फ्लोर क्रसबारे माओवादीले सोध्यो स्पष्टीकरण, फणीन्द्रले दिएनन् जवाफ – Nepal Press

फ्लोर क्रसबारे माओवादीले सोध्यो स्पष्टीकरण, फणीन्द्रले दिएनन् जवाफ

पोखरा । गण्डकी प्रदेशमा संसदीय दलको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने सांसद फणीन्द्र देवकोटालाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ ।

माओवादी गण्डकी संसदीय दलको सोमबारको बैठकले २४ घन्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार देवकोटालाई बुधबार स्पष्टीकरणका लागि पत्र पठाइएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

तर, २४ घन्टा बितिसक्दा पनि हालसम्म स्पष्टीकरण प्राप्त नभएको उनले बताए ।

माओवादीको चुनाव चिन्ह्र लिएर जितेका नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले गत सोमबार मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसवापत उनले बुधबार ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री पद पाएका छन् ।

देवकोटालाई संसदीय दलको ह्वीप उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधिएको संसदीय दलका नेता चुमानले सुनाए ।

‘हामीले सोमबार नै स्पष्टीकरण सोध्ने निर्णय गरेका हौं । सोहीअनुसार मंगलबार २४ घन्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका हौं । हालसम्म स्पष्टीकरण प्राप्त भएको छैन’, उनले भने, ‘पत्र नआए भोलिदेखि कारबाही प्रक्रिया सुरु गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर