जसपा नेपालको पदाधिकारी चयनमा सकस : चेम्जोङलाई सह-अध्यक्ष बनाउने प्रयास, राजकिशोर फायर – Nepal Press

जसपा नेपालको पदाधिकारी चयनमा सकस : चेम्जोङलाई सह-अध्यक्ष बनाउने प्रयास, राजकिशोर फायर

जनकपुरधाम । जसपा नेपालको महाधिवेशनबाट अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भए । अध्यक्ष बाहेक १९ पदाधिकारी ८१ नेताको उम्मेदवारी परेको हो ।

उम्मेदवार धेरै भएकाले सहमतिको सम्भावना न्यून छ । चुनाव गराउँदा केहि ठूला नेता नेतृत्वमा नपुग्ने देखिन्छ । सहमति गराउन पनि र चुनावमा जान पनि नसक्ने अवस्था बनेको नेताहरू बताउँछन् ।

जसपा नेता तथा मधेशका सांसद रामअशिष यादवले चुनावमा जाने सम्भावना बढेको बताए । उनले भने, ‘सहमतिको सम्भावना छैन । चुनावमै जानुपर्ने अवस्था छ । चुनावबाट नेतृत्वमा नपुगेका नेतालाई पनि व्यवस्थापन गर्न सकिन्छ ।’

सबभन्दा बढी समस्या सह-अध्यक्ष र महासचिवमा देखिएको छ । एक सह-अध्यक्षका लागि तीन उम्मेदवार छन्, राज किशोर यादव, लालबाबु राउत र रकम चेम्जोङ । चुनावमा जाँदा राज किशोर र लालबाबुबीच कडा प्रतिस्पर्धा हुने स्थिति छ । चेम्जोङ हार्न सक्छन् ।

स्रोतका अनुसार अध्यक्ष यादवले सह-अध्यक्षमा चेम्जोङलाई ल्याउन खोजेका छन् । उनले सबै नेता राखेर सहमतिको प्रयासमा लागेका हुन् । तर राज किशोर मान्न तयार छैनन् । उनी चुनाव गराउन अडान लिएका छन् ।

चेम्जोङ एमालेबाट अशोक राईसँगै जसपामा आएका थिए । धनकुटाका उनी ०६६ मा शान्ति तथा पुनर्निर्माण मन्त्री भएका थिए ।

अशोक राई पार्टी विभाजन गरेर जसपा गठन गर्दा पनि चेम्जोङ जसपा नेपाल छाडेनन् । त्यसैले उनलाई सह(अध्यक्ष बनाउनुपर्ने बाध्यता रहेको एक नेताले सुनाए ।

ती नेताले भने, ‘जसपा नेपाल मधेशी-पहाडी मात्रै होइन, सबै नेपालीको पार्टी हो । महाधिवेशनले यो सन्देश दिनुपर्छ । तर चुनाव भयो भने सबै मधेशी नेता मात्र नेतृत्वमा पुग्ने देखिन्छ । यो त ठीक होइन ।’ उनले सह(अध्यक्षसहित सबै पदमा सहमति जुटाएरै अगाडी बढ्दा राम्रो हुने पनि बताए ।

यस्तै दुई महासचिवका लागि छ जना बोम बहादुर दरलामी मगर (आदिवासी), रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनिष कुमार सुमन र अशोक कुमार यादवको उम्मेदवारी परेको छ । तर विजय, रामकुमार र मनिषबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

तीन उपमहासचिवका लागि १२ जना, ५ उपाध्यक्षका लागि २३ जना, एक कोषाध्यक्षका लागि ३ जना र ७ सचिवका लागि ३४ जना उम्मेदवारी दिएका छन् ।

महाधिवेशन केन्द्रीय निर्वाचन समितिले ९:३० बजेसम्मका लागि मनोनयन फिर्ता र मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म मतदानको तालिका निकालेको थियो । तर सहमतिको प्रयास चलिरहेकाले मतदानको समय अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

महाधिवेशन २८ गतेबाट सुरु भयो । १३ सय महाधिवेशन प्रतिनिधि सहभागी छन् । तीन दिनसम्म चल्ने भनिएको महाधिवेशन नेतृत्व चयनको सकसले लम्बिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर