जसपा नेपालको पदाधिकारीमा रसाकस्सी- उम्मेदवारहरू फ्रुटी बाँड्दै भोट माग्दै !
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया जारी छ ।
अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भइसकेका छन् । औपचारिक घोषणा हुन भने बाँकी छ । अन्य १९ पदाधिकारीमा कतिजनाको उम्मेदवारी परेको हो भन्ने सूची सार्वजनिक गरिएको छैन ।
एकजना सहअध्यक्षमा राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोङको उम्मेदवारी परेको एक नेताले बताए । उनका अनुसार दुई महासचिवका लागि विजयकुमार यादव, मनिष सुमन र रामकुमार शर्मा उम्मेदवार छन् ।
महाधिवेशनले उपाध्यक्ष ५, सचिव ७ र कोषाध्यक्ष १ जना चयन गर्नेछ । यी पदहरूमा धेरै नेताको उम्मेदवारी परेको छ । यस्तै २०१ केन्द्रीय सदस्य पनि चयन गरिनेछ ।
उम्मेदवारको सूची सार्वजनिक नहुँदै उम्मेदवार प्रचार-प्रसार मा व्यस्त देखिएका छन् । सह-महासचिवका उम्मेदवार डा. सुरेन्द्रप्रसाद यादवले दर्जनौं युवालाई भोट माग्न परिचालन गरेका छन् ।
पूर्वस्वास्थ्य राज्यमन्त्री डा. यादवले परिचालन गरेका यूवा फ्रुटी बाँड्दै महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन् ।
यस्तै कोषाध्यक्षमा उम्मेदवारी दिएका सञ्जय यादव पनि प्रचार-प्रसारमा लागिसकेका छन् । मधेशका पूर्वअर्थमन्त्री समेत रहेका उनले महाधिवेशन स्थलमा ठूला-ठूला प्रचार सामग्री झुण्ड्याएका छन् ।