सकियो श्रमाधान रोजगार मेला : बागमतीमा १३ हजार ९७८ जनाले दिए आवेदन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बागमती प्रदेशको ललितपुरमा आयोजना गरेको दुई दिने श्रमाधान रोजगार मेलामा १३ हजार ९७८ जनाले रोजगारीको लागि आवेदन दिएका छन् ।
मेलामा रोजगारताबाट एक हजार ५०५ श्रमिकको माग गरिएको थियो । मंगलबार र बुधबार चलेको मेलामा करिब ५ हजारले अवलोकन गरेका छन् ।
मेलाको समापन कार्यक्रममा बोल्दै पाटन बहुमुखी क्याम्पसका प्रमुख डा.लक्ष्मण सिंह कुँवरले नेपाली युवामा अझै पनि श्रमको महत्व नबुझेको बताएका छन् । विदेशमा गएर जुनसुकै श्रम गर्न रुचाउने नेपाली श्रमिकले नेपालमा भने त्यही रोजगारीमा गर्न नचाहेको कारण पनि बेरोजगारी बढेको उनले बताए ।
तर, मन्त्रालयले गरेको यस्तो मेलाले रोजगारीको महत्वलाई बुझाउने बताए । साथै मेलाले रोजगारदाता र श्रमिकको गुनासोलाई सम्बोधन गर्न सक्ने बताए ।
‘यता रोजगारदाता श्रमिक पाइएन भन्छन् उता श्रमिक रोजगारी पाइएन भन्छन् । यस्ता मेला दुवै पक्षलाई एकै स्थानमा भेला गराउदा समस्या सम्बोधन हुनेछ’, उनले भने ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सूर्य बहादुर कँडेलले रोजगार मेलाले नेपालमा नै रोजगारीको अवसर हुने सकरात्मक सन्देश दिएको बताए । त्यसैले यस्तो मेला जिल्ला र पालिका तहसम्म लैजानु पर्ने बताए ।
त्यस्तै, कार्यक्रमको समापन गर्दे मन्त्रालयका उप सचिव एवम् बाग्मती प्रदेशको रोजगार मेलाका संयोजक डम्बर बहादुर सुनुवारले मेला सञ्चालनमा गर्नमा सहयोग गर्ने सबैमा आभार व्यक्त गरे ।
राेजगारी लागि अनलाइन आवेदनलाई पनि गणना गरिएकाे छ भने एकजनाले चारवटा कम्पनीसम्ममा राेजगारीकाे लागि आवेदन दिएका छन् ।
गत जेठ १७ गतेदेखि कोशी प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा आज देखि सम्पन्न भएको छ । मेला प्रत्येक प्रदेशमा दुई/दुई सञ्चालन भएको थियो ।