एमाले गुल्मीको नेतृत्व छनोटमा सहमतिको सम्भावना टर्दै
रुपन्देही । नेकपा एमाले गुल्मीको १२औं अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत बनाउने नेताहरूको प्रयास सफल हुन सकेको छैन । मंगलबारदेखि जारी अधिवेशनले सहमति भए आज नै नेतृत्व चयन गरेर घोषणा गर्ने तयारी गरिएपनि अध्यक्षका प्रत्यासी दुवैजना सहमतिमा आउनसकेका छैनन् ।
७ सय प्रतिनिधि सहभागी अधिवेशनबाट १०५ सदस्यीय नेतृत्व छनोट हुँदैछ । निवर्तमान अध्यक्ष बालसिंह काउछा दोहोरिने तयारीमा छन् । युवा नेता हीरा एसीले पनि दाबी छाडेका छैनन् । दुवैजना टसमस नहुँदा सहमतिको सम्भावना क्षीण बनेको छ । काउछा र एसीले पदाधिकारीमा प्यानल नै बनाएर जाने तयारी गरेपनि नेताहरूले रोक्ने प्रयास गरेका छन् ।
गुल्मी एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको गृहजिल्ला भएकाले जिल्ला तहमा दुवैले आफू निकटस्थलाई नेतृत्वमा पठाउन चाहेका छन् । ज्ञवाली नेता काउछालाई पुनः नेतृत्वमा ल्याउन चाहन्छन् भने एसीलाई विष्टको समर्थन छ ।
केन्द्रीय नेतृत्वमा रहेका दुई नेताले अलगअलग पात्र रोजेपछि स्थानीय तहसम्मका नेता-कार्यकर्ता बाँडिएका छन् । बुधबार बिहान बन्द सत्र सकिएसँगै निर्वाचन कार्यक्रम सुरू भएको छ ।