प्रचण्ड सरकारले पार्टी फुटाइदिएको उपेन्द्रको आरोप, मधेशी दलहरूलाई कार्यगत एकताको प्रस्ताव – Nepal Press

प्रचण्ड सरकारले पार्टी फुटाइदिएको उपेन्द्रको आरोप, मधेशी दलहरूलाई कार्यगत एकताको प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राजकीय स्रोत, साधन र शक्तिलाई दुरूपयोग गरी आफ्नो पार्टी फुटाइदिएको आरोप लगाएका छन् । जनकपुरमा आजबाट सुरू महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सरकारले पार्टी विभाजन गराएपछि अहिले आफूहरू प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गरेका छन् ।

संघीय सरकारमा फेरबदल हुनेबित्तिकै प्रदेश सरकारहरूमा उथलपुथल एवं सरकार परिवर्तन हुने कार्यले गर्दा राज्य झन् अस्थिर भएको उनको बुझाइ छ ।

प्रतिवेदनमा भनिएको छ, ‘तर पनि प्रदेश सरकारका कार्यहरूले जनता उत्साहित र लाभान्वित नै भएका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न प्रतिगमनलाई परास्त गर्न, सुशासन र विकास कार्यलाई अगाडि बढाउन, हाम्रो पार्टी सडकका साथै संसद् र सरकारमा सहभागी भई सङ्घर्षलाई निरन्तर जारी राख्नुपर्दछ । सडक, संसद् र सरकार तीनवटै हाम्रा लागि सङ्घर्षकै मोर्चा हुन्, यसलाई समय सापेक्ष जनहितमा उपयोग गरिनुपर्दछ ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशीता, सुशासन, पहिचान, धर्मनिरपेक्षता, सामाजिक न्यायका पक्षधर र समाजवादी शक्तिहरू, सिद्धान्त, विचार र नीति मिल्ने दलहरूसँग एकीकरण अथवा पार्टी एकता गर्ने नीति अगाडि सारेको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘राजनीतिक मुद्दा मिल्ने तर सिद्धान्त, विचार नमिल्ने दलहरूसँगका सङ्घर्षको प्रकृति हेरी संयुक्त मोर्चा वा कार्यगत एकतामा आबद्ध गर्नुपर्दछ । हामीले सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र विरोधी वा परिवर्तनका बाधक शक्तिहरूलाई एकल्याउन र त्यसको विरूद्ध सबै राजनीतिक शक्तिहरूलाई मोर्चामा आबद्ध गर्न सक्नुपर्दछ ।’

मधेशी, आदिवासी जनजातिका मुद्दा उठाउने दलहरूसँग छुट्टै प्रादेशिक/राष्ट्रिय मोर्चा बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘मधेशमा छरिएर रहेका पहिचान, समावेशीता, सङ्घीयता, सामाजिक न्यायका पक्षधर दलहरूबीच सहकार्य अथवा कार्यगत एकता गरी अगाडि बढ्नुपर्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *