गत वर्ष भन्दा दुई अर्ब कमको बजेट बनाउँदै प्रदेश सरकार – Nepal Press

गत वर्ष भन्दा दुई अर्ब कमको बजेट बनाउँदै प्रदेश सरकार

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट धमाधम निर्माण गरिरहेको छ । असार १ मा हुने बजेट भाषणको अन्तिम तयारी भइरहेको बागमती प्रदेशको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

आउँदो आर्थिक वर्षमा बागमतीको बजेटको आकार चालू आर्थिक वर्ष भन्दा करिब २ अर्बले कमी हुने मन्त्रालय श्रोतको भनाइ छ। यो वर्ष सरकारले ६० अर्ब हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।

सरकारले चालू आर्थिक वर्षमा ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको थियो । तर प्रदेश सरकारले प्रक्षेपण गरेअनुसारको राजश्व संकलन गर्न नसकेपछि यो पटक बजेटको आकार घट्न लागेको हो ।

राजश्व संकलनमा कमीको साथै संघ सरकारले दिने अनुदानमा कटौती भएपछि यो वर्ष आर्थिक मामिला मन्त्रालयले अन्य मन्त्रालयलाई ११ प्रतिशत कटौती गरेर बजेट निर्माणको लागि सिलिङ पठाएको छ ।

मन्त्रालयका प्रवक्ता लक्ष्मीकुमार रिमालका अनुसार चालू आर्थिक वर्षमा बागमती प्रदेश सरकारले राजश्व तथा करबाट २५ अर्ब १७ करोड रुपैयाँ र अन्य राजश्वबाट ५ अर्ब २६ करोड ९४ लाख रुपैयाँ संकलन हुने अपेक्षा राखेको थियो । तर अपेक्षित रकम नउठेपछि सरकारले आगामी आर्थिक वर्षमा बजेटको आकार घटाउने भएको हो ।

सन्तुलित बजेट निर्माणमा आफूहरूको ध्यान केन्द्रित भएको भन्दै बागमती प्रदेशका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले बजेटको आकार भन्दा पनि प्रभावकारी बजेट निर्माणमा सरकारको ध्यान गएको बताए ।

बजेटको अकार बढाउँदैमा ठूलो काम नहुने भन्दै मन्त्री थपलियाले आवश्यक र श्रोतले धान्न सकिने बजेट निर्माण हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *