सेता हिमालमा कालो धन्दा- अनि शुरु भयो निर्मल पुर्जामाथि हर्कत गन्धा (भिडियो) – Nepal Press

सेता हिमालमा कालो धन्दा- अनि शुरु भयो निर्मल पुर्जामाथि हर्कत गन्धा (भिडियो)

काठमाडौं । चर्चित कीर्तिमानी आरोही निर्मल पुर्जाले गत जेठ दोस्रो साता एउटा भिडिओ उनको सामाजिक सञ्जालमा पोष्ट गरे, जसमा सगरमाथा शिखरभन्दा तल आरोहण दलका लागि टाँगिएको डोरी कसैले काटिदियो । उनले वाकीटकीमा जोसँग कुरा गर्दै थिए, उताबाट डोरी काटिएको तर कसले काटेको भन्ने थाहा नभएको जवाफ आइरहेको थियो ।

बेथितिविरुद्ध बोल्दा कानून बाइपास

हिमाल आरोहणको क्षेत्रमा बेथितिका चाङ्ग छन् । त्यसैले निर्मल पुर्जाले देखिएका चुनौती र समस्याबारे आफ्नो सोसल मिडियामा खुलेरै राख्ने गर्छन् । त्यही क्रममा उनले पछिल्लो समय क्याम्प ४ र बाल्कोनीको बीचमाआरोहणको क्रममा चाहिने डोरी काटिएको विषय राखेका थिए ।

जसमा पर्यटन व्यवसायी आङबाबु शेर्पाले वकिटकीमार्फत् सगरमाथाको क्याम्प ४ र बाल्कोनीको बीचको डोरी काटिएको र त्यहाँबाट आफ्नो टोलीले संकलन गर्नुपर्ने शव संकलन नगरी फर्किन बाध्य भएको भनेको भिडियोमै सुन्न सकिन्छ, तर यो भिडियो सार्वजनिक भएपछि पर्यटन विभागले जेठ १४ गते एक विज्ञप्ति जारी गर्दै डोरी काटिएको सत्य नभएको भन्दै समिति नै बनाएर छानबिन शुरु गरेको थियो ।

निम्सको सो भिडिओ भाइरल भएपछि पर्यटन विभागमा अन्य उनका प्रतिस्पर्धी पर्यटन व्यवसायीहरुको दबाब बढ्यो । विभागले रातारात विज्ञप्ति निकालेर निर्मल पुर्जामाथि कारबाही अघि बढाउने चेतावनी दियो । अहिले निर्मलले पर्यटन विभागलाई त्यसबारे स्पष्टीकरण दिइसकेका छन् ।

प्रचलित कानूनबमोजिम सगरमाथाबाट यसरी भिडिओ बनाएर सरकारी निकायको अनुमतिविना सामाजिक सञ्जालमा राख्नु उनको गल्ती थियो । डोरी चुँडाएको पुष्टि भएको छ, तर निर्मलले सामाजिक सञ्जालमा त्यस्तो भिडिओ बनाएर राख्न हुने थिएन । यद्यपि उनले भिडिओमा भनेको चाहिँ सही पाइएको विभाग स्रोतले जनाएको छ ।

यस प्रकरणमा पुर्जामाथि कुन हदसम्मको कारबाही हुन्छ ? अहिले नै भन्न सकिन्न, तर डोरी काटिएको प्रकरणले भने ‘सेतो हिमालमा हुने गरेको कालो धन्दा’को पटाक्षेप भएको छ । कतारकी राजकुमारीलाई आरोहण गराएको निर्मल पुर्जाको कम्पनी इलाइट एडभेन्चर प्रालिलाई फ्लप गराउन प्रतिस्पर्धी कम्पनीहरुको तर्फबाट गरिएको गैरव्यवसायिक हर्कत हो, डोरी काटिएको प्रकरण ।

पर्यटन बोर्डले डोरी काटिएको भिडिओ सार्वजनिक गरेबापत निर्मल पुर्जासँग स्पष्टीकरण माग्दा अब डोरी काट्ने गिरोहमाथि समेत छानबिन गर्न दबाब बढेको छ । सगरमाथामा भइरहेको यो हर्कतले देशकै बदनामी भएकाले व्यापारिक प्रतिस्पर्धाको यो अनैतिक प्रतिस्पर्धामाथि सरकारले कठोर कदम चाल्न आवश्यक देखिएको विभागका एक उच्च अधिकारीले बताए ।

सिन्डिकेन्ट तोडे, चक्रव्यूह तोड्लान ?

सन् २०१९ मा सगरमाथा आरोहणबाट पर्वतारोहण क्षेत्रमा आएका निर्मल पुर्जाले बितेका ५ वर्षमै आरोहण व्यवसायमा प्राप्त गरेको अन्तर्राष्ट्रियस्तरको ख्यातिले उनलाई जसरी शिखरमा पुर्‍यायो, उनको त्यही साम्राज्यकै कारण उनीमाथि प्रहारसमेत बढेको छ । नेपाली मिडिया र राज्यसत्तामा प्रभाव जमाउने व्यक्तिहरुको सम्पर्कबाट टाढा रहने गरेका पुर्जा अहिले भने ‘पर्वतारोहण व्यापारको सिन्डिकेट’को घेराबन्दीमा परिसकेका छन् ।

डोरी काटिएको प्रकरणले निर्मल पुर्जा चर्चा र विवादमा आइरहेकै बेला अमेरिकी अखबार न्युयोर्क टाइम्समा उनको बारेमा आएको अर्को स्टोरीले उनी थप विवादमा परे । पूर्वमिस फिनल्याण्ड लोट्टा हिन्टसा र डा.अप्रिल लियोनार्डोले हिमाल आरोहणका क्रममा आफूहरुमाथि पुर्जाबाट यौन दुर्व्यवहार भएको आरोप लगाएका छन् ।

यद्यपि पुर्जाले न्युयोर्क टाइम्सले एकोहोरो आरोपलाई लिएर समाचार बनाएको भन्दै त्यसविरुद्ध कानूनी लडाइँमा जाने प्रक्रिया थालिसकेका छन् । यौन दुर्व्यवहार भएको भनी आरोप लगाएकी फिनल्याण्डकी ती महिलाले ८ हजार मिटरमाथिका हिमाल आरोहण नगरेकाले उनको सहकार्यको प्रस्ताव अस्वीकार गरेका थिए ।

लोट्टा हिन्टसाले आफ्नो ५ वर्षअघि प्रकाशित किताब चर्चामा ल्याएर बिक्री गर्न निर्मल पुर्जाविरुद्ध प्रोपोगाण्डा चलाएको आरोप समेत छ ।  ती महिलाले ५ वर्षपछि अप्रमाणित आरोप लगाउनु र घटना भएको भनिएका बेला कुनै प्रकारका कानूनी र प्रशासनिक प्रक्रियामा नजानुले उनको नियतमाथि सन्देह भने पैदा भएको छ ।

हिमालको सिन्डिकेट तोड्न प्रयासरत निम्सले आफूविरुद्धको चक्रव्यूहक तोड्न सके भने नेपालको पर्वतारोहण व्यवसायलाई विकास, विस्तार र मर्यादित बनाउन भने कोशेढुंगा बन्नेछ यो प्रकरण ।

दुर्घटनाको घाउमा विरोधीको नुनचुक

२०७९ असोजन ५ गते साँझ कपनस्थित टंक घिसिङको घरमा रहेको निर्मल पुर्जाको आरोहण कम्पनी इलाइट एडभेन्चर प्रालिको कार्यालयमा  आगलागी हुँदा तीन जना कर्मचारीको मृत्यु भयो । घरमा आगलागीबाट क्षति भयो । त्यसबेला निम्स भने आरोहीलाई लिएर मनास्लु हिमालमा थिए ।

आगलागीबाट कम्पनीको पनि करोडौं क्षति भयो, त्योभन्दा ठूलो तीन जना होनहार युवाले ज्यान गुमाए । यो दुर्घटनालाई पनि उनका विरोधीले निर्मल पुर्जाले आरोहण व्यवसायको सिन्डिकेट तोडेको बदला लिने अवसर बनाउन खोजे । घरधनीलाई उचालेर मुद्दा मामिला गर्दै पुर्जालाई आरोहण व्यवसायबाट भगाउने सबै प्रयास गरिएको व्यवसायीहरु बताउँछन् ।

