जनकपुरधाममा जसपा नेपालको महाधिवेशन सुरु हुँदै
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले एकताको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा आजबाट सुरु हुँदैछ । महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्नेछ ।
महाधिवेशनका लागि जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा विशाल पण्डाल निर्माण गरिएको छ । आज दिउँसो १ बजे महाधिवेशन उद्घाटन समारोह राखिएको छ । १३ सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने सो पार्टीले जनाएको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न मुलुकका प्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेताको सहभागिता रहनेछ । उद्घाटन सत्रमा सबै दललाई निम्तो गरिए पनि भर्खर विभाजन भएर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी (जसपा) लाई बोलाइएको छैन ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गरिनेछ । पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ । अध्यक्षबाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गरिनेछ ।