‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन
सुर्खेत । दलितका लागि दलित अभियान नेपालले दैलेखमा जनप्रदर्शन तथा जागरण सभा सम्पन्न गरेको छ । दैलेखको भगवतीमाई गाउँपालिका बेस्तडामा सभा सम्पन्न भएको हो ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वर्माले मानिसलाई जबर्जस्ती दलित बनाएर राज्यले अपराध गरेको बताए । देश, समाज दलितको आशु, रगत बगेको टुलुटुलु हेरेर बसेकाले अब दलित आफ्नो लागि आफै लड्नुपर्ने बताए ।
सभामा उभिएर भाषण गर्ने तर, घरमा दलितलाई छिर्न नदिने अबस्थामा अहिले पनि रहेकाले दलितको अभियान गैरदलितको विरुद्ध नभएको बताउदै उनले कानुन प्रतिबन्ध गरेको कर्म गर्ने छुट कसैलाई नभएको बताए । दलित आयोग तिनै तहको सरकारमार्फत जातीय विभेद र हिंसाको विरुद्ध कार्य गरिरहेको अध्यक्ष विश्वकर्माको भनाई थियो ।
कर्णाली प्रदेश सभा सदस्य उर्मिला विश्वकर्माले दलित आन्दोलनको लागि आफू सबै त्यागेर लाग्न तयार रहेको बताईन । दलित समुदायको न्याय र मुक्तिका लागि पार्टी भन्दा माथी उठेर लाग्नुपर्ने परिस्थिति बनेको उनको भनाई छ । कर्णाली प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेकी विश्वकर्माले कर्मचारीतन्त्रका असहयोगका कारणले दलित समुदाय लक्षित कानुन बन्न नसकेको बताईन ।
कार्यक्रममा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले विभिन्न पार्टिमा लागेका दलित अब दलित बन्न तयार हुनुपर्नेमा जोड दिए । उनले यस अघिसम्म अरुका लागि दलित लडे पनि अब दलितका लागि दलित नै लड्नुपर्ने र दलित–दलित एक हुनुपर्नेमा जोड दिए । आफ्नो अधिकारको लागि छुट्टै शक्ति निर्माण गरेर आत्मसम्मानको अभियानमा जुट्नुपर्नेमा उनको भनाई थियो ।
सभामा चर्चित लोक तथा दोहोरी गायिका टीका सानूले जातीय विभेद विरुद्धका गीत संगीत प्रस्तुत गरेकी थिईन । भगवतीमाई युवा संजालले समन्वय गरेको सभाको स्थानीय अन्य संघ सस्थाले सहकार्य गरेका थिए ।
सभामा दलित मुक्ति मोर्चाका अध्यक्ष दिनेश चदरा, भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मिनाकुमारी खड्का, दलित जनप्रतिनिधि, दलित अगुवा, अभियन्ता, पत्रकार, कलाकार, लगायत हजारौं दलित समुदायको सहभागिता रहेको थियो ।