विज्ञान प्रविधिले सुसज्जित विश्व र नेपाली युवाको दायित्व
विषय प्रवेश
बालापन पार गरेर परिपक्व र जिम्मेवारीतर्फ पाइला चालिरहेको उमेर समूह नै वास्तवमा युवा हो । सामान्यतः १६ देखि ४० वर्षको उमेर समूहलाई युवा मानिँदै आएको छ । यस अवधिमा व्यक्तिले शारीरिक, मानसिक र सामाजिक दृष्टिले तीव्र विकास गरिरहेको हुन्छ । सामान्यतः युवाहरू उत्साही, ऊर्जाशील र नवप्रवर्तनशील हुन्छन्, जसले हरेक समाजको विकास र परिवर्तनमा महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । युवाहरू नयाँ ज्ञान प्राप्त गर्न, चुनौतीहरू सामना गर्न र आफ्नो करियर र जीवनको दिशा निर्धारण गर्न निरन्तर क्रियाशील भैरहेका हुन्छन् । समाजको प्रगतिशील रुपान्तरण र मानव जातिको उज्ज्वल भविष्य निर्माणमा युवाहरूको योगदान अनिवार्य र महत्वपूर्ण हुन्छ । त्यसैले बदलिएको विश्व परिवेशलाई छिट्टै अंगाल्न सक्ने ताकत पनि युवा पुस्तामै हुन्छ । आजको युवा पुस्तालाई डिजिटल पुस्ता भन्दा अतिसयोक्ति हुनेछैन ।
विज्ञान र प्रविधिको तीव्रत्तम विकासले आजको विश्वलाई पूर्णतया परिवर्तन गरिदिएको छ । यसले समाजका हरेक पक्षलाई प्रभावित पारेको छ । विशेष गरी युवा पुस्तालाई त यसले अत्यन्त प्रभाव पारिरहेको छ । विज्ञान प्रविधिसँग नजोडिएको सामाजिक जीवन वर्तमान समयमा कल्पना गर्न पनि सकिँदैन । नेपाली युवा समुदाय पनि विज्ञान प्रविधिसँग निरन्तर जोडिइरहेको छ । विज्ञान प्रविधिको विभिन्न क्षेत्रमा नेपाली युवाहरुले उल्लेखनीय प्रगति गरिरहेका छन् । तथापि नेपाली समाजको बनोट, सामाजिक संरचना, भौगोलिक विकटता र गरिबीले गर्दा अधिकांश नेपाली युवा उदीयमान नवप्रविधिको स्वाद चाख्नबाट अझै पनि टाढा नै रहेको पाइन्छ ।
प्रविधिको प्रगति र यसको प्रभावले मानव जीवनका हरेक पक्षलाई सकारात्मक रूपमा प्रभावित गरेको छ । शिक्षा, कृषि, रोजगारी, राजनीति, उद्योग, उद्यम, स्वास्थ्य र ज्ञानका क्षेत्रहरूमा प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण छ । यी क्षेत्रहरूमा प्रविधिको सही र प्रभावकारी प्रयोग गर्न सक्दा समाजलाई अभूतपूर्व ढङ्गबाट परिवर्तन गर्न सकिन्छ भन्ने कुरा प्रमाणित भैरहेका छन् । प्रविधिको उपयोगलाई अझ प्रभावकारी र नैतिकपूर्ण बनाउन सबै तहमा चेतना र तालिम जरुरी छन्, जसले दीर्घकालीन समृद्धि र विकास सुनिश्चित गर्नेछ ।
प्रविधिको सही र प्रभावकारी प्रयोग गर्न सक्दा समाजलाई अभूतपूर्व ढङ्गबाट परिवर्तन गर्न सकिन्छ भन्ने कुरा प्रमाणित भैरहेका छन् । प्रविधिको उपयोगलाई अझ प्रभावकारी र नैतिकपूर्ण बनाउन सबै तहमा चेतना र तालिम जरुरी छन्, जसले दीर्घकालीन समृद्धि र विकास सुनिश्चित गर्नेछ ।
विज्ञान प्रविधिको विकासले प्रभाव नपारेको कुनै क्षेत्र छैन । विश्व अर्थतन्त्रमा प्रविधिको क्षेत्रले अत्यन्त ठूलो योगदान गरिरहेको छ । सामान्यतः प्रविधिको विकासले प्रभाव पारेका क्षेत्रहरुलाई यसरी सुचीकृत गर्न सकिन्छ ।
सूचना, सञ्चार र प्रविधि
सूचना प्रविधि र सञ्चार क्षेत्रमा भएको प्रगतिको कारणले आज संसार एक ग्लोबल भिलेजको रुपमा परिणत भएको छ । इन्टरनेटको उपलब्धताले नेपाली युवाहरूलाई संसारसँग जोड्न सजिलो बनाएको छ । सामाजिक सञ्जाल, ब्लग, पोडकास्ट र युट्युब जस्ता माध्यमहरूले उनीहरूलाई आफ्नो विचार र सृजनशीलतालाई विश्वव्यापी स्तरमा प्रस्तुत गर्न सक्षम बनाएका छन् । यस सन्दर्भमा नेपाली युवा समुदाय सक्षम बन्दै गएको देख्न सकिन्छ ।
शिक्षा, अनुसन्धान र प्रविधि
विज्ञान र प्रविधिको आगमनसँगै शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको छ । डिजिटल प्रविधिले शिक्षालाई केवल कक्षा कोठासम्म मात्रै सीमित नराखी विश्वव्यापी बनाएको छ । अनलाइन कोर्स, भिडियो लेक्चर र ई-लर्निङ प्लेटफर्महरूले विश्वभरका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गरेका छन् । अनलाइन शिक्षाका माध्यमबाट नेपाली युवाहरूले विश्व प्रसिद्ध विश्वविद्यालयका कोर्सहरू लिन सक्ने भएका छन् । यस्तै, अनुसन्धान क्षेत्रमा पनि प्रविधिले सहयोग पुर्याएको छ । नेपाली विश्वविद्यालयहरूमा पनि अब आधुनिक प्रविधिको प्रयोग गरी अनुसन्धान कार्यहरू भइरहेका छन् ।
क्यानभास, कोर्सेरा, खान एकेडेमी, एडएक्स जस्ता प्लेटफर्महरूले घरमै बसेर विभिन्न विषयमा ज्ञान आर्जन गर्न सक्ने बनाएका छन् । क्लासरुमहरु स्मार्ट भैरहेका छन् । डिजिटल बोर्ड, प्रोजेक्टर र इन्टरनेटको प्रयोगले कक्षा शिक्षालाई प्रभावकारी र रोचक बनाएको छ । कृत्रिम बुद्धिमता (एआई) को प्रयोगले व्यक्तिगत शिक्षा प्रणालीलाई प्रोत्साहित गरेको छ, जसले गर्दा हरेक विद्यार्थीको आवश्यकता र रुचिअनुसार शिक्षा लिन सकिने वातावरण बनेको छ ।
स्वास्थ्य, चिकित्सा र प्रविधि
स्वास्थ्य क्षेत्रमा विज्ञान प्रविधिको विकासले अद्वितीय योगदान पुर्याइरहेको छ । टेलिमेडिसिन सेवाहरूले ग्रामीण क्षेत्रका नेपालीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत पुगेको छ । युवा स्वास्थ्यकर्मीहरूले आधुनिक उपकरणहरूको प्रयोग गरी जटिल रोगहरूको निदान र उपचार गर्न सक्षम भएका छन् ।
एआईको विकासले त स्वास्थ्य समस्या पहिचान, उपचार योजना र औषधिको विकासमा आमूल परिवर्तन नै ल्याएको छ । अब मानिसको जीवन पद्धतिको रुपमा एआई रहने पक्का छ । त्यसैगरी जीन एडिटिङ, सेल थेरापी र मोलिक्युलर डायग्नोस्टिक्स जस्ता बायोटेक्नोलोजीले चिकित्सा विज्ञानलाई उचाइमा पुर्याएको छ ।
भिडियो कन्सल्टेशन, अनलाइन रिपोर्ट्स र ई-प्रेस्क्रिप्शन जस्ता टेलिमेडिसिनको विकास र सेवाले स्वास्थ्योपचार भरपर्दो बनाइरहेको छ । पछिल्लो समयमा भएको एआईको विकासले त स्वास्थ्य समस्या पहिचान, उपचार योजना र औषधिको विकासमा आमूल परिवर्तन नै ल्याएको छ । अब मानिसको जीवन पद्धतिको रुपमा एआई रहने पक्का छ । त्यसैगरी जीन एडिटिङ, सेल थेरापी र मोलिक्युलर डायग्नोस्टिक्स जस्ता बायोटेक्नोलोजीले चिकित्सा विज्ञानलाई उचाइमा पुर्याएको छ । यसरी विज्ञान प्रविधिको विकासले स्वास्थ्य सेवा प्रवाहलाई गुणस्तरीय र सुलभ बनाइरहेको छ ।
रोजगारी र प्रविधि
विज्ञान र प्रविधिको विकाससँगै नयाँ रोजगारीका अवसरहरू सिर्जना भएका छन् । सूचना प्रविधि, बायोटेक्नोलोजी, रिन्युएबल इनर्जी र ई-कमर्स जस्ता क्षेत्रमा रोजगारीका नयाँ अवसरहरू उपलब्ध छन् । यसरी विभिन्न उद्योगहरूमा नयाँ प्रकारका कामका अवसरहरू सिर्जना भएका छन् । अपवर्क, फाइभर, फ्रीलान्सर जस्ता फ्रीलान्सिङ प्लेटफर्महरूले व्यक्तिलाई अनलाइन काम खोज्न र गर्न सक्षम बनाएका छन् । जुम, स्ल्याक, माइक्रोसफ्ट टीम्स जस्ता रिमोट वर्क टुल्स उपकरणहरूले घरबाटै काम गर्न सम्भव बनाएको छ । सामाजिक सञ्जाल, एसईओ र अनलाइन विज्ञापन जस्ता डिजिटल मार्केटिङ प्रविधिले नयाँ रोजगारीका अवसरहरू सिर्जना गरिरहेका छन् ।
यसरी विज्ञान प्रविधिको विकासले रोजगारीको स्वरूप नै बदलेको छ । नेपाली युवाहरूले यस अवसरलाई सदुपयोग गर्दै विभिन्न क्षेत्रमा आफूलाई अब्बल र स्थापित गराउनुपर्ने दायित्व बढेको छ ।
उद्योग, उद्यमशीलता, स्टार्टअप र प्रविधि
विज्ञान प्रविधिको विकासले नेपाली युवाहरूलाई उद्यमशीलता र स्टार्टअप कल्चरमा पनि आकर्षित गरेको छ । प्रविधिको सहायताले व्यवसाय सुरु गर्न र सञ्चालन गर्न सजिलो भएको छ । ई-कमर्स प्लेटफर्महरू, मोबाइल एप्लिकेसन र अनलाइन सेवाहरूको माध्यमबाट युवाहरू नयाँ व्यवसायिक मोडलहरू अपनाउँदैछन् । औद्योगिक क्षेत्रमा अटोमेसन प्रविधिको प्रयोगले उत्पादनको गति र गुणस्तर वृद्धि गर्न मद्दत गरिरहेको छ । कारखानाहरूमा रोबोटको प्रयोगले मानवीय त्रुटिहरू कम गराएको छ भने परम्परागत रोजगारीको क्षेत्रलाई अत्यन्त साँघुरो बनाइदिएको छ । आईओटी उपकरणहरूको प्रयोगले विभिन्न मेशिन र उपकरणलाई आपसमा जडान गराई उत्पादन प्रक्रियाको निगरानी र नियन्त्रणमा समेत मद्दत गरिरहेको छ ।
अपवर्क, फाइभर, फ्रीलान्सर जस्ता फ्रीलान्सिङ प्लेटफर्महरूले व्यक्तिलाई अनलाइन काम खोज्न र गर्न सक्षम बनाएका छन् । जुम, स्ल्याक, माइक्रोसफ्ट टीम्स जस्ता रिमोट वर्क टुल्स उपकरणहरूले घरबाटै काम गर्न सम्भव बनाएको छ ।
स्टार्टअप संस्कृति बन्दैछ । उद्यमशीलताको क्षेत्रमा प्रविधिको प्रयोगले व्यापक गति लिएको छ । अमेजन, ईबे, अलिबाबा जस्ता अनलाइन प्लेटफर्महरूले साना उद्यमलाई विश्वव्यापी बजारमा पहुँच दिलाएका छन् । त्यसैगरी डिजिटल भुक्तानी प्रणाली, क्राउड फन्डिङ प्लेटफर्म र ब्लकचेन जस्ता फिनटेक प्रविधिले वित्तीय पहुँचलाई सजिलो बनाएको छ भने पारदर्शिताको नयाँ युगमा प्रवेश गराइरहेको छ । विभिन्न इन्क्युबेटर र एक्सेलेरेटर जस्ता स्टार्टअप इन्क्युबेटरले नव-उद्यमीहरूलाई मार्गदर्शन गरिरहेका छन् । यसरी आज विश्व विज्ञान प्रविधिसँग जोडिँदै उद्योग, उद्यमशीलता, स्टार्टअपमा तीव्रत्तम गतिमा दगुरिरहेको छ । नेपाली युवाहरुले आफ्नो ज्ञान, सीप र क्षमताको विकास गर्दै विश्वको त्यो गतिलाई भेट्ने गरी लय पक्रिनुपर्ने अवस्था आएको छ ।
कृषि र प्रविधि
प्रविधिले कृषि क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ । जिओ-ट्यागिङ, आईओटी उपकरण जस्ता स्मार्ट फार्मिङको प्रयोगले खेतको उर्बर क्षमताको वास्तविक जानकारी लिन सहयोग गरिरहेको छ । त्यसैगरी बालीको निरीक्षण, सिंचाइ र मल वितरणमा ड्रोन प्रविधिको प्रयोगले कृषकहरूको समय र श्रम बचत गरिरहेको छ । एआई एवं विग डाटाको प्रयोगले मौसम पूर्वानुमान, माटोको गुणस्तर विश्लेषण र उत्पादनको पूर्वानुमान गर्न समेत गर्न सकिने अवस्था सिर्जना भएको छ ।
हामीले हाम्रो जमिन सुहाउँदो प्रविधिको विकास गर्दै कृषि कर्मलाई अझ सजिलो र गुणस्तरीय बनाउनुपर्ने भएको छ । तराईको खेत जोत्ने ट्याक्टर पहाडी क्षेत्रमा उपयुक्त नहुन सक्छ भने पहाडका हाम्रा स-साना सुर्का र गराहरुमा जोत्न सक्ने नयाँ ट्याक्टरको विकास गर्यौं भने खेती किसानी अझ सरल बन्नेछ । त्यही भएर मैले बारम्बार भन्ने गरेको छु कि ‘श्रममैत्री प्रविधिको विकास कोसेली निर्माण अबको निकास’ हुनुपर्छ । हाम्रो श्रमलाई प्रविधिसँग जोड्ने र उत्पादनलाई निर्यातमुखी बनाउने कुरा आजको कृषि क्षेत्रको महत्वपूर्ण काम हो ।
राजनीति र प्रविधि
प्रविधिले राजनीतिक क्षेत्रमा पनि महत्वपूर्ण परिवर्तन ल्याएको छ । सामाजिक सञ्जाल र डिजिटल सञ्चारमाध्यमको प्रयोगले राजनीतिक दलहरूलाई आमनागरिकसम्म आफ्नो सन्देश पुर्याउन सहज बनाएको छ । फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता सोसल मिडिया क्याम्पेनका प्लेटफर्महरूको प्रयोगले राजनीतिक दलहरूको जनतामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान गरिरहेको छ । मतदाताको रुझान पहिचान गर्न डेटा एनालिटिक्सको प्रयोग व्यापक मात्रामा बढ्दै गैरहेको छ । डिजिटल मतदान प्रणालीको विकासले निर्वाचन प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाएको छ भने चुनावी खर्च व्यवस्थापनमा समेत मितव्ययी बनाउने अनुमान गर्न सकिन्छ ।
अब राजनीतिक पार्टीले प्रविधि अंगाल्ने जनमत संगाल्ने खालको विधि नअंगाली सुखै छैन । व्यापक जनताका बीचमा छिट्टै पुग्ने र जनमतलाई प्रभावित पार्ने कार्यमा यसले ठूलो योगदान गरिरहेको छ । यसको लागि प्रविधिमा अभ्यस्त हुनु, निरन्तर अपडेट रहिरहनु जरुरी छ । यस मामलामा नवयुवाहरु अब्बल हुनुपर्छ । त्यसैले अहिलेको राजनीतिक युग पनि नवयुवाको नै हो । त्यसैले नवयुवाले राजनीति बुझ्ने र राजनीतिले नवयुवालाई आकर्षित गर्ने तौरतरिका अपनाउनु अनिवार्य भएको छ ।
डिजिटल मतदान प्रणालीको विकासले निर्वाचन प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाएको छ भने चुनावी खर्च व्यवस्थापनमा समेत मितव्ययी बनाउने अनुमान गर्न सकिन्छ । अब राजनीतिक पार्टीले प्रविधि अंगाल्ने जनमत संगाल्ने खालको विधि नअंगाली सुखै छैन ।
ज्ञान र प्रविधि
प्रविधिको प्रयोगले ज्ञानको प्रवाहलाई तीव्र र सुलभ बनाइदिएको छ । गुगल बुक्स, आर्काइभ डट ओआरजी जस्ता डिजिटल पुस्तकालयहरूले विश्वभरका पुस्तकहरू सजिलै उपलब्ध गराएका छन् । विकिपेडिया, रिसर्चगेट, जर्नलहरू जस्ता अनलाइन स्रोतहरूले अनुसन्धान र जानकारीको पहुँच सहज बनाएका छन् । च्याटबोट, डिजिटल असिस्टेन्ट र भाषा अनुवाद जस्ता कृत्रिम बुद्धिमताको सेवाहरूले ज्ञानको सञ्चारलाई द्रुत र प्रभावकारी बनाएका छन् । यस्तो सुलभ अवस्थामा नेपालका हरेक कुनाकन्दरामा पनि प्रविधिलाई सुलभ बनाउनुपर्ने दायित्व थपिएको छ भने हामी नेपाली युवाले प्रविधिलाई अंगाल्दै ज्ञानको क्षेत्र विस्तार र विकास गर्नु जरुरी देखिन्छ ।
सामाजिक, सांस्कृतिक परिवर्तन र प्रविधि
विज्ञान प्रविधिको प्रभावले नेपाली समाजमा पनि विभिन्न परिवर्तन ल्याएको छ । युवाहरूले सामाजिक सञ्जालको प्रयोग गरी सामाजिक मुद्दाहरूमा जागरण फैलाउने र जनचेतना जगाउने कार्य गरिरहेका छन् । प्रविधिको प्रयोगले उनीहरूलाई समाज सेवामा संलग्न गराएको छ र विभिन्न सामाजिक अभियानहरूमा सक्रिय बनाएको छ । दुबईमा गराइएको कृत्रिम वर्षाले मानिसहरुको परम्परागत सोचमा समेत व्यापक परिवर्तन आइरहेको छ । कतिपय ठाउँमा पानी नपर्दा भ्यागुताको विवाह गराउने र इन्द्रले पानी पार्ने हो भन्ने विश्वास खण्डित बनाइदिएको छ । अक्षेताको गेडा गनेर होइन भिडियो एक्सरे गरेर रोग पत्ता लाग्दोरहेछ भन्ने मान्यता गहिरो गरी स्थापित भएको छ । यसरी प्रविधिको विकासले समाजलाई पनि वैज्ञानिकीकरण गरिरहेको छ ।
निष्कर्ष
विज्ञान प्रविधिको तीव्र विकासले विश्वलाई एक नयाँ युगमा प्रवेश गराएको छ, जसले नेपाली युवा समुदायलाई पनि व्यापक रूपमा प्रभाव पारेको छ । सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता र सामाजिक जीवनमा भएका परिवर्तनहरूलाई समग्र रूपमा विश्लेषण गर्दा यो स्पष्ट हुन्छ कि विज्ञान प्रविधिले नेपाली युवाहरूको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको छ । यद्यपि यससँगै आएका चुनौतीहरूलाई पनि सम्बोधन गर्नु आवश्यक छ, जसले गर्दा विज्ञान प्रविधिको सकारात्मक प्रभावलाई अधिकतम बनाउन सकियोस् ।
विज्ञान प्रविधिको विकासले धेरै सकारात्मक प्रभावहरू पारेको छ । यसका केही चुनौती पनि थपिएका छन् । अनलाइन प्लेटफर्महरूको दुरुपयोग, साइबर सुरक्षा र डेटा गोपनीयताका समस्याहरूले युवा पुस्तालाई पनि प्रभाव पारेको छ । प्रविधिको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा पर्ने प्रभाव पनि अत्यन्त चिन्ताजनक छ ।
यसरी समग्रमा हेर्दा नेपाली युवा पुस्तालाई विज्ञान प्रविधिले ल्याएको परिवर्तन अंगाल्ने र नयाँ नयाँ प्रविधिको विकास र प्रयोगमा अब्बल बनाउनु आवश्यक भइसकेको छ । देशको अर्थतन्त्रको ठूलो हिस्सा प्रविधि क्षेत्रले ओगट्ने अवस्था सिर्जना भैरहेको छ । वैदेशिक मुद्रा आर्जनको माध्यम प्रविधिको क्षेत्र बनिरहेको छ । चालू आर्थिक वर्षको अध्ययन गर्ने हो भने पनि अर्थतन्त्रमा पर्यटन क्षेत्रले पुर्याएको योगदानको हाराहारीमा प्रविधिको क्षेत्र आइरहेको छ । मानिसले प्रविधि बनायो र प्रविधिले मानिसको ज्ञानको क्षेत्र विस्तार गर्यो । विकसित ज्ञानले फेरि नयाँ नयाँ प्रविधिको विकास गर्यो र त्यो नयाँ प्रविधिले ज्ञानको क्षेत्र थप फराकिलो बनायो । यो प्रक्रियामा नेपाली युवाहरु अब्बल हुँदैछन्, अझ अब्बल बनाउँदै लैजानु राज्यको दायित्व हो ।
(केसी राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष हुन् ।