पुर्जाले आफ्ना तीन कर्मचारीको परिवार व्यवस्थापन, भरणपोषणलगायतका दायित्वसँगै घरधनी टंकलाल घिसिङको घर बनाइदिने वचन दिए । प्रचलित कानूनबमोजिम डेरा बस्ने व्यक्तिले आगलागीबाट क्षति भएको घर बनाइदिने व्यवस्था नभए पनि पुर्जाले अरु झमेला बोक्नुभन्दा घरको ठाउँमा घर नै बनाइदिने भने, तर पुर्जाका प्रतिस्पर्धीहरुको सम्पर्कमा पुगिसकेका घिसिङले एकपछि अर्को शर्त थप्न थाले । उनले एकमुष्ट ६ करोड रुपैयाँ मागेपछि पुर्जाले कानूनले जे भन्छ, त्यही गर्ने बाटो लिए । वडा कार्यालय र न्यायिक समितिले पनि घरबेटीको गल्ती देखायो । घिसिङ अदालत गए ।

उच्च अदालतले पनि पुर्जाको पक्षमा फैसला गरिसकेको छ । अदालतबाट समेत पुर्जाले न्याय पाएपछि उनको सार्वजनिक बेइज्जती गर्ने र व्यवसायमा धक्का दिने ढंगले घिसिङलाई विपक्षीले प्रयोग गरेको उनको भनाइ छ ।

घिसिङले शुरुमा घरको बीमा नभएको बताएका थिए । त्यसैले उनको घर बनाइदिने पुर्जाले वचन दिए, तर पछि बीमा रहेछ र बीमा रकम भुक्तानीसमेत लिइसकेको विवरण अदालतमा पेश भएपछि घरबेटीले मुद्दा हारे ।

त्यसपछि घरबेटीले ६ करोड नदिए विमानस्थलमा गएर पुर्जाको आरोही टोली आउँदा कालो झण्डा देखाउने धम्की दिए । उनको कार्यालयमा गएर हुलहुज्जत गर्न लगाइयो । उनका भीआईपी ‘क्लाइन्ट’लाई भड्काएर आफूतिर तान्न प्रतिस्पर्धीहरुले यी सबै हर्कत गराएको आरोप छ ।

कानूनको आश, विरोधी गिरोहको त्रास

हाल आफू कानूनी लडाइँ र नेपाल सरकारका जिम्मेवार निकायहरुबाट उचित निर्णयको प्रतीक्षामा रहेकाले सार्वजनिक रुपमा केही नबोल्ने पुर्जा बताउँछन्, तर उनले आफूले कानूनी शासन मान्छु भन्दा केही व्यक्तिहरु नितान्त गैरव्यवसायिक ढंगले आफ्नो व्यवसाय नै समाप्त पार्न सबै शक्ति लगाएर उत्रिएको गुनासो गरे । उनी अहिले घेराबन्दीबाट त्रसित छन् ।

निर्मलले भने, ‘यो क्षेत्रमा निकै डरलाग्दो सिन्डिकेट रहेछ । म त देशको लागि केही गरौं भनेर ब्रिटिस आर्मीको जागिर छाडेर यहाँ पर्वतारोहणमा आएँ । मेरो नेम र फेमका कारण विभिन्न देशका भीआईपी क्लाइन्टहरु मेरो कम्पनीमार्फत आरोहण गर्न आएपछि उनीहरु जल्न थालेछन् । कानून मान्छु, देशको लागि केही गर्छु भनेर मैले यही भूमिमा काम गर्दा मलाई सिध्याउन किन लागिरहेका छन् ? मैले बुझ्न सकेको छैन ।’

सगरमाथाको ढुंगो, कसरी लाग्छ टुंगो ?

निम्समाथि राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीको अर्को कारण चाहिँ सगरमाथाको ढुंगासँग पनि जोडिएको छ । जर्मनको एउटा घडी कम्पनीले सगरमाथाको ढुंगाबाट बनेको घडीलाई ब्राण्डिङ गर्न पुर्जासँग प्रस्ताव गरेको थियो ।

उनले सगरमाथाको ढुंगालाई व्यवसाय गर्न हुँदैन भन्दै कोभल्ड वाचको उक्त प्रस्ताव अस्वीकार गरेका थिए । त्यसपछि उनलाई विवादमा पार्ने काममा माइकल कोभल्ट भन्ने व्यक्ति लागेका थिए ।

कोभल्टविरुद्ध उनी अहिले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लडिरहेका छन् । सगरमाथाको ढुंगाको व्यवसाय गर्न नेपालका केही शक्तिशाली मान्छेसमेत जोडिएका रहेछन्, जसले गर्दा पुर्जामाथि गन्धा हर्कत बढ्यो । आफूविरुद्ध त्यसपछि फेक न्युजको सिलसिला चलेको उनको दाबी छ ।

निर्मल भन्छन्, ‘मैले नाईं भन्न पनि नपाउने ? मैले सगरमाथाको ढुंगा, जहाँ शेर्पाको जीवनसमेत गएको छ, त्यसको व्यवसाय गर्न हुँदैन भनेर उनीहरुको प्रस्ताव अस्वीकार गरेपछि नै ममाथि ठूलो अट्याक शुरु भयो । हाम्रै केही मान्छे त्यो घडी व्यवसायमा जोडिएका रहेछन्, त्यसैले मलाई विवादमा ल्याउने र मेरा रेकर्डहरु मेटाउने चलखेलसमेत भएको रहेछ ।’

कसको होड, कस्तो मोडमा पुगे ?

निम्स वर्षका १२ मध्ये ११ महिना विश्वका हिमालमै हुन्छन् । बाँकी एक महिना परिवारसँग बिताउने कि आफूविरुद्धका षड्यन्त्र चिर्न विभिन्न शक्ति केन्द्रमा धाउने ? उनी तनावमा थिए । यसबीचमा आफूलाई यो व्यवसाय र देशबाटै निकाल्ने ढंगले चलखेल भएपछि बोल्न बाध्य भएको र अझै पनि सरकारबाट आश नमरेको बताउँछन् पुर्जा ।

हिमाल आरोहणका नाममा फर्जी उद्धार, फर्जी उपचार, परमिट घोटाला जस्ता विभिन्न काण्ड मच्चाएर एकलौटी सिन्डिकेट चलाइरहेका केही ठूला कम्पनीका लागि निर्मल पुर्जा आफैं आरोहण व्यवसायमा आएपछि टाउको दुखाइ भएको थियो । यसको साइड इफेक्ट अहिलेका सबै घटनाक्रम रहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

पछिल्लो समय पर्यटन व्यवसायीसमेत रहेका सांसद राजेन्द्र बजगाईंले आफूलाई व्यक्तिगत रुपमा उत्रिएर सार्वभौम संसदमा बोलेकोमा उनी दुखित छन् । कुनै मिडियामा आएको एक पक्षीय समाचारलाई संसदमा बोल्ने विषय बनाइनु गलत रहेको र यसबाट संसदको अपमान भएको उनको दाबी छ ।

पुर्जाले भने, ‘माननीय राजेन्द्र बजगाईंसँग मेरो पुरानै चिनजान हो । उहाँ पर्यटन व्यवसायी नै भएकाले राम्रो सम्बन्ध हो । केही समयअघि उहाँले व्यवसायिक कारोबारको प्रस्ताव राख्नुभएको थियो । मेरोमा आउने क्लाइन्टलाई उहाँको नयाँ होटलमा पठाउन भन्नुभएको थियो, तर उहाँले भने जस्तो मैले क्लाइन्ट नपठाएको झोंक संसदमा फेर्नुभएकोमा दुःख लागेको छ ।’

म्याग्दीदेखि ब्रिटिश गोर्खासम्म

निर्मल पुर्जा अर्थात निम्स एक कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक हुन् । उनले ७ महिनाभन्दा कम अवधिमा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै १४ वटा हिमालको सफल आरोहण गरेका छन् । निर्मल यी सबै हिमाल चढ्ने नेपालीहरूमा पाँचौं र गैरशेर्पा नेपालीमा पहिलो हुन् ।

१६ वर्ष बेलायती सेनामा काम गरेका पुर्जाले २०६९ पुसमा पहिलो पटक सगरमाथा आधार शिविरसम्म पदयात्रा गरेका थिए । त्यही वर्ष उनले पहिलो पटक ६ हजार ११९ मिटर उचाइको लोबुचे हिमालबाट आरोहण यात्रा थालेका थिए । १२ वर्षको छोटो अवधिमा ४४ पटक विश्वका अग्ला शिखरमा पुगेका उनले दर्जनौं रेकर्ड बनाएका छन् ।

ब्रिटिश गोर्खा पल्टनमा हुँदाहुँदै सगरमाथा चढेपछि जागिर छाडेर ‘फुलटाइम क्लाइम्बर’ बनेका पुर्जाले आफ्नो जीवन नै हिमाल आरोहणमै समर्पण गर्ने सोच बनाएका छन् ।

म्याग्दीको दाना गाउँमा जन्मिएका पुर्जा सानै हुँदा परिवार चितवन सर्‍यो । गाउँमै हुर्किएका पुर्जा सानैदेखि निडर स्वभावका र हरेक चुनौतीसँग लड्न तयार हुने व्यक्ति हुन् । ब्रिटिश सेनाको सबैभन्दा एलिट कमान्डो दस्ता ‘स्पेशल बोट सर्भिस’सम्म पुग्ने उनी पहिलो नेपाली गोर्खा हुन् ।

निम्सको जीवनका केही रोचकघोचक किस्सा

नेपाल घरमा आमा पूर्णकुमारी बिरामी थिइन् । उता बेलायतको घर धितो राखेर निकालेको ६५ हजार पाउण्ड निकालेर हिमाल चढ्न हानिएका थिए निर्मल पुर्जा । ७ लाख ५० हजार पाउण्डको कुल बजेट अनुमान गरिएको हिमाल चढ्ने ‘प्रोजेक्ट पसिबल’मा जोडिएर निर्मल पुर्जा भने विश्वभरका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने मिसनमा थिए ।

आमाले हिमालमा जान लाग्दा निर्मललाई भनिन्, ‘निर्मल, अब आमाबुबा बुढा भए, स्याहार्न गाह्रो हुन्छ भनेर हिमालमा मर्न हिँडेको ?’ यो प्रश्नले पुर्जालाई धेरै झस्कायो, तर उनी मिसनमा तलमाथि भएनन् ।

अन्ततः ६ महिना ६ दिनमै सबै चुचुरामा उभिन सफल भए । त्यस अगाडि कोरियाली आरोही किम चाङले ७ वर्ष १० महिना ६ दिन लगाएर बनाएको रेकर्ड उनले तोडे । आफ्नै नाममा नयाँ रेकर्ड बनाए ।

‘बियोण्ड पसिबल’ नामको किताब लेखे, विश्वभर बिक्यो । ‘नथिङ इज इम्पोसिबल’ नामक नेटफ्लिक्स डकुमेन्ट्री बनाए, जुन विश्वभर भाइरल भयो । उनको ब्राण्ड त्यसैमा बन्यो । उसो त केही अगाडि उनको १४ चुचुरा सबैभन्दा छिटो चढेको रेकर्ड त तोडियो, तर उनले विन्टर सिजनमा विश्वको सबैभन्दा दोस्रो अग्लो चुचुरो पाकिस्तानको के टु चढेको सामूहिक रेकर्ड भने विश्वभर कहिल्यै तोडिने छैन ।

उसो त बेलायती सेनामा भर्ना भएका पुर्जाको त्यहाँ पनि रेकर्ड नै छ । उनी बेलायती गोर्खा सैनिकहरु अहिलेसम्म नपुगेको स्पेसल बोट सर्भिसमा पुगे ।

पुर्जाको जीवन सजिलो बाटोमा भने छैन । उनी जोखिममै यात्रा गरिरहेका छन् । १० वर्षको उमेरमा टीबीले थलिएका पुर्जाले सन् २००२ मा गरेको गोर्खा भर्ती प्रयास सफल भएन । सन् २००३ मा मात्रै उनी भर्ती हुन सकेका थिए ।

सन् २०१६ मा सगरमाथा चढ्न जाँदा उनी हिमाली क्षेत्रमा पुग्दा फोक्सोमा हुने समस्या ‘हेप’बाट पीडित बने, तर चार हप्ता बिदामा बेलायतबाट आएका उनले हिम्मत हारेनन्, सगरमाथा चढेरै छोडे ।

२०४३ साउन ९ मा म्याग्दीको दाना गाउँमा जन्मेका उनी चार वर्ष हुँदा चितवनको रामनगर आए । सन् २००३ मा बेलायती सेनामा जोडिएपछि उनको बेलायती साइनो जोडियो । उनको मुख्य थातथलो त्यतै भयो, तर देशको लागि केही गरौं भन्ने हुटहुटी चाहिँ यति बलियो र घातक घेराबन्दीका बीच पनि उनले तोडेका छैनन् ।


प्रतिक्रिया

2 thoughts on “सेता हिमालमा कालो धन्दा- अनि शुरु भयो निर्मल पुर्जामाथि हर्कत गन्धा (भिडियो)

  1. Desh ko kehi garxu bhani soch rakhera agadi bhadnu bhayko yesta mahan hasti lai hridya batai naman garnxa cahanxu.

  2. कठैबरी नेपालका नेपालिका सोच र बिचार ……..

Leave a Reply

Your email address will not be published. Required fields are marked *