किरणको सयौँ खेलमा सञ्जीव र जेलेप्सीको गोल उपहार, अन्तिम खेलमा नेपाललाई अंक – Nepal Press

किरणको सयौँ खेलमा सञ्जीव र जेलेप्सीको गोल उपहार, अन्तिम खेलमा नेपाललाई अंक

दम्माम। विश्वकप फुटबल २०२६ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले यमनसँग २-२ गोलको बराबरी खेलेको छ।

दम्मामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा भएको खेलमा नेपालका लागि सञ्जीव विष्ट र जेलेप्सीजङ कार्कीले गोल गरे। अन्तिम समयमा गोल बेहोरेपछि नेपालको जित टरेको थियो।

दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा यमनका मोहम्मद अब्दुल्लाह अल दाहीले गोल गर्दै यमनको हार टारेका हुन्। उनले क्रसमार्फत आएको बलमा डी बक्सभित्रबाट ट्यापिङ गर्दै गोल गरेका थिए।

त्यसअघि खेलमा सुरुवाती अग्रता यमनले लिएको थियो। नवौँ मिनेटमा प्राप्त पेनाल्टीमा नासर अहमद अल गवासीले गोल गरेका थिए। तर २२ औँ मिनेटमा सञ्जीवले आकर्षक गोल गर्दै खेल बराबरीमा ल्याए।

विपक्षी डिफेन्डरबाट बल खोस्दै दौडको गति बढाएका सञ्जीवले डी बक्सभित्र पुर्याएर प्रहार गरी गोल गरेका थिए। जेलेप्सीले ६६ औँ मिनेटमा हेडमार्फत गोल गरेपछि नेपालले पुन अग्रता लिएको थियो।

एसियाली छनोटको दोस्रो चरणमा नेपालले पहिलो पटक गोल गरेको हो भने अंक पनि पहिलो पटक प्राप्त गरेको हो। नेपालले अघिल्ला ५ खेलमा १८ गोल बेहोरेको थियो भने सबैमा हार पनि बेहोरेको थियो। खेलपछि नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नेपाली टोलीले सुरुवातदेखि नै ध्यान दिएर खेलेको बताए।

‘यो टिमले निकै राम्रो गर्न सक्छ। म आशा गर्छु कि यो टिमका कुनै पनि खेलाडी अब विदेश नजाउन्’, खेलपछि आयोजित पोस्ट म्याच कन्फेरेन्समा प्रशिक्षक एनेसेले भने। बलियो टोली बहराइनसँग केही दिनअघि बराबरी खेलेको यमनसँग प्राप्त नतिजामा उनले खुसी व्यक्त गरे।

यस्तै यमनका प्रशिक्षक नौरेदिन औल्ड अलीले नेपाली टोलीको मानसिकता नै हार्न नचाहने भएको बताए।

‘हामीले प्राप्त २-३ वटा राम्रा अवसर सदुपयोग गर्न सकेनौँ। दोस्रो गोल आफ्नै गल्तीका कारण ब्यहोर्यौँ’, उनले भने। यो खेलमा नेपालका गोलकिपर किरणकुमार चेम्जोङले दोस्रो हाफमा केही आकर्षक अवसरमा यमनलाई निराश बनाएका थिए। यमनको एउटा प्रहार बारमा लागेर फर्किएको पनि थियो।

निकै आक्रामक देखिएका नासर अहमद अल गवासी ६४ औँ मिनेटमा घाइते भएर बाहिरिनु पनि यमनका लागि दुर्भाग्य बनेको थियो। यो नेपालका गोलकिपर किरणको १ सयौँ अन्तर्राष्ट्रिय थियो। उनी यति धेरै खेल खेल्ने पहिलो नेपाली फुटबलर हुन्। यस्तै सञ्जीव र जेलेप्सीको पनि पहिलो अन्तर्राष्ट्रिय गोल हो।

खेलपछि किरणलाई एक सय नम्बर लेखिएको जर्सी प्रदान गरिएको थियो। अखिल नेपाल फुटबल संघ-एन्फाका महासचिव किरण राईले कदर पत्र र कोट पनि प्रदान गरेका थिए। किरण सन् २००८ देखि नेपालको सिनियर राष्ट्रिय टोलीमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर