पाण्डेको पद जोगाउँदा देवकोटाको पद धरापमा, राजनीतिक दलसम्बन्धी ऐनमा यस्तो छ व्यवस्था
काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेसपाका सांसद फणीन्द्र देवकोटाको प्रदेशसभा सदस्य पद धरापमा परेको छ ।
गोरखाबाट निर्वाचित देवकोटाले माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका छन् । उनको मतले पाण्डेको पद जोगियो, तर उनको पद भने नजोगिन सक्छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ बमोजिम उनलाई माओवादी संसदीय दलको ह्वीप लाग्छ । उक्त दफामा दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिन सक्ने भनेको छ ।
सो ऐनमा जुन दलले बढी सीट प्राप्त गर्छ, त्यसको नाममा एउटामात्र संसदीय दल गठन हुने भनेको छ । त्यसअनुसार गण्डकी प्रदेशसभा सदस्य देवकोटा माओवादी संसदीय दलकै सदस्य मानिने कानूनविद्हरुको दाबी छ ।
ऐनको सोही दफाको उपदफा ४ मा विश्वासको मत दिनेलगायतका काममा दलको ह्वीप उल्लंघन गरेमा त्यस्तो सदस्यले दल त्याग गरेको मानिने प्रस्ट उल्लेख छ ।
देवकोटालाई माओवादी संसदीय दलको ह्वीप उल्लंघन गरेकोमा पार्टीले दल त्याग गरेको सूचनासहित उनलाई प्रदेशसभा सदस्यबाट हटाउन सभामुखसमक्ष सूचना दिएमा उनी पदमुक्त हुनेछन् ।