भोजपु्रको नागीमा मह बेचेर एकै वर्षमा किसानले एक करोड बढी भित्र्याए – Nepal Press

भोजपु्रको नागीमा मह बेचेर एकै वर्षमा किसानले एक करोड बढी भित्र्याए

भोजपुर । भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यवसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा एक करोड २० लाख बढी भित्रिएको छ । टेम्केमैयुङ गाउँपालिका-४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिकरूपमा मौरीपालन गरिरहेका छन् ।

नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका स्थान मौरीपालन हुने गरेको छ । मह आम्दानीको राम्रो स्रोत बनेको स्थानीय मौरीपालक किसान सारुहाङ राईले बताए । आफूले पालेको १८ वटा आधुनिक घारमा एक पटकमा एक सय केजीसम्म उत्पादन हुने उनले सुनाए । एक वर्षमा मौरीलाई दुईदेखि तीन पटकसम्म काढ्न सकिने भन्दै सारुहाङले स्थानीय बजारमा मह प्रतिकेजी एक हजार पाँच सयमा बिक्री हुने गरेको बताए ।

उनले भने, ‘मौरीबाट थोरै मेहनतमा राम्रो आम्दानी लिन सकिन्छ । हाम्रो क्षेत्र ५० घर बढीले व्यावसायिक रूपमा मौरीपालन गरिरहेका छौँ ।’ नागी क्षेत्रबाट एक वर्षमा एक करोड २० लाख बढीको मह उत्पादन हुने वडाध्यक्ष हर्कराज राई बताउँछन् । यो क्षेत्र प्राकृतिक हिसाबले मौरीको लागि उपयुक्त रहेको उनको भनाइ छ । भौगोलिकरूपमा अलि बढी चिसो क्षेत्र रहेकाले हिउँदको समयमा पनि मौरीपालनमा सहजता पुर्‍याउले लक्ष्यले आधुनिक माटेघार वितरण गरिरहेको उनले जानकारी दिए ।

‘हाम्रो क्षेत्रमा मौरीपालनबाट एक करोड बढी भित्रिएको अवस्था छ’, वडाध्यक्ष राईले भने, ‘यहाँका अधिकांश किसानले मौरीपालन गरिरहेका छन् । मौरीपालनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन वडाले भूमिका खेलिरहेको छ । अहिले हामीले आधुनिक माटेघार वितरणमा जोड दिएको छौँ । न्यानो हुने भएकाले माटेघारमा मौरीपालन गर्दा हिउँद समयमा मौरीलाई बचाउन सकिन्छ ।’

व्यावसायिक मौरीपालनमा लागेका किसानलाई थप प्रोत्साहन गर्न गाउँपालिका र वडासँगको सहकार्यमा करिब सात लाख ७० हजार बराबरको दुई सय आधुनिक माटेघार वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताए ।

पराम्परागत रुपमा मौरीपालन गर्दै आएको अवस्थामा गाउँपालिकाले आधुनिक प्रविधिको घार वितरणले उत्साह थपिएको स्थानीय मौरीपालक किसान शुक्रराज राईले बताउनुभयो । परम्परागत घारको तुलनामा आधुनिक घारमा मह बढी उत्पादन हुने उनले बताए । आधुनिक घारमा मह काढ्नसमेत सहज हुने भन्दै राईले स्थानीय मुढेघारको तुलनामा आधुनिक घारमा दोब्बर मह उत्पादन हुने सुनाए ।

गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । किसानलाई व्यावसायिक बनाउन उनीहरुको आवश्यकताका आधार सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन भईरहेको भन्दै उनले नागी क्षेत्र मौरीको लागि उपयुक्त रहेकाले कार्यपालिकाको निर्णयअनुसार आधुनिक घार बाँडिएको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *