नेपालका २० वाणिज्य बैंक : पौने ४ खर्ब पुँजी, कार्यालय सञ्चालनमा साढे २९ अर्ब खर्च – Nepal Press

नेपालका २० वाणिज्य बैंक : पौने ४ खर्ब पुँजी, कार्यालय सञ्चालनमा साढे २९ अर्ब खर्च

कुन बैंक कति बलियो ?

काठमाडौं । नेपालमा हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको चुक्ता पुँजी ३ खर्ब ७९ अर्ब २ करोड रूपैयाँ छ । एउटा वाणिज्य बैंकको न्यूनतम चुक्तापुँजी ८ अर्ब हुनुपर्ने प्रावधान छ ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा ठूलो ग्लोबल आईएमई बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड ३७ लाख छ । दोस्रो ठूलो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८० लाख रूपैयाँ रहेको छ । तेस्रो ठूलो बैंकको रूपमा नबिल बैंक देखिएको छ । यसको चुक्तापुँजी २७ अर्ब ५ करोड ७० लाख छ । चौथोमा कुमारी बैंक छ । यसको चुक्तापुँजी २६ अर्ब २२ करोड ५० लाख छ ।

पुँजीका हिसाबले बलिया देखिएका बैंकहरू सबै मर्जर तथा एक्विजिसनमा गएका हुन् । ग्लोबल आईएईले पछिल्लो पटक समान हैसियतको बैंक अफ काठमाण्डुलाई गाभेको थियो भने नेपाल इन्भेष्टमेन्ट र मेगा मर्ज भएका थिए । यता नेपाल बंगलादेश बैंकलाई गाभेर नबिल पनि पुँजीको हिसाबमा बलियो बैंक बनेको छ । कुमारी बैंकले पनि एनसीसी बैंकलाई गाभेको हो ।

पाँचौ नम्बरमा परेको प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २० लाख रूपैयाँ छ । यो बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई गाभेको हो । छैटौमा रहेको लक्ष्मी सनराइज पनि एक आपसमा गाभिएर बनेका बैंक हुन् । लक्ष्मी सनराइज बैंकको चुक्तापुँजी २३ अर्ब १८ करोड ७० लाख रुपैयाँ छ । यता सिभिललाई गाभेको हिमालयनको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६० लाख छ ।

सरकारी बैंकहरूमा नेपाल बैंकको चुक्तापुँजी १४ अर्ब ६९ करोड ४० लाख, राष्ट्रिय बाणिज्य बैंकको १५ अर्ब ६३ करोड ७३ लाख र कृषि विकास बैंकको १८ अर्ब ८८ करोड ४३ लाख छ ।

मर्जरमा नगएका निजी बैंकहरूको चुक्ता पुँजी तुलनात्मक रूपमा कम छ । स्ट्याण्डर्ड चार्टड बैंकको ९ अर्ब ४२ करोड ९४ लाख, नेपाल एसबीआई बैंकको १० अर्ब ५० करोड, एभरेष्ट बैंकको ११ अर्ब ७६ करोड ७९ लाख, एनआइसी एशियाको १४ अर्ब ९१ करोड ७५ लाख, माछापुच्छ्रेको ११ अर्ब ६२ करोड १३ लाख, सिद्धार्थ बैंकको १४ अर्ब ८ करोड ९९ लाख, सिटिजन्स बैंक १४ अर्ब २० करोड, प्राइम बैंकको १९ अर्ब ४० करोड, एनएमबी बैंकको १८ अर्ब ३६ करोड र सानिमा १३ अर्ब ५८ करोड चुक्ता पुँजी छ ।

कार्यालय सञ्चालनमा साढे २९ अर्ब खर्च

ठुला पुँजी भएको बैंकहरूको कार्यालय सञ्चालन खर्च पनि धेरै देखिएको छ । कार्यालय सञ्चालनमा कर्मचारी खर्च भने पर्दैन । वाणिज्य बैंकले चालु आर्थिक वर्षको १० महिनामा २९ अर्ब ४० करोड २० लाख रूपैयाँ कार्यालय सञ्चालनका लागि खर्च गरेका छन् ।

ग्लोबल आईएमईले १० महिनामा २ अर्ब ५३ करोड १० लाख कार्यालय सञ्चालनमा खर्च गरेको छ । इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब १३ करोड ५० लाख, नबिलले १ अर्ब ८४ करोड ४० लाख, कुमारी बैंकले १ अर्ब ६७ करोड १८ लाख खर्च गरेको छ ।

नेपाल बैंकको १ अर्ब १६ करोड, राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब ३६ करोड, स्टयाण्डर्ड चार्टड बैंकको ५५ करोड ६० लाख, नेपाल एसबीआई बैंकको ८८ करोड ४९ लाख, एभरेष्ट बैंकको १ अर्ब २ करोड, एनआईसी एशिया बैंकको २ अर्ब ३५ करोड कार्यालय सञ्चालन खर्च छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *