भारतमा पनि गठबन्धनको सरकार बनेपछि प्रचण्डले भने- हामी दुवैलाई एकअर्काका अनुभव फलदायी हुन्छन्
काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा राजनीतिक समीकरण परिवर्तन भइरहे पनि भारतसँगको सम्बन्धलाई कुनै असर नगर्ने बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको शपथ कार्यक्रममा सहभागी हुन नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले दिल्लीस्थित दूतावासमा सञ्चारकर्मीहरुसँग आन्तरिक राजनीतिक कारणले समीकरणमा हेरफेर भए पनि परराष्ट्र नीति एउटै हुने बताए ।
उनले भने, ‘भारतका नेताहरुलाई पनि लागेको होला, नेपालमा राजनीतिक समीकरणहरु परिवर्तन भइराख्छ । त्यो परिवर्तनसँगै नेपाल-भारत सम्बन्ध पनि तलमाथि हुन्छ भन्ने परेको छ । अहिले हामी जुन समीकरणमा छौं, त्यो बन्ने बेलामा नै मैले भारतीय नेताहरुलाई प्रस्टसँग भनेको छु । आन्तरिक राजनीतिक कारणले समीकरणमा हेरफेर त हुन्छन्, तर त्यसले हाम्रो परराष्ट्र नीति र नेपाल-भारत सम्बन्धको विषयमा कुनै फरक पर्दैन भन्ने कुरा राखेको छु ।’
प्रधानमन्त्री प्रचण्डले भारतमा पनि गठबन्धनको सरकार बनेपछि दुवैलाई एकअर्काको अनुभव साटासाट गरेर अघि बढ्दा फलदायी हुने विश्वास व्यक्त गरे ।
उनले थपे, ‘भारतमा पनि अहिले राजनीतिक समीकरण नयाँ भयो । सन् २०१४ र २०१९ भन्दा फरक भयो । हामी केही वर्षदेखि गठबन्धनको सरकार चलाउँदै आएका छौं, समीकरण तलमाथि भए पनि । हामी गठबन्धनमै छौं । हाम्रो निर्वाचन प्रणालीले गर्दा पनि अझै कहिलेसम्म गठबन्धन बनाएर जानुपर्ने देखिन्छ । भारतमा पनि गठबन्धनको सरकार बन्यो, हिजो शपथ भएको पनि गठबन्धनकै सरकारको हो, त्यसले चाहिँ अझ सहज हुन्छ । हामी दुवैलाई एकअर्काका अनुभव फलदायी हुन्छन् भन्ने लागेको छ ।’