‘श्रमाधान मेला’ मा काम खोज्दै आएका युवा भन्छन्- आश छ, भर छैन (भिडिओ) – Nepal Press

‘श्रमाधान मेला’ मा काम खोज्दै आएका युवा भन्छन्- आश छ, भर छैन (भिडिओ)

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिकाका आईमाङ तामाङ पाटन बहुमुखी क्याम्पसमा भइरहेको श्रमाधान रोजगार मेलाको भिडमा भौतारिरहेका थिए । हातमा १०/१२ वटा कम्पनी तथा संस्थाहरूका ब्रोडसीट बोक्दै स्टल चहारिरहेका ३८ वर्षका आईमाङ काठमाडौंमा केही दिनअघिको सीप मेलाका लागि आएका हुन् ।

सीप मेलाबाट उनीसहित दर्जन युवा पाटन पुगेका हुन् । श्रमाधान रोजगार मेलामा करिब १ घण्टासम्म सबै स्टलहरूमा धाएपनि काम पाउने सम्भावना नदेखेको उनले सुनाए ।

तामाङ भन्छन्, ‘मेलामा केबल नम्बर राख्ने, इमेल पठाउनु र फोनकल आउँछ भन्ने बाहेक केही देखिन । यस्ता आश्वासनका लागि किन यत्रो मेला आयोजना गर्नु ?’

तामाङ दुई दशकअघि १९ वर्षको उमेमा वैदेशिक रोजगारका लागि मलेसिया गएका थिए । नेपाल फर्केर पुन: मलेसिया त्यसपछि साउदी र माल्दिभ्स पनि गए । ऊर्जाशील अधिकांश समय विदेशमा काम गरेर बिताएका उनी नेपालमा खासै सम्भावना नदेखेको सुनाउँछन् ।

उनी भन्छन्, ‘यत्रो वर्ष विदेशमा बित्यो । नेपालमा फर्केर पनि यहाँ काम नै पाइँदैन । त्यही काम पाइए पनि १५/२० हजारमात्रै तलबको पाइन्छ । १५/२० हजारले आजको दिनमा के हुन्छ ? खान र लगाउन पनि पुग्दैन । यो मेलाबाट पनि केही पाइने होइन त्यत्तिकै चित्त बझाउन मात्रै आएका हौँ । अब विदेशतिर जाने हो । यहाँबाट जोर जबरजस्ती रोजगार पाए पनि त्यही १८/२० हजारको मात्रै मिल्ने हो । त्यसले केही पनि हुँदैन । २/३ वर्षमात्रै बाँकी छ विदेश जान मिल्ने । त्यही भएर २/३ वर्ष बाहिरै जानुपर्छ जस्तो लाग्छ ।’

ललितपुर गोदावरीका सुमन मगरातीले फोनमा बजिरहेको ‘कलर ब्याक टोन’ बाट श्रमाधान रोजगार मेलाको सूचना पाएका थिए । उनले अनलाइनबाट मेलाको आवेदन भरेर पहिलो दिन अर्थात् आज मेलामा रोजगार पाइने आशामा आएको सुनाए ।

श्रमाधान रोजगार मेलामा सुमनले आधा दर्जन कम्पनी तथा संस्थाका स्टलमा नाम टिपाइसकेका छन् । बैङ्क तथा फाइनान्सियल सेक्टरमा रोजगारीका लागि आशा गरेको सुमनले तर, भर नभएको उनको भनाइ छ ।

सुमनले भने, ‘श्रमाधान रोजगार मेलाको आशा छ तर, भर छैन । मेलाको आयोजना राम्रै रहेको तर, रोजगारी दिन सक्छ कि सक्दैन भन्ने कुरा हो । हेरौँ रोजगार पाइन्छ कि पाइँदैन । आशा त छ तर, भर छैन ।’

रोजगारका लागि आवेदन भरेको मात्र अनुभव भएको भन्दै त्यहीँ भेटिएका तिलक भण्डारीले काम पाइने कुरामा विश्वास नरहेको बताए ।

कृतिपुरमा बस्दै आएका तिलक भण्डारी भन्छन्, ‘आधा दर्जन बढी ठाउँमा कामका लागि अप्लाइ गरिएको छ । फोन आउँछ भनिएको छ । तर, विश्वास भने छैन । बेरोजगारहरू आशावादी छन् । यसले काम दिन सक्छ कि सक्दैन हेरौं ।’

नयाँ बानेश्वरमा बस्दै आएका विनोद विक फेसबुकमा श्रमाधान रोजगार मेलाको पोष्ट देखेपछि आशा बोकेर आएको बताउँछन् ।  मेलामा राखिएका सबै स्टलहरूमा बुझिसकेपछि आफू अनुकूलको काम पाएको तर, त्यसका लागि अनुभव चाहिएकोले निराश भएको विनोदले सुनाए ।

विनोद भन्छन्, ‘हामी पढ्ने विद्यार्थीले अनुभव कहाँबाट ल्याउने ? कतै स्नातक तह पास गरेको कर्मचारी मागिरहेको छ । कतै २/३ वर्ष अनुभव मागिरहेको छ । त्यस बाहेक पनि कक्षा १२ र १० पास गरेका विद्यार्थीहरूलाई पनि जब सेन्टरहरूले काम खोजिदिन्छौं भनेर नाम र इमेल टिपाइरहेका छन् । आफूले पढे अनुसारको काम पाएर आफ्नो भविष्यलाई अगाडि बढाउन पाए हुन्थ्यो भन्ने आशा हो । यो सबै आशा मात्रै हो जस्तो लाग्छ । जताततै हेर्दा २/४ जना मात्रै कामदार मागेको छ । कुनै काम नै भेटिन्छ भन्ने पनि छैन । मन्त्रालयले मेला आयोजना गर्‍यो । यस्तो मेलामा सबै काम खोज्नकै लागि आउने हुन् । त्यसैले काम नै लगाइदिने गरी मेलाको आयोजना गरिनुपर्थ्यो । इमेल गर्नु, ह्वाट्सएप गर्नु, सीभी पठाउनु भन्यो । तर, भोलिको दिनमा कतै कुनै प्रतिक्रिया आएन भने, मेलामा आएको औचित्य नै भएन ।’

भिडिओ : नविनमुनी स्थापित ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर