चिनियाँ मन्त्रीले गरे लुम्बिनीको भ्रमण, प्रवर्द्धन गर्न विमानस्थलमा उडान गर्ने प्रतिबद्धता – Nepal Press

चिनियाँ मन्त्रीले गरे लुम्बिनीको भ्रमण, प्रवर्द्धन गर्न विमानस्थलमा उडान गर्ने प्रतिबद्धता

रुपन्देही । चीनका राष्ट्रिय धार्मिक सांस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेंङले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । चीनको धार्मिक तथा साँस्कृतिक मन्त्रालय हेर्ने मन्त्रीसहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले स्वागत गरेका हुन् ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने एवम् नेपाल–चीनको साँस्कृतिक सम्बन्ध दिगो बनाउने उद्देश्यका साथ लुम्बिनी भ्रमणमा आएको मन्त्री रुइफेंङले बताए । मन्त्री रुइफेंङले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको भ्रमण गर्दै लुम्बिनीबारे जानकारी लिएका थिए ।

सो अवसरमा कोषका उपाध्यक्ष डा. लामाले लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेकाले चीनबाट नियमित उडानका लागि तत्काल पहल गर्न आग्रह गरे ।

उनले नियमित उडान हुँदा बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनसँगै बुद्धको सन्देश विश्वव्यापी बनाउन सकिने भएकाले छिमेकी राष्ट्रको हिसाबले सहयोगका लागि पहल गर्न आग्रह गरे । यस्तै चीनसँग नेपालको पुरानो सम्बन्ध रहेको बताउँदै आफूहरु लुम्बिनीमा चिनियाँ तिर्थयात्रुहरुलाई स्वागत गर्न सधै आतुर रहेको बताए ।

उपाध्यक्ष लामाको चासोप्रति चिनियाँ मन्त्री रुईफेंङले चीनबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने प्रतिबद्धता जनाए । उनले आफूहरु लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकारात्मक रहेको बताउँदै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चीन सरकार तयारीमा जुटिसकेकाले छिट्टै उडान हुने प्रतिबद्धता जनाए । चीन सरकार बुद्ध, लुम्बिनी र नेपालीहरुसँग सहकार्यका लागि सदैव सकारात्मक रहने उनको भनाइ थियो ।

मन्त्री रुइफेंङसँगै नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग, चीनको राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला ब्यूरो प्रमुख हुआंग झिहुई सहितको टोली लुम्बिनी पुगेको थियो ।

मन्त्रीसहितको टोलीको स्वागतमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार तिलक आचार्य, कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईलगायतले स्वागत गरेका थिए ।

यसैगरी मन्त्री रुईफेंङले लुम्बिनीस्थित चिनियाँ विहारको समेत भ्रमण गरे । विहारमा चाइनिज बुद्धिष्ट सोसाइटीका उपाध्यक्ष मास्टर यिन सुनले जानकारी सहित बिफ्रिङ गरेका थिए ।

मन्त्री रुइफेंङले चिनियाँ विहारको भ्रमणसँगै त्यहाँ निर्माण हुने विहारको शिलान्यास र पिपलको रुखको वृक्षरोपण गरेका थिए । यसअघि चिनियाँ मन्त्री चेनलाई अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलमा चीन नेपालमैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटाले स्वागत गरेका थिए ।

बुधबार नै सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानआर्कषण गराउँदै ज्ञापन पत्र बुझाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *