सामाजिक सुरक्षा भत्ता असार ८ गतेसम्म विद्युतीय माध्यमबाट भुक्तानी गरिसक्न सरकारको परिपत्र – Nepal Press

सामाजिक सुरक्षा भत्ता असार ८ गतेसम्म विद्युतीय माध्यमबाट भुक्तानी गरिसक्न सरकारको परिपत्र

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको अन्तिम त्रैमासिक सामाजिक सुरक्षा भत्ता आगामी असार ८ गतेसम्म विद्युतीय माध्यमबाट वितरण गरिसक्न स्थानीय तहलाई परिपत्र गरेको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै आगामी असार १ देखि ८ गतेसम्म विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिसक्न परिपत्र गरेको हो ।

विभागको सामाजिक सुरक्षा शाखाले गरेको परिपत्र अनुसार कोशी प्रदेशका स्थानीय तहले असार ५ गते, मधेश प्रदेशका स्थानीय तहले असार ६ र ७ गते, बागमती प्रदेशका स्थानीय तहले असार ८ गते र गण्डकी प्रदेशका स्थानीय तहले असार १ गते सामाजिक सुरक्षा भत्ता भुक्तानी दिइसक्नुपर्नेछ ।

यस्तै लुम्बिनी प्रदेशका स्थानीय तहले असार २ गते, कर्णाली प्रदेशका स्थानीय तहले ३ तीन गते र सुदूरपश्चिम प्रदेशका स्थानीय तहले असार ४ गते सामाजिक सुरक्षा भत्ता रकम भुक्तानी गरिसक्नुपर्ने विभागका निर्देशक एवम् सामाजिक सुरक्षा शाखा प्रमुख शिवराज सेढाईंले जानकारी दिए ।

विभागले २०८१ असार १ देखि ८ गतेसम्म सबै सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको विवरण सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीबाट सीजीएएसमा पठाउनुका साथै कार्यालय समयमा प्रणालीमा अत्याधिक लोड पर्ने हुँदा उक्त कार्य अन्य समयमा गर्न प्राथमिकता दिन अनुरोध गरेको छ ।

सामाजिक सुरक्षा भत्ताको विवरण सीजीएएसमा पठाउन पहिले सबै लाभग्राहीको विवरण बैंक खातासँग रुजु गरी भ्यालिडेट हुन नसकेको अवस्थामा लाभग्राहीको विवरण सामाजिक सुरक्षा प्रणाली एवं बैंकमा समेत आवश्यक संशोधन गरी भत्ता भुक्तानी हुने एकिन गर्न पनि परिपत्रमार्फत भनेको छ ।

चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता रकम अपुग भई माग भएका स्थानीय तहको हकमा थप भत्ता रकम अर्थ मन्त्रालयबाट निकासा हुने प्रक्रियामा रहेकोले सामाजिक सुरक्षा शीर्षकमा बाँकी रहेको भत्ता रकमले जो जति लाभग्राहीलाई भुक्तानी गर्न पर्याप्त हुन्छ भुक्तानी गर्न पनि विभागले भनेको छ । चालू आर्थिक वर्ष २०८०-८१ को पहिलो, दोस्रो र तेस्रो त्रैमासिक देखि चरणवद्ध रुपमा सामाजिक सुरक्षा भत्ता विद्युतीय माध्यमबाट भुक्तानी भइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *