लाग्छ तपाईंलाई ? म बार्गेनिङ गर्न आएको होइन भन्ने तपाईंहरूले बुझ्नुपर्‍यो । यो राजनीतिक कुरा हो, पार्टीको कुरा हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर