उपेन्द्रको विश्लेषण- कांग्रेस नालायकीको भारले थिचिएर थङथिलो भयो, एमाले पतनको बाटोमा छ
‘माओवादीको ढुलमुले चरित्र छ, नेताहरु ठूल्ठूला भ्रष्टाचार, कमिसनतन्त्र र जग्गा दलालीमा लिप्त छन्’
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको विश्लेषण गरेका छन् ।
जनकपुरमा आज सुरु भएको महाधिवेशनमा पेस गरेको राजनीतिक दस्तावेजमा अध्यक्ष यादवले कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकासमेत राम्ररी निभाउन नसक्ने गरी थङथिलो भएको उल्लेख गरेका छन् ।
उनले सत्तारुढ दल नेकपा एमाले दशकभित्र कम्युनिष्ट पार्टीहरू भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख रहेको उल्लेख गरेका छन् ।
प्रतिवेदनमा भनिएको छ, ‘एमालेको राजनीतिक व्यवहार र सञ्चालन गरिरहेको सरकारले यही कुरा पुष्टि गर्छ । कम्युनिष्ट पार्टीका ठूल्ठूला नेताहरू भ्रष्टाचार, कमिसनतन्त्र तथा नैतिक पतनको घटनामा लज्जास्पद ढंगले उदांगिँदैछन् ।’
उनले माओवादी केन्द्र पार्टीका नेता कार्यकर्ता ठूल्ठूला भ्रष्टाचार, कमिसनतन्त्र र जग्गा दलालीमा लिप्त रहेको विश्लेषण गरेका छन् । पछिल्लो कालखण्डमा नेकपा माओवादी केन्द्र विकृति र विसंगतिको केन्द्रको रूपमा स्थापित हुँदै गइरहेको उल्लेख गर्दै यादवले सैद्धान्तिक रूपमा आफूलाई कम्युनिष्ट भने तापनि राजनीतिक रूपमा नेकपा एमालेभन्दा खासै भिन्न नरहेको उल्लख गरेका छन् ।
उनले चिन्तन र व्यवहारमा मार्क्सवादी-लेनिनवादी-माओवादी नभई ढुलमुले, अवसरवादी चरित्र नै हावी रहेको उल्लेख गरेका छन् ।
उनले राप्रपा जनताको धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहेको शक्तिको रुपमा विश्लेषण गरेका छन् ।
प्रतिवेदनमा भनिएको छ, ‘यो पार्टीले पछिल्लो चुनावमा केही स्थान हासिल पनि गरेको छ । ‘महेन्द्रीय राष्ट्रवाद’को पैरवी गर्न राप्रपा धारले बेलाबेलामा कांग्रेस-कम्युनिष्टको असक्षमताको धमिलो पानीमा माछा मार्ने प्रयत्न गर्छ र राजतन्त्र फर्किने हल्ला पनि गर्छ । नेपाली जनताको लामो सङ्घर्ष र ठूलो बलिदानको मूल्यमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएका छन्, जबकि त्यो फर्किने कुनै सम्भावना नै छैन । तथापि यो पार्टीले छर्ने अनावश्यक भ्रमलाई चिर्न हाम्रो पार्टी निरन्तर चनाखो रहनुपर्छ ।’
राजनीतिक शक्तिबारे उपेन्द्रको विश्लेषण अंश
लोकतान्त्रिक शासन व्यवस्थामा शक्तिको आधार राजनीतिक दल हुन राजनीतिक दलहरूको निश्चित सोच, विचार, एजेण्डा र दृष्टिकोणको पैरवी गरिरहेका हुन्छन् । नागरिकको समर्थन र झुकाव जुन दलतिर ढल्किन्छ, सोहीबमोजिमको सामाजिक, राजनीतिक तथा आर्थिक प्रणाली स्थापित हुँदै जाने सम्भावना रहन्छ । अतः दलहरूको उपस्थिति, विचार र भूमिकाबारे प्रस्ट धारणा बनाउन आवश्यक हुन्छ ।
क) नेपाली कांग्रेस
वैचारिक दृष्टिकोणले नेपाली कांग्रेस ‘उदार लोकतान्त्रिक’ धारको नेतृत्व गर्ने पार्टी हो । औपचारिक तवरले दस्तावेजमा ‘प्रजातान्त्रिक समाजवाद’ लेखे पनि २०४६ सालपश्चात् उसको कुनै पनि व्यवहार र एजेन्डाले कांग्रेस समाजवादी दल नभएको पुष्टि गर्छ । २०४६ सालपछि कांग्रेस नेतृत्वमा सरकार बन्यो र उसले आफ्ना नीतिह󠄍रू पूँजीवादी बजार अर्थतन्त्रको पक्षमा लक्षित गर्दै गयो । नेपाली कांग्रेस विश्वव्यापीकरण, निजीकरण, खुला बजारमा आधारित अर्थ व्यवस्था र आर्थिक उदारीकरणको पक्षमा उभियो । नेपाली कांग्रेस अर्थतन्त्रलाई बजारमा खुला छोडिदिनु पर्छ र यसमा कुनै किसिमको नियन्त्रण हुनुहुँदैन भन्ने मान्यता राख्छ । सन् १९९० को नवउदारवादको विश्वव्यापी लह󠄍रले कांग्रेसलाई ‘प्रजातान्त्रिक समाजवाद’को अवधारणाबाट बाहि󠄍रिन सहज बनाइदियो । यो धारसँग हाम्रो पार्टीको मिल्ने विषय भनेको नागरिक स्वतन्त्रता र बहुदलीय व्यवस्थामात्र हो । अरू सबै कुरामा यो पार्टीभन्दा हामी फरक छौं ।
यो पार्टी हिजो संवैधानिक राजतन्त्रको पक्षधर थियो । परिस्थितिवश लतारिएर गणतन्त्रसम्म आयो, तर हामी सिद्धान्तले नै गणतन्त्रवादी हौं । गणतन्त्र जस्तै यो हिजो सङ्घीयता र समावेशीताको विरूद्धमा थियो । अनिच्छावश मान्न बाध्य भयो, तर हामी वैचारिक प्रतिबद्धताकै दृष्टिकोणले सङ्घीयता र समावेशीताको पक्षमा छौं । धर्मनिरपेक्षता हाम्रो वैचारिक प्रतिबद्धता हो । नेपाली कांग्रेसका कैयौं नेताहरू अहिले पनि सार्वजनिक रूपमा नै यसका विरूद्धमा रहेका छन् । यो पार्टीले संसदीय लोकतन्त्रलाई आफ्नो अडान बनाएको छ । संविधानसभाले संविधान बनाउँदा प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको व्यवस्था हुन नसक्नुको कारण कांग्रेसको यो अडान पनि थियो । यो पार्टी उत्पीडित जनताको मुक्ति, पहिचान र अधिकारको विपक्षमा छ । सङ्घीय प्रणालीको सही मोडल अर्थात् पहिचानमा आधारित स्वायत्ततासहितको सङ्घीय प्रणाली हुन नसक्नुमा कांग्रेसको ठूलो हात छ ।
कांग्रेस सहभागितामूलक, समावेशी समानुपातिक लोकतन्त्रको विरूद्धमा उभिने गरेको छ । यो पार्टीको सरकारले नै नेपालमा निरपेक्ष निजीकरण र उदारीकरण सुरू गरेको थियो । राष्ट्रिय उद्योगधन्दाहरू समाप्त पार्ने, कृषि अनुदान कटौती गर्ने, कृषि प्रधान देशलाई कृषि वस्तुमै परनिर्भर आयातकर्ता बनाउने, श्रम निर्यात गर्ने बाँकी सबै वस्तुहरू विदेशबाट आयात गर्ने, देशलाई निरन्तर व्यापार घाटामा पार्ने, शिक्षा र स्वास्थ्यको अति व्यापारीकरण तथा माफियाकरण गर्ने, भूव्यवस्थाको व्यापारीकरणमार्फत् अव्यवस्थित शहरीकरण र शहरी सुकुमबासी समस्या सिर्जना गर्ने, नियामक संस्थाहरूको भूमिका कमजोर पार्ने, जताततै मूल्य कार्टेलिङ र सिन्डिकेटलाई प्रश्रय दिने, ठेक्कापट्टा र राजकीय स्रोतहरूमा निश्चित वृत्तलाई मात्र पोस्ने र कमिसनतन्त्रलाई बढावा दिने जस्ता प्रवृत्तिहरू कांग्रेसले संस्थागत गरेको हो ।
कांग्रेसको शासनकालमा लाउडा, घमिजा, सुडान जस्ता ठूल्ठूला भ्रष्टाचार काण्डहरू भए, तर कहिल्यै विश्वसनीय छानबिन भएन । सुशासनको सवालमा यो पार्टीको प्रतिबद्धता व्यवहारमा देखिएन । आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ । प्रमुख प्रतिपक्षको भूमिकासमेत राम्ररी निभाउन नसक्ने गरी थङथिलो भएको छ । तथापि यो पार्टीको देशभरि फैलिएको संगठन र परम्परागत जनमत छ । वैकल्पिक लोकतान्त्रिक तथा समाजवादी दलको अभावमा राजावादी र कम्युनिष्टलाई भोट दिन नचाहने जनमतले यो पार्टीलाई भोट दिँदै आएको छ । हाम्रो पार्टीले यो जनमतमाथि उल्लेखनीय हस्तक्षेप गर्नुपर्छ । वैकल्पिक लोकतान्त्रिक शक्तिको उदय भइसकेको सन्देश दिनुपर्छ । तथापि नेपाली कांग्रेस उदारवादी लोकतान्त्रिक शक्ति भएकाले लोकतन्त्र, राष्ट्रियता र विकासको सवालमा हाम्रो पार्टीले सहकार्य गर्न सक्छ ।
ख) नेपाल कम्युनिष्ट पार्टी एमाले
नेपाल कम्युनिष्ट पार्टीको स्थापना साम्राज्यवादविरूद्ध सङ्घर्ष, सामन्तवादको अन्त्य, जहानियाँ राणा शासनको अन्त्य, जनवादी गणतन्त्रको स्थापना सँगै जनवाद, समाजवाद हुँदै साम्यवादी लक्ष्य प्राप्तिको लागि सङ्घर्ष गर्ने उद्देश्यबाट भएको थियो, तर सन् १९९० को दशकमा सोभियत संघको पतनपछि एमालेले ‘जनताको बह󠄍ुदलीय जनवाद’ मार्फत् परम्परागत संसदीय प्रणालीको बाटो समात्यो । ‘एकैसाथ संसदवादी’ र कम्युनिष्ट बन्ने अन्तरविरोधपूर्ण बाटोमा अग्रसर भएको छ । पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्यहरू विश्वव्यापी रूपमा असफल भएपछि नेपाली कम्युनिष्ट आन्दोलन कुहिरोको काग जस्तै भएको छ, एकातिर उनीहरू मार्क्सवाद-लेनिनवाद-माओवादप्रति शब्दनिष्ठा व्यक्त गर्न छाडेका छैनन् भने अर्कोतिर यी विचारको सान्दर्भिकता र प्रयोगबारे उनीहरूमा व्यापक अन्योल, अविश्वास, निराशा र हीनताबोध छ । यही वैचारिक संकटबीच उनीह󠄍रूले आफूलाई ‘दार्शनिक तथा वैचारिक कम्युनिष्ट नभएर केवल राजनीतिक रूपमा मात्र कम्युनिष्ट’ भएको बुझिदिन आग्रह गर्दै आएका छन् ।
एकातिर लोकतन्त्रप्रतिको आफ्नो निष्ठामा शंका नगर्न अनुनय-विनय गर्छन् भने ‘अर्कोतिर कम्युनिष्ट-कम्युनिष्ट’ को नाममा सामीप्यता र आडभरोसा खोज्न पनि छोडेका छैनन् । एक दलीय सर्वहारा राज्य वा कम्युन प्रणालीलाई मौका पर्ने बित्तिकै गौरव पनि गर्छन् । यसरी नेपालको कम्युनिष्ट आन्दोलन वैचारिक रूपले अँध्यारो सुरूङभित्रको यात्रा गरिरहेको छ । हामीले यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने दार्शनिक, वैचारिक रूपमा अन्योलग्रस्त र नैतिक रूपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रूपमा मात्र लामो समय बलियो भइरहन सक्दैन ।
आउँदा केही वर्ष वा दशकभित्र कम्युनिष्ट पार्टीहरू भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ । एमालेको राजनीतिक व्यवहार र सञ्चालन गरिरहेको सरकारले यही कुरा पुष्टि गर्छ । कम्युनिष्ट पार्टीका ठूल्ठूला नेताहरू भ्रष्टाचार, कमिसनतन्त्र तथा नैतिक पतनको घटनामा लज्जास्पद ढंगले उदांगिँदैछन् । आर्थिक क्षेत्रमा उदारवाद, नवउदारवादी नीतिलाई नै निरन्तरता दिइरहेको छ । शिक्षा र स्वास्थ्यको व्यापारीकरण कम्युनिष्ट नेतृत्वको सरकारमा पनि रोकिएको छैन । सम्पत्ति शुद्धीकरण आयोगलाई निष्क्रिय बनाउने तथा ठूला आयोजनाहरू विनाटेन्डर सीधै सम्झौता गर्न सक्ने प्रकरणको भित्री रहस्य कालो धन र कमिसनतन्त्रसँगको साँठगाँठ हो भन्ने कुरामा कुनै शंका छैन ।
निर्दलीय व्यवस्थाका पञ्चहरूभन्दा पनि तल्लोस्तरका क्रियाकलाप र चरित्रको प्रदर्शन नेपाली कम्युनिष्टहरूले गरिरहेका छन् । वर्तमान संविधान जारी गर्दा बखत कांग्रेससँग मिलेर मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिम, खस-आर्य, दलित, महिला, पिछडा वर्ग आदि आन्दोलनलाई निर्मम रूपले दमन गर्ने, संसदीय शासकीय प्रणाली कायम राख्ने, पहिचान र सामर्थ्यका आधारमा राज्य पुनर्संरचना हुन नदिने नेकपा एमालेको प्रत्यक्ष संलग्नता रहेको छ, ‘कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणको नाममा नेकपा एमाले नेपाली कांग्रेस जस्तै औपचारिक-प्रतिनिधिमूलक संसदीय लोकतन्त्र/उदारवादी लोकतन्त्रको पक्षपाती बन्न पुगेको छ । आफूलाई पहिचान, समानुपातिक समावेशी, सहभागितामूलक तथा प्रत्यक्ष लोकतन्त्र र राष्ट्रिय/जातीय, वर्गीय, लैङ्गिक मुक्तिको विरूद्धमा उभ्याएको छ । यस्तो प्रवृत्तिविरूद्ध हाम्रो पार्टीले तीव्र वैचारिक तथा राजनीतिक सङ्घर्ष गर्नुपर्छ । कम्युनिष्ट समर्थक र तल्लो तहका इमानदार कार्यकर्ता पंक्तिलाई प्रशिक्षित गर्दै समाजवादी लोकतन्त्र/समाजवादी लोकतन्त्रको मार्गचित्र र कार्यदिशाबारे प्रशिक्षित गर्दै ध्रुवीकृत गर्ने प्रयास गर्नुपर्छ ।
ग) नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र
नेपाल कम्युनिष्ट पार्टी माओवादीले १० वर्षे जनयुद्धमार्फत प्रारम्भिक कालको जनवादी गणतन्त्र नेपाल स्थापना गर्ने उद्देश्यलाई स्थगन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्वपूर्ण योगदान गर्यो । पछि मार्क्सवाद, लेनिनवाद र माओवाद मार्गदर्शक सिद्धान्त र सर्वहारा श्रमिक वर्गको अग्रस्तरता भन्दै विस्तारै विस्तारै उदारवादी लोकतान्त्रिक संसदीय प्रणालीलाई नै व्यवहारमा अपनाउन पुगे । संसदीय निर्वाचनमा आफ्नो स्थिति अत्यन्त कमजोर ह󠄍ुने देखेर बाध्य भई नेकपा एमालेसँग मिलेर चुनाव लड्यो । त्यसपछि दुवै पार्टी एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी नेकपा हुन पुगे, पछि सत्ता स्वार्थ र नेतृत्वको बीचको आन्तरिक द्वन्द्वका कारण यो एकता टिक्न सकेन र फुटेर नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बनाइ स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा नेपाली कांग्रेससँग मोर्चाबन्दी गरी चुनाव लड्यो ।
यो पार्टीले आफूलाई सर्वहारा वर्गको पार्टी भने तापनि वास्तवमा पार्टीको आशा र विश्वास देखिन्न । कम्युनिष्ट-माओवादी नामको खोलभित्र रहेका विकृति निम्न पूँजीवादी चरित्र बोकेको पार्टी हो । चिन्तन र व्यवहारमा मार्क्सवादी-लेनिनवादी-माओवादी नभई ढुलमुले, अवसरवादी चरित्र नै हावी रहेको छ । यस पार्टीका नेता-कार्यकर्ता ठूल्ठूला भ्रष्टाचार, कमिसनतन्त्र र जग्गा दलालीमा लिप्त छन् । पछिल्लो कालखण्डमा नेकपा माओवादी केन्द्र विकृति र विसंगतिको केन्द्रको रूपमा स्थापित हुँदै गइरहेको छ । यो पार्टीले सैद्धान्तिक रूपमा आफूलाई कम्युनिष्ट भने तापनि राजनीतिक रूपमा नेकपा एमालेभन्दा खासै भिन्न देखिँदैन ।
घ) राष्ट्रिय प्रजातन्त्र पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी पुरातन सम्बर्द्धनवादी धारको प्रतिनिधि पार्टी हो । यो पार्टी सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षतालाई अन्त्य गरी वंशानुगत राजतन्त्रात्मक शासन प्रणलीको पुनःस्थापना गर्न चाहन्छ । राप्रपाले आफूलाई राजावादी, हिन्दू राष्ट्रवादी पार्टी भन्न रूचाउँछ । पुराना शासक वर्ग र परिवार, राणा, शाह र पञ्चायती शासनका हर्ताकर्ता पञ्चहरूको राजनीतिक रक्षा कवचका रूपमा यो पार्टीको उदय भयो । जनताको धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहेन । यो पार्टी पछिल्लो चुनावमा केही स्थान हासिल पनि गरेको छ ।
‘महेन्द्रीय राष्ट्रवाद’को पैरवी गर्न राप्रपा धारले बेलाबेलामा कांग्रेस-कम्युनिष्टको असक्षमताको धमिलो पानीमा माछा मार्ने प्रयत्न गर्छ र राजतन्त्र फर्किने हल्ला पनि गर्छ । नेपाली जनताको लामो सङ्घर्ष र ठूलो बलिदानको मूल्यमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएका छन् जबकि त्यो फर्किने कुनै सम्भावना नै छैन । तथापि यो पार्टीले छर्ने अनावश्यक भ्रमलाई चिर्न हाम्रो पार्टी निरन्तर चनाखो रहनुपर्छ ।
च) अन्य दलहरू
उपरोक्त दलहरूबाहेक पनि नेपालमा केही दलहरू छन् । जस्तै कम्युनिष्ट घेराभित्रै नेकपा एकीकृत समाजवादी, नेकपा मसाल, नेकपा (विप्लव), नेमकिपा, माले आदि । यी दलहरू वा त शास्त्रीय साम्यवादको धङधङीबाट ग्रस्त छन् त नेकपा एमालेकै उपग्रही विचार बोक्छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जस्ता नयाँ दलहरूले विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीति नभएको चिन्ता व्यक्त गर्दैछन् ।
यो सकारात्मक कुरा नै हो, तर यी दलका विचार के हो र के कस्ता ऐजेण्डा बोक्ने हुन्, त्यो प्रस्ट छैन । केही नयाँ गरौं भन्ने हुटहुटीले यी दल बनेका हुन सक्छन् । यिनीहरूलाई धैर्यतापूर्वक बुझ्ने, पर्खने गर्नुपर्छ । यसका साथै गलत बाटोतर्फ नजाऊन् भनेर वैचारिक सङ्घर्ष पनि जारी राख्नुपर्छ ।