आईएलओको सम्मेलनमा भाग लिन जेनेभा उडे श्रममन्त्री अर्याल – Nepal Press

आईएलओको सम्मेलनमा भाग लिन जेनेभा उडे श्रममन्त्री अर्याल

इकोनोमी क्लासको टिकट काटेर सर्वसाधारणसँगै यात्रा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुन आइतबार जेनेभातर्फ प्रस्थान गरेका छन् । उनी जहाजको इकोनमी क्लासको टिकट लिएर सर्वसाधारणसँगै उडे ।

मन्त्रीले बिजनेस क्लासको टिकटबाट यात्रा गर्न मिल्ने व्यवस्था छ । यात्रा गरेबापत लाग्ने शुल्क सरकारले नै व्यहोर्छ । तर, नागरिकको कर अनावश्यक खर्च नगर्ने भन्दै आफू सधैँ इकोनमी क्लासबाट नै यात्रा गर्ने मन्त्री अर्यालले बताएका छन् । कर्मचारीको अनुरोधका बाबजुद आफूले साधारण नागरिकसरह यात्रा रोजेको उनले प्रष्टीकरण दिए ।

‘हाम्रै मन्त्रालयबाट अनुमति लिएर दैनिक हजारौं युवाहरू विदेश जान्छन् । उनीहरूले जस्तै सबै अवस्था भोगेर हामीले किन जान नहुने ?’ उनले भने ।

मन्त्री अर्यालले १२ जुनमा आईएलसीको पूर्ण बैठकलाई सम्बोधन गर्नेछन् । त्यस्तै, यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा समाजिक न्यायको लागि ग्लोबल गठबन्धन फोरममा सहभागिताको भ्रमण दलको सदस्यको रूपमा पनि मन्त्री अर्याल सहभागी हुनेछन् ।

सम्मेलनमा आईएलओका १८७ सदस्य राष्ट्रका प्रतिनिधिले सहभागिता जनाएका छन् । सरकार, रोजगारदाता र श्रमिकका प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाउने छन् । नेपालका तर्फबाट उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्रकुमार कुँवरले पनि सम्मेलनमा सहभागिता जनाउने छन् । आईएलओले प्रत्येक वर्ष यस्तो खालको सम्मेलन गर्दे खाएको छ । ३ जुनदेखि शुरु भएको सम्मेलन १४ जुनमा सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *