कस्तो छ देशको अर्थतन्त्र ? हेरौं १० सूचकमा – Nepal Press

कस्तो छ देशको अर्थतन्त्र ? हेरौं १० सूचकमा

काठमाडौं । नेपालको अहिलेको अर्थतन्त्रको वास्तविक अवस्था कस्तो छ भन्ने चासोको विषय बनेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (२०८०/८१) को १० महिनाको देशको वर्तमान आर्थिक अवस्था प्रतिवेदनले बाह्य क्षेत्रमा र आन्तरिक अर्थतन्त्र पनि केही सुधार भएको देखाएको छ ।

बाह्य क्षेत्रको उच्च सुधारसहित मूल्य वृद्धि निकै कम रहेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । यहाँ १० वटा सूचकमा देशको अर्थतन्त्र कस्तो अवस्थामा छ भनेर देखाउन खोजिएको छ ।

न्यून महंगी

नेपालको महंगी अहिले निकै कम रहेको तथ्यांक केन्द्रिय बैंकसँग छ । वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ । जबकी गत वर्ष यस्तो महंगी ७.४१ प्रतिशत थियो । गत वर्षको तुलनामा अहिलेको उपभोक्ता महंगी निकै कम हो । सरकारले चालु वर्ष महंगी साढे ६ प्रतिशत भित्र राख्ने लक्ष्य लिएको छ । महंगी नियन्त्रणमा सरकारले लक्ष्य हासिल गर्ने देखिएको छ ।

झण्डै १२ खर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको १० महिनामा झण्डै १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । केन्द्रिय बैंकको तथ्यांकले ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखाएको हो । यो भनेको १९.२ प्रतिशतको बृद्धि हो । चालु वर्ष मासिक औषत १ खर्ब १९ अर्ब ८८ करोड रेमिट्यान्स भित्रिएको देखिन्छ ।

चालू खाता करिब २ खर्ब बचतमा

चालू आर्थिक वर्षको १० महिनासम्मा चालु खाता १ खर्ब ९३ अर्ब २५ करोड रुपैयाँले बचतमा रहेको छ । जबकी अघिल्लो वर्षको यही अवधिमा चालु खाता ६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको हो ।

निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारको सारांश नै चालु खाता सन्तुलन हो । चालु खाता घाटा वा बचतमा रहन सक्छ । चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालु खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ । चालु खाताअन्तर्गत वस्तु तथा सेवा व्यापार खाता, आम्दानी खाता र ट्रान्सफर खाता रहेका हुन्छन् ।

सोधानान्तर स्थिति करिब ४ खर्ब बचतमा

नेपालको सोधानान्तर स्थितीपनि करिब ४ खर्ब बचतमा रहेको छ । चालु आवको बैशाख मसान्तसम्म शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९ अर्ब ४९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति यो अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको छ । शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा बाह्य प्रवाह बढी हुन जान्छ ।

विदेशी विनिमय सञ्चिती साढे १९ खर्ब नजिक

कुनै बेला टाउको दुखाइको विषय बनेको विदेशी विनिमय सञ्चिती अहिले साढे १९ खर्ब नजिक पुगेको छ । यो वर्षको १० महिनामा कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले बढेर १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमायस्तो सञ्चिती १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर सञ्चिती थियो । चालु वर्षमा मात्रै ४ खर्ब ३ अर्ब ४ करोड रुपैयााँ विदेशी मुद्रा सञ्चिती थपिएको छ । आर्थिक वर्ष २०८०/८१ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

सरकारी खर्चमा ०.९ प्रतिशतले बृद्धि

चालु आवको दश महिनामा नेपाल सरकारको कुल खर्च १० खर्ब ५६ अर्ब ८९ करोड रुपैयाँ भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो दश महिनामा १५.३ प्रतिशतले वृद्घि भएको थियो । तर यो वर्ष ०.९ प्रतिशतले मात्र सरकारी खर्चमा बृद्धि भएको देखिन्छ । नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) ८ खर्ब ३१ अर्ब ९३ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो दश महिनामा १२.६ प्रतिशतले घटेको राजस्व यो अवधिमा १०.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व ७ खर्ब ४६ अर्ब ८३ करोड र गैर कर राजस्व ८५ अर्ब १० करोड परिचालन भएको छ ।

आन्तरिक कर्जाको वृद्धिदर खुम्चियो

दश महिनामा कुल आन्तरिक कर्जा २.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५.७ प्रतिशतले बढेको थियो । बैकिङ प्रणालीमा अत्यधिक लगानी योग्य रकम हुँदा समेत कर्जा प्रवाहको बृद्धिदर खुम्चिएको छ । कर्जा प्रवाहको बृद्धिदर खुम्चनुले आर्थिक गतिविधिमा अझै पनि शिथिलता कायमै रहेको संकेत गर्छ ।

बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६८.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । गत बैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.१ प्रतिशत र ६७.३ प्रतिशत रहेको थियो ।

निक्षेपमा वृद्धि

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४ खर्ब ४३ अर्ब ८ करोड (७.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ खर्ब७० अर्ब ७८ करोड (७.३ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.८ प्रतिशतले बढेको छ । बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.० प्रतिशत, २९.१ प्रतिशत र ५९.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.७ प्रतिशत, २५.८ प्रतिशत र ५९.९ प्रतिशत रहेको थिया

सेयर बजारमा सामान्य करेक्सन

गत वर्षको बैशाख मसान्तमा १८२१.६५ रहेको नेप्से सूचकाङ्क २०८१ बैशाख मसान्तमा १९९८.८९ कायम भएको छ । यो अवधिमा धितोपत्र बजार पँुजीकरण ३१ खर्ब ६९ अर्ब ४८ करोड कायम भएको छ । जबकी गतवर्षको वैशाख मसान्तसम्म बजार पुँजीकरण २६ खर्ब ५७ अर्ब ७६ करोड रहेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् ।

कर्जा र निक्षेपको ब्याजदर कम

यो (२०८१) वैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.३५ प्रतिशत, विकास बैंकहरुको ७.३१ प्रतिशत र वित्त कम्पनीहरुको ८.५५ प्रतिशत रहेको छ । गत वर्ष वैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.०८ प्रतिशत कायम भएको थियो । त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २बैशाखमा वाणिज्य बैंकहरुको १०.३४ प्रतिशत, विकास बैंकहरुको ११.८९ प्रतिशत र वित्त कम्पनीहरुको १३.११ प्रतिशत रहेको छ । गत बैशाखमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *