गिरी परिवारको दाबी- गिरीवन्धु हाम्रै सम्पत्ति हो, सरकारलाई चाहिए क्षतिपूर्ति दिएर लैजाओस् (भिडिओ) – Nepal Press

गिरी परिवारको दाबी- गिरीवन्धु हाम्रै सम्पत्ति हो, सरकारलाई चाहिए क्षतिपूर्ति दिएर लैजाओस् (भिडिओ)

झापा । गिरीबन्धु टी-इस्टेटको जग्गा सट्टापट्टा गर्न सहमति दिने निर्णय गरेकै कारण पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भइरहेको छ । प्रतिपक्षी दल नेपाली कांगे्रसका नेतादेखि काठमाडौं महानगरका मेयर वालेन्द्र शाहसम्म यही विषय उठाएर ओलीविरुद्ध खनिँदै आएका छन् ।

राजनीतिक वृत्तमा ‘ट्रोल’ बनेको गिरीवन्धु टी-इस्टेट प्रकरणबारे लामो समयदेखि मौन रहँदै आएका चियाबगान सञ्चालकहरु भने बल्ल आफ्नो कुरा खोल्न थालेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरीवन्धु टी-इस्टेटका सम्बन्धमा गरेको फैसलालाई लिएर यतिबेला विर्तामोडका थुप्रै्र व्यवसायी अन्योलमा छन् । केपी ओली नेतृत्वको सरकारले विर्तामोड बजारसँग जोडिएको गिरीवन्धु टी-इस्टेटको ३४३ विघा जग्गा सट्टापट्टा गर्न दिने निर्णय गरेपछि थुप्रै व्यवसायीले यो जग्गा किन्न बैना बुझाइसकेका छन् । काठमाडौंका व्यवसायी दीपक मल्होत्रादेखि विर्तामोडकै रियलस्टेट व्यवसायी विष्णु राईलगायत मार्फत् बैना बुझाएकोहरुको अहिले रुवाबासी चलेको छ ।

यहीबीचमा सर्वोच्च अदालतको संवैधानिक इजलासले विभिन्न शर्तसहित पुनः सट्टापट्टाको निर्णय कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सर्वोच्चको फैसला पर्खेर बसेका बगान सञ्चालकहरुले बुधबार विर्तामोडमा पत्रकार सम्मेलन गरेरै आफ्ना कुरा खोलेका हुन् ।

भूमिसुधार ऐन २०२१ लागू हुनुअघि २०२० सालमै स्वर्गीय शमशेर गिरीले विर्तामोडको यही बगानबाट झापामा चिया खेतीको ढोका खोलेका थिए । त्यही भएर तत्कालीन सरकारले उनलाई चिया खेतीका लागि ५०० विघासम्म जग्गा हदबन्दी छुट दियो । शमशेर गिरीकै अगुवाइमा गिरीवन्धु टी-इस्टेट ३९० विघामा विस्तार भयो । गिरीवन्धुले उत्पादन गरेको चियाको चमक देखेर इलाम र झापामा थुप्रै चिया वगान खुले । गिरी परिवारका सदस्यहरु नेपालमा चिया खेतीको प्रवर्द्धक आफ्नै बुवा भएको दाबी गर्छन् ।

यो चिया बगान खुल्दा विर्तामोड बजारको जग नै बसेको थिएन । टी-इस्टेट सञ्चालनमा आएको केही वर्षपछि विर्तामोड हुँदै महेन्द्र राजमार्गको रेखा कोरियो । योसँगै काँसैकाँसले ढाकेको विर्तामोडमा वस्ती बस्न थालेको छत्र गिरी सम्झन्छन् । समयक्रमसँगै ठूलो शहर बनेको विर्तामोडमा जग्गाको भाउ अहिले छोइनसक्नु छ ।

एकातिर प्रतिधुर ५० लाखसम्ममा बिक्री भइरहेको जग्गा । त्यसकै आडमा चियाका बुढा रुखले ओगटेको अनुत्पादक चिया बगान । चियाले उत्पादन नै दिन छाडेपछि गिरीवन्धुले वार्षिक डेढ करोड हाराहारी घाटा व्यहोर्नुपरेको छ । त्यसमाथि अदालती झमेला र राजनीतिक दाउपेचको शिकार बनिरहँदा यसका सञ्चालकहरु चिया मजदुरलाई ज्यालासमेत दिन नसक्ने अवस्थामा पुगेको गुनासो सुनाउँछन् ।

यो चिया बगानले विर्तामोडको सुरक्षामा पनि चुनौती थपिरहेको छ । बजार नजिक चियाका झाडी भएकाले चोरी, डकैती, हत्या, लुटपाट जस्ता अपराधमा संलग्नहरुको लुक्ने ठाउँ पनि यही चिया बगान बनेको छ । लागुऔषध दुर्व्यसनीको अखडा पनि यही चिया बगान हो । त्यसमाथि चियामा प्रयोग हुने विषादीको सिधा असर विर्तामोडवासीलाई परिरहेको छ । त्यसैले पनि बगान स्थानान्तरण आफूहरुको रहर नभई बाध्यता बनिरहेको गिरी परिवार बताउँछन् ।

लामो समयपछि सञ्चारकर्मीमाझ प्रस्तुत भएको गिरी परिवारका आधा दर्जन सदस्यले बुधबार एकै स्वरमा भने, ‘गिरीवन्धु हाम्रा पुर्खाले आर्जेको निजी सम्पत्ति हो, यदि सरकारले लिन चाहन्छ भने कानूनअनुसार हामीलाई क्षतिपूर्ति दिनुपर्छ । अन्यथा अदालती आदेशलाई शीरोपर गर्दै सट्टापट्टाको प्रक्रियामा जान तयार छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *