रजत शर्माले लाइभमै ‘मा बेहन’को गाली दिएपछि कांग्रेस प्रवक्ता पत्रकार सम्मेलनमा रोइन् (भिडिओ)
काठमाडौं । भारतीय टेलिभिजनमा टीआरपीको प्रतिस्पर्धाका लागि रुने, कराउने, चर्को चर्को स्वरमा गाली गरेर गेष्टलाई उत्तेजित बनाउने प्रचलन नयाँ होइन, तर पछिल्लो पटक भारतीय टेलिभिजन पत्रकारिताका एक लिजेण्ड मानिने रजत शर्माले लाइभ बहसमै विपक्षी कांग्रेस आईकी एक प्रवक्तामाथि अश्लील शब्द प्रयोग गरेको विवाद ‘कोर्ट कचहरी’सम्म पुगेको छ ।
चुनावी समीक्षाका क्रममा इण्डिया टीभीको लाइभ बहसमा बोलाइएकी कांग्रेस प्रवक्ता डा. रागिनी नायकसँग रजत शर्माको प्रश्नोत्तर चलेको थियो । शर्मा इण्डिया टीभीका मालिकसमेत हुन् र उनको ‘आपकी अदालत’ भन्ने कार्यक्रम भारतको सबैभन्दा पुरानो र चर्चित टीभी शो हो ।
कांग्रेस प्रवक्ता रागिनीले रजत शर्मालाई ‘तपाईंले त कांग्रेसले ९० सीट पनि जित्यो भने ठूलो कुरा होइन भन्नुभएको थियो होइन र ? भनेपछि शर्माले आफूले कांग्रेसले ९० सीट जित्यो भने जीत मानिने कुरा हुने बताएको स्मरण गराए ।
रागिनीले भने प्रतिवाद गर्दै जनताले टीभीमा देखिरहेको र रजत शर्माले उल्टो बोलेको भनेपछि रजतले दिक्दारी व्यक्त गर्दै मुन्टो तलतिर झारेर ‘क्या, बेहन चो…’ भनेर गाली गरेको क्लिप भाइरल भयो ।
‘मा बेहन’को गाली दिएको भन्दै रजत शर्मालाई रागिनीले सोसल मिडियामा प्रश्न उठाउँदै कांग्रेस कार्यालयमा पत्रकार सम्मेलन गर्ने बताएपछि शर्माले उनलाई त्यसो नगर्न चेतावनी दिएका थिए ।
इण्डिया टीभीको तर्फबाट उनीविरुद्ध लिगल नोटिससमेत जारी गर्दै रागिनीले पत्रकार सम्मेलन गरेमा मानहानीको मुद्दामा जाने बताइएको थियो । रागिनीले बुधबार पत्रकार सम्मेलन गर्दै आफूमाथि स्टुडियोमै दुर्व्यवहार भएको बताइन् ।
पत्रकार सम्मेलनमा रुँदै प्रस्तुत भएकी रागिनीले रजत शर्माले आफूलाई धम्क्याएको आरोपसमेत लगाएकी छन् । उनले भारतीय सत्ताको छायाँमा रहेका रजत शर्मामाथि कारबाहीको माग गरेकी छन् ।
यसैबीच कांग्रेस पार्टीले इण्डिया टीभी भाजपाको निजी सञ्चार साधन भएको भन्दै सो टीभीका कुनै प्यानल बहसमा कोही पनि कांग्रेस नेता सहभागी नहुने निर्णय गरेको छ ।