तीन मन्त्रालयको क्यान्टिनबाट काठमाडौं महानगरले गर्‍याे ५ बालश्रमिकको ‘उद्धार’ – Nepal Press

तीन मन्त्रालयको क्यान्टिनबाट काठमाडौं महानगरले गर्‍याे ५ बालश्रमिकको ‘उद्धार’

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्र रहेको विभिन्न चमेना गृहबाट पाँच जना बालबालिकाको उद्धार गरेको छ ।

महानगरको बाल उद्धार टोलीले बुधबार(आज) सिंहदरबारभित्र चमेना गृहमा कार्यरत पाँच जना बालबालिकाकाे उद्धार गरेकाे हाे ।

सि‌ंहदरबारभित्र  रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको केन्द्रीय चमेना गृहबाट तीन जना बालिका, ऊर्जा तथा जलस्रोत मन्त्रालयको १ जना बालक र उद्योग तथा बाणिज्य मन्त्रालयको क्यानटिनबाट १ जना बालक गरी पाँच जना बालबालिकाको उद्धार गरेको हो ।

उनीहरु क्यान्टिनमा काम गर्दै आइरहेका थिए । विश्व बालश्रमविरुद्धको दिवसको दिन पारेर आज महानगरले सिंहदरबारभित्र क्यान्टिनमा कार्यरत रहेको बालबालिकाको उद्धार गरेको उद्धार टोलीले जनाएको छ ।

उद्धार गरिएका उनीहरुलाई संरक्षण गृहमा लगिएको छ । पछिल्लो समय महानगरले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाएको पाइएपछि बालबालिकको उद्धार गर्ने अभियान चलाएको छ।

यसअघिकाठमाडौं महानगरको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार विभिन्न ६ वटा संरक्षण गृहहरुमा राखेका छन् । उद्धार गरिएका बालबालिकाहरु काठमाडौँ महानगरपालिकाकै क्यान्टिनदेखि सरकारी उच्चपदस्थ कर्मचारी, बालबालिकाकै लागि काम गर्ने भनिएका अन्तराष्ट्रिय निकाय र सांसदसम्मको घरबाट निकृष्टरूपमा बालश्रम शोषण गराइरहेको अवस्थामा थिए ।

उद्धार गरिएका बालबालिकाहरु घरेलु श्रमिक, होटल र होस्टल, यातायात क्षेत्र (जोखिममा रहेकारसंरक्षणको आवश्यकता भएका)का बालबालिकाहरुले आफू जोखिममा रहेको खवर गरेपछि उद्धार गरिएको थियो ।

जोखिममा रहेका बालबालिकाहरुलाई रातो, पहेँलो र हरियो वर्गमा राखिन्छ । १२ वर्षभन्दा कम उमेर भएका, दैनिक ७ घण्टाभन्दा धेरै काम गर्नुपर्ने, यौन हिँसा तथा दुव्र्यवहारको सामना गरेका वा गरिरहेका बालबालिकालाई रातो वर्गमा राखिन्छ ।

दैनिक २ देखि ५ घण्टासम्म काम गर्नुपर्ने, कुटपिट र गाली गलौज गर्ने गरिएको, पेटभरि खान नदिएको, निन्द्रा पुग्ने गरी सुत्न नदिएका बालबालिकालाई पहेँलो वर्गमा राखिन्छ ।

मायालु व्यवहार र बोलीबचन पाएका, पर्याप्त मात्रामा शैक्षिक सामग्री उपलब्ध गराइएका, घरपरिवारसँग नियमित सम्पर्क गर्न पाएका, समान खाना पाएका र सुत्नका लागि खाट र कोठा पाएका बालबालिकालाई हरियो वर्गमा राखिएको छ । यीमध्ये अहिले रातो वर्गमा रहेका बालबालिकालाई उद्धार तथा जोखिम व्यवस्थापन गर्ने गरिएको उद्धार टोलीले जनाएको छ ।

बालबालिकाहरुको अवस्था अध्ययनका लागि महानगरपालिकाले सार्वजनिक यातायात क्षेत्र, होटल रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन भएका इन्टर्न विद्यार्थीहरुले बालबालिकाको अवस्था पत्ता लगाएका हुन् । यस कार्यका लागि ३१ जना इन्टर्नहरु खटिएका छन् ।

यसरी प्राप्त विवरण र बालबालिकाबाट प्राप्त जोखिममा परेको सूचनाका आधारमा खोजतलास सेवा (१०४), नेपाल प्रहरी, महानगर प्रहरीसहित सरोकारवालासहितको बाल उद्धार कार्यदलमार्फत शोषण, दुव्र्यवहार र जोखिममा परेका बालबालिकाको उद्धार हुने महानगरकाे  उद्धार टाेलीका  संयाेजक प्रविन सिलवालले बताए ।

उद्धार गरेर ल्याइएका बालबालिकालाई अस्थायी संरक्षण गृहमा संरक्षण दिइन्छ । संरक्षण गृहमा बालबालिकाले भोग्नुपरेका समस्याहरू सुन्ने, मनोपरामर्श प्रदान गर्ने, स्वास्थ्य उपचार गर्ने र आवश्यक परेमा कानुनी सहायता प्रदान गरिन्छ ।

यसपछि बालबालिकाका अभिभावक खोजी हुन्छ । परिवारलाई जीविकोपार्जनका लागि सहयोगसहित पुनस्र्थापना गराउन सकिने अवस्था छ कि छैन लेखाजोखा गरिन्छ । परिवार पत्ता नलागेमा र बालबालिकालाई परिवारमा फर्काउँदा बालबालिकाको सर्वाेत्तम हित हुने नदेखिएमा त्यस्ता बालबालिकालाई उपयुक्त संस्थामा राखी १८ वर्ष नभएसम्मको सम्पूर्ण जिम्मेवारी सरकारले लिने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *